प्रधानमन्त्रीलाई आफ्नै मन्जनले दाँत माझ्ने रहर

प्रधानमन्त्रीलाई आफ्नै मन्जनले दाँत माझ्ने रहर

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालमै बनेको मन्जनले दाँत माझ्ने रहर व्यक्त गर्नुभएको छ । 

दैनिक उपभोग्य वस्तु देशमै उत्पादन गर्नुपर्नेमा जोड दिँदै उहाँले मन्जनको सन्दर्भ निकाल्नुभएको हो । उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस्ता सामग्री उत्पादन गर्न व्यववासीहरुलाई आग्रह पनि गर्नुभयो ।   

व्यवसायीहरुले ठूला-ठूला सामानको उत्पादनमा मात्रै रुचि देखाउँदा स-साना सामान चाहिँ बाह्य देशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

‘बिहान उठ्नबित्तिकै हिमाल देख्न पाइयोस् भनेझैँ नेपालमै उत्पादन भएको कोलगेटले दाँत माझ्न मन छ’, प्रम ओलीले भन्नुभयो, ‘यहीँ उत्पादन भएको साबुन र स्याम्पुले नुहाउन मन छ, तर यी सबै बाहिरबाट ल्याउनुपर्ने बाध्यत छ ।’

प्रविधिअनुसारको उत्पादन विधि अपनाउन पनि उहाँले उद्योगीहरुलाई सल्लाह दिनुभयो । ‘म उद्योगीहरुलाई शुभकामना दिन चाहन्छु, तर शुभकामनाले मात्रै पुग्दैन, अब तपाईहरुले प्रविधि अनुसार, ग्लोबललाइजेशन हेरेर उत्पादन बढाउनुपर्छ’, ओलीले थप्नुभयो । 

त्यस्तै उहाँले ‘अब नेपालमा सटरभन्दा सुपरमार्केटको जमाना आएको’ पनि बताउनुभयो ।

टिप्पणीहरू