बुद्धले यस्तरी राज्यको ढुकुटी बिगार्दै

बुद्धले यस्तरी राज्यको ढुकुटी बिगार्दै
सुन्नुहोस्

केपी शर्मा ओलीको दोस्रो कार्यकालका तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अरुलाई पत्तो नै नदिई बुद्ध एअरका वीरेन्द्र बस्नेतलाई अरबौं पोसेको पाइएको छ । राज्यको कोष र जनताको गाँस खोसेर बुद्धका मालिकलाई पोस्ने सुविधालाई माओवादी नेता जनार्दन शर्माले पनि निरन्तरता दिएको र त्यो आजका मितिसम्म कायम रहेको आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले बताए ।

आर्थिक वर्ष ०७६ / ७७ को बजेट वक्तव्यमा खतिवडाले वीरेन्द्रको रोडम्यापअनुसार अनौठो ‘कर छुट’ घोषणा गरेका थिए । २०७७ साउनदेखि नेपालका विमान सेवाप्रदायक कम्पनीलाई हवाई इन्धन खरिद गर्दा पूर्वाधार विकास करबापत प्रतिलिटर १० रुपैयाँ छुट दिइएको हो । कोरोना महामारीका कारण घाटामा गएको वीरेन्द्रको गुनासोका आधारमा खतिवडाले उक्त सुविधा दिएका थिए । जुन कोभिड सकिएको वर्षौँ बित्दा पनि जारी छ ।

त्यसपछि विमान कम्पनीहरू नाफामा गए पनि एकचोटिलाई दिइएको खाइपाइ सुविधा भनेर हटाउने प्रयास कसैले गरेनन् । जबकि त्यसरी घाटामा गएका भनिएका बुद्ध र यतिबीच अहिले विमान किन्ने होडबाजी छ । नेपाल आयल निगमका अनुसार, आन्तरिक उडानका निम्ति भारतबाट ट्रकका ट्रक ओसारेर दैनिक सरदर साढे तीन लाख लिटर हवाई इन्धन बिक्री हुँदै आएको छ । त्यसमा बुद्धले ६० प्रतिशत, यतिले ३० र अन्य कम्पनीले १० प्रतिशत प्रयोग गरेको देखिन्छ ।

यो हिसाबले सरदर दैनिक ३५ लाख रुपैयाँ विमान सेवाप्रदायक कम्पनीले चोखै छुट पाएका छन् । त्यसको ६० प्रतिशत छुट्याउँदा बुद्धले दैनिक औसत २१ लाख, मासिक ६ करोड ३० लाख र वार्षिक ७५ करोड ६० लाख रुपैयाँ फोकटमा पाएको देखिन्छ । यस हिसाबले पछिल्लो पाँच वर्ष उसले कम्तीमा तीन अर्ब ७८ करोड रुपैयाँ सरकारी कोषबाट हात पारेको प्रष्ट हुन्छ । 

बुद्धसँग भएको एटिआर ७२ सिरिजको विमान नयाँ किन्दा हालको बजार मूल्य तीन अर्ब ६१ करोड नेपाली रुपैयाँ पर्न आउँछ । युवराज खतिवडा र जनार्दन शर्माले चोर बाटोबाट पोसेका कारण यसबीच बुद्धले एउटा एटिआर नयाँ विमान यही छुट सुविधाअन्तर्गत सित्तैमा हात पारेको सहजै हिसाब निकाल्न सकिन्छ । जबकि कोरोनाको कारण घाटामा गएको भनिएका बुद्ध एअरलगायत कम्पनीले सोही बेला चार्टर्ड उडानका नाममा चार गुणासम्म बढी भाडा लिएका थिए । उनै खतिवडा अहिले पनि प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार छन् ।

बुद्धले पछिल्लो समय एकै वर्ष तीन वटासम्म विमान खरिद गरेको पाइएको छ । तर, अरुको आँखामा छारो हाल्न ती खरिदमा उसले हिमालयन बैंकलगायतसँग कन्सोर्टियम कर्जा प्रयोग भएको कागजी हिसाब देखाएको छ । बुद्धले सामान्य अवस्थामा दैनिक एक सय ४० भन्दा बढी दुईतर्फी उडान भर्दै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी बताउँछन् । अहिले भारतको बनारसतिर पनि उड्न थालेकाले हवाई इन्धनको खपत ह्वात्तै बढेको छ । औसतमा बुद्धले मात्रै दिनमा दुई लाख १० हजार, यतिले एक लाख पाँच हजार र अन्यले ३५ हजार लिटर इन्धन खपत गर्छन् । 

खतिवडा र आफूबीच गोप्य साँठगाँठको समाचार बिग मिडिया हाउसमा प्रकाशन, प्रशारण हुनबाट रोक्न कान्तिपुरमा कार्यरत एक जना पत्रकारलाई वीरेन्द्रले प्रयोग गरेको आरोप छ । श्रीमती विनिता कर्णलाई म्यानेजर सरहको जागिर दिएपछि बुद्धको बदमासी ठूला भनिएका मिडियामा यसै रोकिएको अवस्था छ । त्यस्तै प्रकृतिको अर्को घटनाबारे बुद्धकै एक जना कर्मचारी भन्छन्, ‘एउटा अनलाइन न्युज पोर्टलमा ढुंगाना थरका प्रकाशकका दाइ हाम्रै कम्पनीमा काम गर्थे । पछि पोखरा स्टेसनतिर पदोन्नतिमा कुरा नमिलेपछि राजीनामा दिए । केही समय भाइको अनलाइनमा वीरेन्द्रको बदमासीका समाचार धेरै सिरिजमा आयो । एक दिनको गोप्य भेटपछि त्यस्ता समाचार ठ्याक्कै रोकिए।’

खतिवडाले आफ्नो प्रस्तावअनुसार कर छुट दिएपछि वीरेन्द्रले धन्यवाद दिएका थिए । त्यतिबेला बस्नेतको भनाइ थियो, ‘यो कर हट्दा अब नेपालमा सबै मध्यमवर्गीयको पहुँचमा हवाई सेवा पुग्ने निश्चित छ । अर्थमन्त्री र अर्थसचिव यसनिम्ति धन्यवादको पात्र हुनुहुन्छ।’

उता, प्रहरीबाट अवकाशपछि राजनीतिमा लागेका एसएसपी रमेश खरेलसँग वीरेन्द्रको सम्बन्ध पनि बिचित्रको रहेको बस्नेत निकटस्थहरू बताउँछन् । झण्डै डेढ दशकअघि खरेल हनुमानढोका प्रहरी कार्यालयमा पहिले डिएसपी र पछि एसपी थिए । वीरेन्द्रका भाइ शिवेन्द्रले शिवानी एअर (पाइलट ट्रेनिङ स्कूल) का विद्यार्थीहरूलाई ठगेको उजुरी पर्‍यो।

शिवेन्द्रलाई रातारात अमेरिका भगाइयो तर चेयरमेनको रुपमा रहेकी भारतीय महिला समातिइन् । त्यो खबरलाई ९९ प्रतिशत मूलधारका मिडियामा रोकाइयो । तर पुष्करलाल श्रेष्ठको नेपाल समाचारपत्रले मात्रै ठगी, गिरफ्तारी र अमेरिका पलायनको समाचार प्रकाशन गरेको थियो । एसपीको सदाशयताले बस्नेत परिवारको बेइज्जती रोकिएको भन्दै वीरेन्द्रले खरेललाई बाराबाट ०७९ मा चुनाव लड्दा राम्रै सहयोग गरेको स्रोतको दाबी छ ।
 

टिप्पणीहरू