एक लाखको चिया, इज्जत छियाछिया
मन्त्रीका आसेपासेले खाने,लेखाले भुक्तानी नदिने ! यस्तो हुँदा रमिता छ,रामशाह पथतिर । मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरुले गत माघ महिनामा मात्र चिया र खाजा शीर्षकमा एक लाखभन्दा बढी सकाए ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सचिवालयमा कार्यरत ८ कर्मचारीले खाएको चियाचमेना वापत गएको बील लेखाले भुक्तानी गर्न नसकिने अडान लिएपछि अहिले कर्मचारीबीच द्दन्द्ध शुरु भएको छ ।
यिनै कर्मचारीले सहसचिवको गाडी तानेर चढेकोदेखि सरुवामा व्यापक चलखेल गर्दै आएको गुनासो छ । मन्त्रीको निजी सचिव छन्,उपसचिव शालिकराम दाहाल र शाखा अधिकृत विश्वविन्धु रेग्मी । यसअघि गगन थापाको सचिवालयमा बसेका दाहालले नै हो सहसचिवको गाडी खोसेर आफैं चढ्न थालेको । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी सचिवमा स्वास्थ्य मन्त्रालयबाट विनोद कुँवरलाई लगेपछि उनले चढ्दै आएको अत्याधुनिक गाडी जनसंख्या सचिव ढुण्डी निरौलाले प्रयोग गर्दै आएका थिए तर निजी सचिवले सहसचिवको सोही गाडी चलाउन थालेका छन् । निरौलालाई पिक अप, थोत्रो गाडी हुँदै हैरान पारिएपछि यो बिषयमा भर्खरै सेवानिवृत्त सचिवहरु रोशन पोखरेलदेखि हरि मैनालीसम्मलाई दुखेसो पोख्न पुगे । स्रोतका अनुसार मन्त्रीको सचिवालयसँग तिनले पङ्गा लिन सकेनन् र निरिह ठहरिए ।
मन्त्रीको सचिवालयबाट चेपिएका निरौला पठाओ चढेर दैनिक गौरीघाट–रामशाह पथ आउजाऊ गरिरहेका छन् । उता विश्ववन्धु रेग्मी भने मन्त्रीलाई मावली नाता लगाउँदै स्वास्थ्यमा छिरेका हुन् । ०५५ सालदेखि जागिरे यात्रा शुरु गरेका उनी मकवानपुरको फर्पिङ गाउँपालिका (हाल थाहा नगरपालिका) मा कार्यरत थिए । पानी बढुवा हुँदै सुब्बा पदबाट शाखा अधिकृतमा उक्लिएका उनी स्वास्थ्य सेवा विभाग, टेकु हुँदै उद्योग विभागमा पुगे । बीचमा झण्डै झण्डै माओवादी बनेका उनले वैदेशिक रोजगार,स्वास्थ्य सेवा विभाग, उद्योग विभागजस्ता कमाउ अड्डामा बसेर स्वयम्भू नजिकै गज्जबको घर ठड्याएका छन् ।
उता देशकै ठूलो र पुरानो वीर अस्पतालमा कार्यरत नवराज धिताल र बैकुण्ठ लुईंटेलको चकचकीविरुद्ध अख्तियारदेखि सतर्कता केन्द्रसम्म उजुरी परेको छ । धिताल ५ बर्षदेखि स्टोर शाखामा छन् । सहकारीका नाममा रहेको ३५ लाख बढी अपचलनमा मुछिएका छन्,यी दुई भाइ । यस्तै लिफ्टम्यान बैकुण्ठ जनरल स्टोर प्रमुख हुन् । छत्रे देउराली धादिङका बैकुण्ठले मंगलोदय माध्यमिक विद्यालय थानकोटबाट २०४८ मा एस.एल.सी उत्तिर्ण गरे । काकाबा वीर अस्पतालमा कार्यालय सहयोगी थिए । सोही समय लुइँटेलले २०५४ असार २६ मा वीर अस्पताल विकास समितिका निर्देशक डा. माधव दाहाललाई लिफ्ट असिस्टेन्टमा म्यादी नियुक्ति पाऊँ भनी निवेदन (दर्ता नं ४५९५) का आधारमा ज्यालादारीबाट काम थालेका हुन् ।
धिताल र लुइँटेलले अस्पताल क्यान्टिन (गुजेश्वरी होटल), गार्ड (के फोर्स) र सरसफाइको टेण्डर स्वीकृत गराउँदा अनियमितता गरेको भन्दै अख्तियारदेखि सतर्कता केन्द्रसम्म गुहारिएको छ ।
टिप्पणीहरू