पालिकामा भ्रष्टाचार : अख्तियार मौन, महालेखा बेखबर

पालिकामा भ्रष्टाचार : अख्तियार मौन, महालेखा बेखबर

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा आठ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता भएको आरोप छ । आर्थिक वर्ष २०८०/८१ मा लेखा अधिकृत नारद खनालको एकल हस्ताक्षरमा उक्त रकम कुनै पनि प्रक्रिया पूरा नगरी भुक्तानी गरिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी हालिएको छ ।

महालेखा परीक्षकको टोलीलेसमेत उक्त अनियमितता नदेखेपछि स्थानीयले अचम्म मानेका हुन् । पालिकाको मूल्यांकन समितिको निर्णयमा समेत लेखा अधिकृतको मात्रै हस्ताक्षर रहेको, कुनै पनि तोकादेशमा प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर नभएको र दाखिलासम्बन्धी कुनै विवरण नहुँदा पनि रकम भुक्तानी गरिएपछि अनियमितताको ठहर गरिएको हो ।

पालिका स्रोतले उक्त रकम भुक्तानी भएपनि कुनै सामान खरिद नगरिएको दाबी गरेको छ । प्रक्रिया विपरित भुक्तानी गर्दा पनि महालेखा परीक्षकको कार्यालयले समेत यस विषयमा कुनै कैफियत नलेखेपछि कर्मचारीहरुले चर्चा गरेका हुन् । 

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंसिर ८ गते उजुरी परेको छ । स्थानीयले सार्वजनिक रकमको दुरुपयोग सम्बन्धमा निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित पालिका अध्यक्ष टेकबहादुर साउँद र लेखा अधिकृत खनाल पनि काँग्रेस निकटस्थ भएकाले धेरैले धेरैथरि आशंका गरेका हुन् ।

टिप्पणीहरू