प्रधानमन्त्रीद्वारा छात्रवृत्तिमा पर्याप्त आवेदन नपरेको जानकारी

प्रधानमन्त्रीद्वारा छात्रवृत्तिमा पर्याप्त आवेदन नपरेको जानकारी
सुन्नुहोस्

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी भएपछि अस्पताल भर्ना हुनुभएको छ । यही बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा एउटा स्टाटस लेख्नुभएको छ ।

मन्त्री भट्टराई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना हुनुभएको छ । ज्वरोले थलिएपछि उहाँ आज बिहान अस्पताल भर्ना हुनुभएको हो । नाक, कान र घाँटी विशेषज्ञ चिकित्कहरुले उहाँलाई क्याबिनमा राखेर उपचार गरिरहेका छन् ।

यता प्रधानमन्त्री ओलीले ‘जानकारीको लागि’ भन्दै दिउँसो १ बजेतिर फेसबुकमा एउटा स्टाटस लेख्नुभएको छ । त्यसमा शिक्षा मन्त्रालयले उपलब्ध गराउने छात्रवृत्तिबारे जानकारी गराइएको छ । ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण सिट अझै खाली रहेको सूचना पाएको छु’, उहाँले लेख्नुभएको छ, ‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटोभन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला ।’

शिक्षा मन्त्रालयको विषयबारे प्रधानमन्त्रीले निजी फेसबुक पेजमा लेखेपछि सामाजिक अभियन्ता केशव आचार्यको जिज्ञासा छ, ‘यस्ता सामान्य विषयवस्तुका जानकारी त सम्बन्धित मन्त्रालय वा व्यक्तिले दिए पनि हुन्छ, प्रधानमन्त्रीले नै जानकारी दिनुपर्ने के आइलाग्यो त्यस्तो ? ’

नारायण गाउँलेले भने सीमित रुपमा खुलाइने छात्रवृत्तिको सिटसमेत पूरा नहुनुको संकेत के हो ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ‘छात्रवृत्तिको सिट पनि भरिन छोड्यो भने त देशमा खतराको घण्टी बज्यो भनेर बुझ्नुपर्ने होइन र ?’, उनको प्रतिक्रिया छ, ‘विद्यार्थीहरु एअरपोर्टबाट विदेश उडिरहेका छन्, अनि कसरी भरिन्छ त सिट ?’

प्रधानमन्त्री ओलीका अनुसार एमबीबीएसमा एक जना, पोष्ट ग्रयाजुएट इन्जिनियरिङमा सात जना, एग्रीकल्चरमा तीन जना, पीएचडी इन्जिनियरिङमा एक जना, भेटेरिनरीमा एक जना, आइटीमा चार जना, मेडिकल साइन्समा दुई जना र कन्जरभेसनमा एक जनाको सिट अझै बाँकी छ ।
 


 

टिप्पणीहरू