अकथितः दुर्व्यवहार,पश्चाताप र प्रेरणाको त्रिवेणी

अकथित,कथितका कुरा गर्दै आएका हामी धेरैलाई अकथित बुझ्न शब्द कोशकै साहारा लिनु पर्छ | यो सन्दर्भ हो- श्रीश भण्डारी कृत बाल उपन्यास ‘अकथित’को |
१) अकथितः (वि.)- १. नभनिएको । २. अनुक्त ।
३) कथितः (सं.) वि. - १) भनिएको, वर्णन गरिएको,वर्णित,उल्लिखित २.तोकिएको,भन्ने,उक्त ।
- बृहत्तर नेपाली शब्दकोश,चुडामणि गौतम
सामान्यतः बाल उपन्यासको वर्गिकरण कसरी गर्ने ? सिध्दान्त,शैली,विषय आदि कुन कुरा बाल उपन्यासका प्राथमिकतामा पर्छन् ? लेखक बाल-बालिका हुँदा वा विषय बालबालिकाको हुँदा बाल उपन्यास हुन्छ ? यी दुवै प्रश्नको उत्तर हो- अकथित । विषय बालबालिका केन्द्रित र बालबालिकाकै नायकी रहेको कारण अकथित बाल उपन्यासको कोटीमा गणना गर्न सकिन्छ । सिध्दान्तका कसीमा यसबारे छुट्टै चर्चा गर्नु पर्ने हुन्छ ।
लेखक श्रीश भण्डारीले कृतिको पृष्टभूमिमा परिवारको परम्परागत मान्यताका कारण आफूमाथि पारेको प्रभावका कारण पनि अकथितको विषयलाई कथेको उल्लेख गरेका छन् । कथा सरल छ, लेखकलाई आफ्ना हजुरबुबाले ब्रतबन्ध नगरेसम्म कपाल काट्ने अनुमती दिनु भएन । उनी लामो कपाल दुई चुल्ठी बाटेर विद्यालय जान्थे । त्यसरी केटाले लामो कपाल कोरिबाटी गरेर स्कूल जाँदा उनी साथी र शिक्षकहरूको 'जिस्काइ' उपहासको पात्र बने । यो अप्रत्यक्ष दुर्व्यवहार थियो । आफ्नो छोरालाई पनि हजुरबुबाले त्यसरी नै ब्रतबन्ध नगरेसम्म कपाल काट्न नहुने कुरा उठाउनु भएपछि लेखकलाई बाल्यकालको आफूमाथि भएको 'असहज व्यावहार'को सम्झना भयो । यो व्यवहार हिजो न लेखकले बुझ्ने कुरा भयो न परिवार-समाज वा शिक्षकले नै बुझे ! त्यो व्यवहार थियो, आजभोलि विद्यालयहरू वा अन्यत्र पनि बालाबालिकाहरूमाथि हुने वा हुनसक्ने 'बुलिङ्' अर्थात् दुर्व्यवहार । अकथित, नेपाली समाजको कुनै एउटा विद्यालयमा पचासौं वर्षदेखि कतिपय विद्यार्थीले भोग्दै आएको त्यही दुर्व्यवहारको कथा हो ।
सार्थक कक्षा ८ को एक सज्जन र जेहेन्दार विद्यार्थी हो । तर ऊमाथि साथीहरुको मात्र होइन शिक्षकहरूको समेत दुर्व्यवहारले सिमा नाघेको छ ।सज्जन र जेहेन्दार हुँदा हुँदै पनि सार्थकमाथि किन त्यसरी एकपछि अर्को दुर्व्यवहार हुन्छ ? बालाबालिकाहरूमा हुने दुर्व्यवहारका अनेक कारणहरू हुनसक्छन् । तर सार्थकमाथि भएको यो व्यावहारले शिक्षाको पवित्र मन्दिर वा शान्ति क्षेत्र मानिएको विद्यालय भित्रको अदृश्य पाटोको पटाक्षेप गरेको छ ।
रोजगारीका लागि सार्थकका बुबाले परदेश जानुभन्दा पहिले परिवारलाई सजिलो होला भनेर पढ्दै गरेको स्कूल परिवर्तन हुनेगरी श्रीमती,छोरा र छोरीलाई आफन्तहरूको नजिक बसोबासको व्यवस्था मिलाउँछन् । पन्ध्र भागको यस कृतिको नवौं भाग ( पेज ५३) मा यो रहस्योद्गाटन हुन्छ ।सार्थकमाथि हुने दुर्व्यवहारको पहिलो कारण त्यस विद्यालयमा ऊ नयाँ हुनु पनि हो । उस्को सज्जनता र इमान्दारिता पनि त्यसै स्कूलका रैथानेहरूका लागि चुनौति हुन्छ | विद्यालयका रैथाने र आफ्नो रवाफ देखाएर बोलबाला गरिरहेका सहपाठीहरू नै सार्थकको क्षमताभन्दा पछाडि पर्ने डरले उसमाथि सङ्गठित दुर्व्यवहार र अपमानित गरेर दुःख दिन थाल्छन् ।
अकथितको पहिलो भागमा दुर्व्यवहारको प्रारम्भिक दृष्टान्त दिइएको छ । कक्षा शिक्षक र क्याप्टेनले सामान्य विवेक नपुर्याउँदा सार्थकलाई दुःख दिने विराज,छेवाङ र जयवीरजस्ता बराला केटाहरू गल्ति सच्याउनु सट्टा दोर्याउन उत्साहित हुन्छन् । बद्मासी गर्नेहरूको पहिचान र सजाँय समयमा हुन सकेन | दोस्रो भागमा विद्यार्थीहरूको स्वभाव र चरित्रका बारेमा चर्चा छ । तेस्रोमा सार्थकको सज्जनताका बारेमा,उस्को घरदेखिको मेहनति स्वभाव र इमान्दारिताको प्रशंसाले उस्का बराला साथीहरूमा झनै इर्श्या बढाउँछ । भाग ४ केही सन्देशमूलक र उपदेशात्मक छ । कक्षा ८ का विद्यार्थीलाई मर्यादा पुरुषोतम श्रीरामको उदाहरण कति सान्दर्भिक होला वा तिनले कति बुझ्लान् ? यसमा सार्थकको सज्जनताको एउटा दृष्टान्त लेखकले थप्न सक्थे । सार्थकलाई दुःख दिन खोज्दा खेताला किसानहरूको डरले भागेका बराला केटाहरुमध्ये छेवाङको फुस्किएको जुत्ता सार्थकले टिपेर दिन सक्थ्यो ! किसानहरूले सार्थकलाई सम्जाउँदै भन्छन् ‘ तँ पनि धेरै सोझो नबन् है केटा । जङ्गलको रुख जुन सुरिलो छ त्यही काटिन्छ ।’ पेज ३३ | सुरिलो रुख जोगाउन खेतालाहरूले बराला केटाहरूको ज्यादतीको कुरा स्कूलमा पुर्याउन सकेनन् ।
भाग ५ पछि सार्थकमा साथीहरूको दुर्व्यवहारको असर देखा पर्न थाल्छ । भाग ६ मा सज्जनताका कारण पुरस्कृत हुनुपर्ने सार्थक आफूले गर्दै नगरेको गल्तीको सजाँय शिक्षकबाट पाउँछ । सार्थकप्रति साहानुभूति राख्ने क्लास क्याप्टेन विशाखा सत्य के हो थाहा पाएर पनि मुख खोल्न सक्तिन । सामाजिक सञ्जालको प्रयोग र दुरुपयोग तथा बराला केटाहरूको मनोबल बढेको घटनाहरू भाग ७ र ८ मा छन् । क्रमशः दण्डउन्मुक्ति,परपिडा र साहनुभुतिका सन्दर्भहरू देखिन्छन् । सार्थकप्रति साहनुभुति हुनेहरू उस्को पक्षमा बोल्न सक्दैनन् तर उनीहरू चाहान्छन् सार्थकले‘कम्तिमा आफूमाथिको अन्यायविरुध्द बोल्न सके हुने थियो ।’ पेज ५६ ।
‘दुःख र अनुभव जीवनका सबैभन्दा ठूला शिक्षक हुन् ।... मानिसले जिवनमा कहिल्यै हिम्मत हार्नु हुँदैन ।’ यस्ता प्रेरक उदाहरणहरूको चर्चा गरेपनि सार्थकले न सहपाठी साथीहरू,न गाउँलेहरू न शिक्षकको सहयोग प्राप्त गर्नसक्छ | सार्थक सडकका भुस्याहा कुकुरको साथमा मित्रता अनुभव गर्छ । ऊ परिवारमा बुबा,आमा र बहिनी सम्झेर स्कूल छोड्न र आत्माहत्या गर्ने बाटोबाट आफूलाई सम्हाल्छ ।
लेखकको कथन छ ‘कुकुरहरू नै पृथ्वीका यस्ता जीव हुन् जो आफ्नै ज्यान बरू जोखिममा पार्छन् तर वफादारीबाट पछि हट्दैनन् ।’ - पेज ६६ | सार्थकमाथिको भौतिक आक्रमणमा बराला केटाहरूलाई कुकुरहरूले तितरवितर र टोकेर रगतपच्छे पारिदिन्छन् । कुकुरहरूकै सहयोग र प्रेरणाबाट सार्थक आफूमाथि भएको अन्यायबिरुध्द मुख खोल्ने आँट गर्छ । सार्थकले सम्झियो ‘जीवन त्यहींबाट शुरू हुन्छ,जहाँबाट डरको अन्त्य हुन्छ ।’ यही प्रेरणाको परिणाम सार्थकले यथार्थ सबैका सामू मुख खोल्यो ‘ यस्तो अत्याचार ममाथि मात्र होइन,हाम्रै अरु केही साथी र तल्लो कक्षाका भाइबहिनीमाथि पनि भएको छ ।...मलाई मेरा मान्छे साथीभन्दा गल्लीका कुकुर-साथीहरू समझदार लागिरहेका छन् ।... मलाई विराज र उसका साथीहरू निर्दयी भएकोमा त्यती दुःख लागेको छैन जती दुःख मेरा आदरणीय गुरूहरू विवेकहीन हुनुभएकोमा लागेको छ ।’
अन्ततःसार्थककै उमेरका सबैजसओ विद्यार्थीले ती सब घटना आफैंमाथि भइरहेको जस्तो महसूस गरे । अन्तिम भाग १५ को स्वर्ण महोत्सव अर्थात् विद्यालयको ५० औं वार्षिकोत्सवका अवसरमा आयोजित निबन्ध प्रतियोगितमा सार्थक प्रथम भएको र राष्ट्रपतिका हातबाट पुरस्कृत भएको सन्दर्भ केही पहिले नै हुँदा पनि बढ्ता प्रेरक हुन्थ्यो वा नहुँदा पनि फरक पर्दैन थियो कि ?
उपन्यासले दुर्व्यवहार,परिणाम,पश्चाताप र सुखद सन्देश दिएर प्रेरणादायी निस्कर्षमा लगेर बिसाएको छ । यो सामान्यः प्राथमिक तह पार गर्दै गरेका र माध्यामिक तहमा पुग्दै गरेका विद्यार्थीहरूका लागि सन्दर्भ पुस्तककारुपमा शिक्षक र अभिभावकहरूले प्रयोग गर्न सके ५० औं वर्षदेखि विद्यालय भित्रका यस्ता अदृश्य घाउमा मलमपट्टी हुने थियो ।
अकथित पढ्दै गर्दा यो पङ्तिकारलाई बाल मनोविज्ञानका १-२ वटा अनुभव सम्झनामा आए – ठूली छोरी स्कूल जान थालेपछि हामी विभिन्न कारणले ३-४ ठाउँमा सर्यौं । उनको प्री स्कूल देखि नै मिडिल स्कूल पुग्दासम्म ३-४ वटा स्कूल फेर्नु पर्यो । तर जब उनी प्रश्न गर्न सक्ने भइन् भनिन् ' म पहिले हामी बसेको ठाउँभन्दा बाहिरको अस्पतालमा जन्मे । त्यहाँबाट पनि सानैमा सर्यौं । प्री स्कूल छोड्यौं । त्यसपछि पनि कति ठाउँ सर्यौं ? कतिपटक स्कूल बदल्यौं ? अब फेरि कहाँ जाने ? मेरो जन्मस्थान कहाँ हो ? मेरो बाल्यकाल कहाँ हुर्कियो ? मैले कहाँ जन्मे हुर्कें भन्ने ?' उनको प्रश्न जायज लाग्यो । हामी उनले बुझ्ने नभएसम्म अन्यत्र नजाने भयौं । ठूली छोरीले बुझ्न थालेपछि उनीसँग सल्लाहमा अर्को ठाउँमा जाने भयौं । सानी छोरीले दीदीकै जस्तो प्रश्न नगरेपनि अर्को प्रश्न गरिन् । उनले पढ्दै गरेको स्कूल,साथी र शिक्षकहरू,घर नजिकैको पार्क आदिको मायाका बारेमा मात्र कुरा गरिनन् । उनलाई त्यो ठाउँ छोड्न मनै थिएन । हामी बसेको घरको बरन्डामा आउने भंगेरालाई चारो र पानी दिने गर्थिन् सानी छोरी । हामीले त्यो घर छोडेपछि ती चरालाई कस्ले चारो पानी दिन्छ भनेर चिन्ता गरिन् । हामीले पहिले राख्ने गरेकोभन्दा अलिक धेरै चारो बरन्डामा राखिदियौं र सम्झायौं ‘यो चारो चरालाई अलिक लामोसमयसम्म पुग्छ ।’ ती चराहरू अलिक ठूला भएपछि हामी गएकै ठाउँमा आउँछन् ।’ नयाँ ठाउँमा सरेपछि पनि हामीले धेरै लामो समयसम्म उनलाई पहिले बसेको ठाउँको पार्क र साथीहरूसँग भेट्न लगिरहनु पर्यो ।
त्यस्तै हामीले बालाबालिकाहरूको रचना प्रकाशित गर्ने 'बाल सिर्जना' २ अङ्क प्रकाशित गरेका थियौं । त्यसमा एकजना बालकले लेखे – ‘हाम्रा अभिभावकहरू हाम्रा चाहनाहरूको बारेमा सोध्दैनन् । उनीहरू आफ्नो करियरको कुरा गर्छन् र बसेको ठाउँ छोड्छन् । कलेजको,जागिरको कुरा गर्छन् र बसेको ठाउँबाट सर्छन् । घर सस्तो महङ्गो भनेर ठाउँ सर्छन् । तर हामीलाई पनि त हाम्रा साथी,स्कूल र बसेको ठाउँको माया लाग्छ नि !’
सुन्दा सामान्य वा स्वाभाविक बाल सुलभ लाग्ने यी सबाल बालबालिकाहरूको लागि ठूला समस्या र अभिभावकहरूका लागि पाठ र गम्भीर चुनौती पनि हुन् । अकथित,को कथाले यसबारे सम्बन्धित सबैलाई सचेत गराएको छ ।
टिप्पणीहरू