आयोगमा आरजू र सुदनको अलमल

आयोगमा आरजू र सुदनको अलमल

भदौ २३ र २४ गतेको जेनजी घटनाको छानविन गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले हिजो दुई जनासँग बयान लिएको छ । 

आयोगले जेनजी अगुवा पुरुषोत्तम यादव र खेमराज साउदलाई हरिहरभवनस्थित कार्यालयमा बोलाएर बयान लिएको हो । भदौ २३ गते माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने शर्तमा जिल्ला प्रशासनबाट अनुमति लिएका उनीहरूसँग आयोगले दिउँसो छुट्टाछुट्टै सोधपुछ गरेको बताइएको छ ।  

कार्यालयको तेस्रो तल्लामा साउदले झण्डै साढे तीन घण्टा बयान दिएका थिए । जेनजी प्रदर्शनको पृष्ठभूमि र २३ गतेको घटनाबारे आयोगले चासो राखेको र आफूले यथार्थ जानकारी दिएको उनले बताए । 

‘सिडिओ कार्यालयबाट प्रदर्शनको अनुमति लिएकोदेखि माइतीघरमा भेला हुँदै गर्दासम्मका सबै घटना विस्तृतमा बताएको छु’, साउदले भने, ‘उहाँहरूले पनि २३ गतेको घटनामै केन्द्रित भएर प्रश्न गर्नुभयो ।’ 

यादवसँग पनि २३ गतेको प्रदर्शन र उनको भूमिकाबारे नै चासो राखेको बुझिएको छ । केही दिनअघि काठमाडौँ महानगरका मेयर बालेन्द्र साहलाई पनि आयोगले बयानमा बोलाएको थियो ।  

जेनजी आन्दोलनका दुई अगुवासँगको बयानअघि सुदन गुरुङ पनि आयोगको कार्यालयमा देखा परेका थिए । जेनजी नेता भनिने ३७ वर्षे उनी दिउँसो २ बजे आयोगको कार्यालयमा पुगेका थिए । तर, ५ मिनेटमात्र त्यहाँ बसेर बाहिरिएका उनले कोही कसैलाई नभेटेको बताइएको छ । 

यता, हिजै नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजू राणा पनि आयोगमा पुगेकी थिइन् । जेनजी आन्दोलनका बेला मन्त्री रहेकी उनी दिउँसो २ बजे त्यहाँ देखिए पनि के प्रयोजनको लागि गएकी हुन् भन्ने चैं खुलेको छैन् ।

जेनजी अगुवा भनिएका दुई जनाको हिजो बयान हुनु, अस्ति सुदन गुरुङ झुलुक्क देखा पर्नु अनि आरजू पनि त्यहिँ हुनु अनौठो संयोग बनेको छ ।

टिप्पणीहरू