ओलम्पिकको चुनावमा सहभागी खेल संघमाथि कारवाही
खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएका खेल संघ तथा महासंघलाई कमिटीबाट हटाउन निर्देशन दिएको छ ।
आज सार्वजनिक सूचना निकालेर राखेपले ओलम्पिकको साधारण सभा र निर्वाचन अवैधानिक ठहर गर्दै त्यसमा सहभागी राष्ट्रिय संघ तथा महासंघहरुलाई कमिटीको कुनै पनि बैठकलगायत काम कारबाहीमा सहभागी नगर्न भनेको हो । राखेपले शुरुबाटै सो प्रक्रियामा भाग लिएका राष्ट्रिय खेल संघलाई कारबाहीको चेतावनी दिँदै आएको थियो ।
अदालतबाट भएको अन्तरिम आदेश कार्यान्यनका लागि पटक-पटक दिइएको निर्देशन पालना नगरी मुद्दा विचाराधीन रहेको अवस्थामा आदेशविपरीत विद्युतीय माध्यममार्फत गरिएको निर्वाचनलाई कानूनसम्मत मान्न नसकिने राखेपको ठहर छ ।
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा तेहरिने तयारीका साथ जीवनराम श्रेष्ठले गत मंसिरमा विधान संशोधन गराएका थिए । संशोधित विधानको व्यवस्थाबमोजिम निर्वाचित उनको अध्यक्ष पदविरुद्ध अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले निर्वाचन रोक्न आदेश दिए पनि २० वटा राष्ट्रिय संघले चुनावमा भाग लिएका थिए ।
टिप्पणीहरू