सेनाका पाँच जना फेरि समातिए
पहिले निर्दोष ठहर, अहिले सोही मुद्दामा फेरि गिरफ्तार ! ज्यान मुद्दामा पक्राउ परेर यसअघि छाडिएका सैनिक कर्मचारी उही मुद्दामा पुनः प्रहरी हिरासतमा पुगेका छन् । भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत एक जना प्युठ अघिल्लो वर्षको पुस २ गते मृत फेला परेका थिए ।
ईन्द्रबक्स गणका ३३ वर्षीय अर्जुन पराजुली आफू सुत्ने लाइनको पछाडि बिहान मृत भेटिएको घटनामा महाविद्यालयकै पाँच जना पक्राउ परे । ती पर्वतका २५ वर्षीय सुमन बिक, ललितपुरका आशिष माझी, सर्लाहीका २६ वर्षीय ललन चौधरी, स्याङ्जाका ३४ वर्षीय रामु ढकाल र टंक श्रेष्ठ थिए ।
सुमनले सेनामा जागिर खाएको आठ वर्ष भयो । हवल्दार दर्जाका माझीको पेन्सन पाक्न ६ महिना मात्र बाँकी छ । टंक र रामु शान्ति सेनामा जान गत वर्ष छानिएका थिए । तर, उनीहरु पक्राउ परेपछि सो अवसर गुम्न पुगेको छ । अन्यले पनि लामो समय सेनामा बिताइसकेका छन् । ललन भने १५ महिनादेखि थुनामा छन् ।
पराजुलीको मृत्यु भएपछि सेनाले अनुसन्धान अगाडि बढायो । त्यहीँ कार्यरत महिला सैनिकसँग सोधपुछ शुरु भयो । एक महिला दर्जीले ‘ललनले मार्ने योजना बनाइरहेको थियो’ भनिदिइन् । लगत्तै ललन सैनिक प्रहरीको नियन्त्रणमा पुगे । राति अबेर सिसिटिभी क्यामेरामा देखिएपछि सेनाले सुमनलाई पनि समात्यो । अरु भने प्रहरी नआउँदै शव उठाएकाले फन्दामा परेका हुन् । सैनिक हिरासतमा उनीहरूलाई चरम यातना दिइयो । तिनको शरीरमा अझै पनि चोट छ । सुमनकी श्रीमती रबिना सुनारका अनुसार त्यतिबेला पक्राउ परे पनि घरमा जानकारी गराइएको थिएन । रबिनाले पटकपटक गणमा फोन गरेर श्रीमानबारे सोधिन् । तर, सधैँ तालिममा छ भन्ने जवाफ पाउँथिन् । ‘उहाँसँग कुरा भइरहन्थ्यो तर खबर आउन छोडेपछि पल्टनमा फोन गरेँ । स्पेशल तालिमका लागि जंगल गएका छन् भन्ने जवाफ आउँथ्यो । पछि त फोन नै उठाउन छाड्नुभयो । बल्लतल्ल दुई महिनापछि फागुनमा आउनुभयो । अनि मात्र हामीले घटनाबारे थाहा पायौं’, उनले भनिन् ।
अनुसन्धान गर्दा कतैबाट पनि दोषी नभेटिएपछि छोडियो । उनीहरूको औंठाछापलगायत केही पनि मिलेन । ललनविरुद्ध गणकै एक दर्जी महिलाले गम्भीर आरोप लगाएकाले उनी भने हिरासतमै रहे । चैत १ गते उनीहरूलाई पुनः नियन्त्रणमा लिइएको छ । मृतकको दाइले जाहेरी दिएको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेर ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । परिवारजनका अनुसार पहिले छुट्टाछुट्टै ठाउँमा राखिएको थियो । हाल सबै जना एकै ठाउँमा छन् । पक्राउ परेको जानकारी पाएपछि परिवार काठमाडौं आएको छ । श्रीमान्लाई नियोजित रुपमा फसाइएको रबिना बताउँछिन् । आफ्नो आर्थिक अवस्था नाजुक भएको उल्लेख गर्दै भनिन्, ‘उहाँलाई नियोजित रुपमा फसाइएको हो । राति हिँडेकै भरमा पक्राउ गर्न मिल्छ ? हाम्रो आर्थिक अवस्था कमजोर छ । उहाँलाई पक्राउ गरेपछि तलब रोक्का गरिएको छ ।’ परिवारका अनुसार प्रहरीले सिआइबीलाई छानबिन गर्न दिएको छैन । बयान पनि लिइएको छैन । एक जनाको परिवारले जनआस्थासँग गुनासो पोखे, ‘पक्राउ परेको तीन साता हुन लागिसक्यो, म्याद थपेर राखिरहेका छन् । न बयान लिन्छन्, न हामीलाई केही जानकारी दिन्छन् । किन पक्राउ गरेको ? भन्दा पनि केही बोल्दैनन् । हामीलाई भेट्न पनि दिइएको छैन ।’
स्रोतले बताएअनुसार घटना भएपछि उनीहरूले हाकिमको आदेशमा प्रहरी नबोलाइकन शव उठाएका थिए । त्यत्तिमै उनीहरूलाई फसाइएको परिवारजनको भनाइ छ । भन्छन्, ‘घटना भएपछि प्रहरीलाई बोलाउनुपथ्र्यो तर हाकिमले अह्राएपछि उठाएछन् । त्यसकै कारण फसे । त्यतिबेला उनीहरूलाई सेनाले हिरासतमा राखेर चरम यातना दिएको थियो ।’ हाल ती दर्जी महिलाले बयान फेर्दै आफूले खेलाँचीमा भनेको बताएकी छन् । तैपनि उनलाई कारबाहीको दायरामा नल्याइएकोमा परिवारले असन्तुष्टि जनाएको छ । यता, जिल्ला प्रहरी परिसर भक्तपुरले भने उनीहरूको गिरफ्तारीबारे कुनै जानकारी नभएको दाबी गरेको छ । त्यहाँका एक अधिकृतले भने, ‘यसबारे हामीलाई केही थाहा छैन ।’
सालीसँग लाग्दा लिंग काटियो, सेनाले थुन्यो
सालीसँग लागेपछि श्रीमतीद्वारा लिंग काटिएका एक सैनिक पक्राउ परेका छन् । यसअघि पनि पक्राउ परिसकेका उनलाई पुनः समातेर सेनाले अनुसन्धान शुरु गरेको बुझिएको छ । हाल सैनिक प्रहरीको हिरासतमा सात जना छन् । तिनैमध्येका उनी पनि हुन् । ती सैनिकविरुद्ध श्रीमतीले प्राड विवाकमा दुव्र्यवहारको उजुरी दिएकी थिइन् । स्रोत भन्छ, ‘उनी सालीसँग लागेको थाहा पाएपछि श्रीमतीले लिंग छिनालिदिएकी थिइन् । अहिले श्रीमतीमाथि कुटपिट गरे कि ! श्रीमतीले उजुरी दिएपछि केही दिनअघि उनलाई नियन्त्रणमा लिइएको छ । उनले जागिर खाए पनि तलब भने श्रीमतीको खातामा जान्थ्यो । सोही विषयमा विवाद भएको हुन सक्छ ।
सेनाको हतियार धमाधम लुटिँदै
एकातिर नयाँ हतियार किन्न नसक्नु, अर्कोतिर भएका हतियार पनि धमाधम बिग्रनु र लुटिनु । शान्ति मिसनका निम्ति विभिन्न मुलुकमा तैनाथ नेपाली सेनाको हतियार लुटिने क्रम जारी छ । सिरियामा हतियार लुटिएको विषय सेलाउन नपाउँदै मध्य अफ्रिकी गणतन्त्रबाट विद्रोही समूहले नेपाली सेनाको टुकडी र हतियार कब्जामा लिएको छ । घटना गत शुक्रबारको हो । अनिल थारु नेतृत्वको टिमलाई विद्रोही समूहले घेरा हालेर एमएमजीलगायत सात नाल बन्दुक खोस्यो । गोलीगठ्ठा सकाए पनि हतियार भने फिर्ता दिन संयुक्त राष्ट्रसंघले आग्रह गरिरहेको छ ।
बन्धक सैनिकहरु केही दिनमा मुक्त गरिएका छन् । उताबाट हतियार फिर्ता दिने आश्वासन पाए पनि फर्काइएको छैन । ‘अहिले त्यहाँ आतंकको माहौल छ । चार महिनाअगाडि सिरियामा पनि नेपाली फौजको बन्दुक लुटेर लगिएको थियो । विद्रोही फौज हायात तहरिर अल साम (एचटिटएस) ले २५ वर्षदेखि सिरियाको सत्ता चलाउँदै आएका रुसनिकट राष्ट्रपति बसर अल असदलाई हटाएर सत्ता लिने क्रममा नेपाली सेनाको ४२ थान हतियार क्याम्पबाटै उठाइएको हो ।
यता, मध्यअफ्रिकी गणतन्त्रमा हतियारसहित अपहृत नेपाली सेनालाई चरम यातना दिएर रिहा गरिएको छ । स्रोतका अनुसार सबैलाई मरणासन्न हुनेगरी कुटिएको छ । दुई महिनाअगाडि मिसन सकाएर कंगोबाटै फर्किने क्रममा १७७ जना नेपाली सैनिकको लगेज लुटिएको थियो । पछिल्लो समय शान्ति मिसनमा तैनाथ नेपाली सेनाको हतियार र सामान लुटिने र चोरी हुने क्रम बढेको छ । यसले गम्भीर प्रश्न उठेको छ–नेपाली सेना लापरवाह हुँदै गएको कि शान्ति मिसनमा बढेको चुनौतीअनुसार तयारी नभएको ?
सेनाले नयाँ हतियार खरिद नगरेको लामो समय भइसकेको छ । सञ्चालनमा रहेका हतियार पुराना र टुटफुट भएका छन् । यस्तो अवस्थामा भटाभट हतियार हराउन थालेपछि शान्ति सुरक्षा कसरी कायम गर्ने ? शान्ति मिसनमा खटिने अन्य डफ्फा के लिएर जाने ? शान्ति सेनामा गइसकेका एक सैनिकका अनुसार संयुक्त राष्ट्रसंघबाट मिसनमा तैनाथ जुनसुकै मुलुकको फौज भए पनि अनुमतिबेगर फायरिङ गर्न पाउँदैनन् । यही प्रावधानका कारण विद्रोहीले घेरा हालेर सहजै हतियार लुट्ने गरेको ती सैनिक बताउँछन् ।
‘विदेशीले नेपाली सेना बहादुर भन्छन् । तर, अहिले आफ्नो हतियारसमेत जोगाउन सकिरहेका छैनन्’, ती अधिकृतले भने । सैनिक प्रवक्ता गौरवकुमार केसीले मध्य अफ्रिकी गणतन्त्रमा लुटिएको हतियार अहिलेसम्म पनि फिर्ता नभएको जानकारी दिए । हतियार फिर्ताका लागि पहल भइरहेको उनको भनाइ छ । उनका अनुसार अफ्रिकन मुलुकमा युएन मिसन चुनौतीपूर्ण बन्दै गएको छ ।
जनआस्थासँग उनले भने, ‘त्यही घटनामा एक जना केन्याली मिलिटरी अब्जरभरको मृत्यु भएछ । साउथ सुडान, कंगोलगायतका मुलुकमा नेपाली टोलीलाई खतरा छ ।’ सिरियामा लुटिएको हतियार भने फिर्ता भइसकेको प्रवक्ता केसी बताउँछन् ।
टिप्पणीहरू