बालिकालाई वेश्यावृतिमा लगाउने होटल साहु प्रहरी खोरमा

बालिकालाई वेश्यावृतिमा लगाउने होटल साहु प्रहरी खोरमा
सुन्नुहोस्

ग्राहकसँग पैसा लिएर बालिकालाई वेश्यावृतिमा लगाउने एक होटलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गोरखाको पालुङटार नगरपालिका-६ घर भइ हाल काठमाडौँको बालाजुमा पश्चेश्वर महाकाली गेष्ट हाउस सञ्चालन गर्दै आएका ४५ वर्षीय शम्भुलाल मल्ल समातिएका हुन् । उनीमाथि विभिन्न उमेर समूहका बालिकालाई हाेटलमा राखेर जबर्जस्ती वेश्याववृतिमा लगाउने गरेको आरोप छ । 

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई अस्ति सोमबार साँझ होटलबाट नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो । होटलबाट दुई बालिकाको उद्धार गरेर सुरक्षित आवासको लागि सेल्टरहोममा पठाइएको ब्युरोका एसपी नरेन्द्र कुवँरले जानकारी दिए । 

उनका अनुसार केही ग्राहकलाई पनि नियन्त्रणमा लिई सम्झाइबुझाइ गरेर छाडिएको थियो । मानव बेचबिखन तथा ओसारपोसारको कसुरमा मल्लविरुद्ध पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्युराले जनाएको छ ।

टिप्पणीहरू