राजनीतिमा सती प्रथाको शुभारम्भ

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालसालै आफू बिनाको एमाले हुन झण्डै दुई दशक कुर्नुपर्ने बताउनुभएको छ । यसको मतलब सीधा छ– आफू बाँचुञ्जेल अरुले आशा नगर्नू । त्यतिबेलासम्म अहिलेका नेताहरु पनि ८० वर्षको जन्मदिन मनाउँदै हुन्छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लाइनमा सकी–नसकी उभिरहनु भएकै छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ सालसम्म ज्यान गएपनि प्रधानमन्त्री नबन्ने कसम खानुभएको छ । उहाँले भन्न खोज्नुभएको त्यसपछि चाँहि ‘म नै हुँ’ भन्ने हो ।
यी तीन नेताहरुले अन्तिम अवस्थासम्म नेतृत्व नछाड्ने अड्कल काटेको प्रष्टै छ । अन्य पार्टीको अवस्था पनि त्यस्तै छ । मोहन विक्रमदेखि सिपी मैनाली र नारायणमान बिजुक्छेंदेखि महन्थ ठाकुरसम्म जता हेरेपनि पुरानै अनुहार मात्र देखिन्छ । अहिले कम उमेर देखिएका केही युवा नेताहरु बुढा भएपनि अध्यक्ष खाएरै छोड्ने दाउमा छन् ।
धेरैले त आफूले माउ पार्टीमा हालिमुहाली गर्न पाइएन् भनेर अध्यक्ष बन्न नयाँ पार्टी नै खोलेका छन् । त्यस्ता पार्टीमा नेतृत्व हस्तान्तरण गर्न चाहेपनि नेता पाउने अवस्था छैन् । पार्टीले अलिकति शक्ति प्राप्त गर्यो भने सुविधा कसले खाने भन्ने विषयमा विवाद हुन्छ । र, पुनः त्यो टुक्रिएर बनेको पार्टी पनि टुक्राटुक्रा हुन्छ ।
वर्तमान नेताहरुले अझै पनि ‘मै मात्र हुँ’ भन्ने मनोवृत्ति कायम राख्ने हो भने आगामी पुस्ताले नेतृत्वको अवसर पाउने होइन, पुराना नेताहरुको छायाँमा आफूलाई हराएर बस्नुपर्ने हुन्छ । यो न त लोकतन्त्रको मर्मअनुकूल हुन्छ, न देशको दीर्घकालीन भविष्यका लागि राम्रो संकेत हो ।
ठूला पार्टीहरुमा आफू पछिका नेताहरु शक्ति हत्याउन लाग्ने भएकोले बरु आफू बन्न नपाए पुरानै नेता ठीक भन्ने सोचले गर्दापनि यो अवस्था आएको हो । मुख्य नेतृत्वले आफू लामो समयसम्म टिकिराख्नका लागि पछिका नेता आउन नमिल्ने वातावरण बनाउनु स्वाभाविकै भइसकेको छ ।
नयाँ खुलेका पार्टीहरुको हविगत पनि त्यस्तै छ । नेपालको राजनीतिक इतिहासमा सत्ताको मोह, पदको लोभ र नेतृत्व हस्तान्तरण गर्न नसक्ने प्रवृत्ति वर्तमान समयको प्रमुख समस्या बनेको छ । नेतृत्वमा बस्नेहरुले आफ्ना पछि आउने सम्भावनाशील नेताहरुलाई टक्कर दिन नसक्ने अवस्थामा पारिदिन्छन् ।
जानाजान प्रतिस्पर्धा बढाउने र गुटबन्दीलाई प्रोत्साहन दिने काम हुन्छ । यस्तो रणनीतिले नेतृत्व लम्ब्याउन सहयोग त पुग्छ, तर पार्टीभित्र स्वास्थ्य लोकतान्त्रिक अभ्यास र भावी नेतृत्वको विकासमा गम्भीर असर पुग्छ । नेपाली राजनीतिमा नेतृत्व छाड्न नचाहने बरु पदमा मरिहत्ते गरी टाँसिएर बस्ने प्रवृत्तिले युवाहरु हतोत्साहित बनेका छन् ।
जसको परिणामस्वरूप, युवा नेताहरुको ऊर्जा र विचार व्यवहारमा आउने मौका नै पाउँदैन् । अर्को समस्या भनेको पार्टी फुट र सुविधाको लागि गरिएको नेतृत्वको मनोमानी हो । जब कुनै पार्टीले अलिकति सफलता प्राप्त गर्छ, तब त्यसको लाभ कसले लिने भन्ने विषयमा गुटबन्दी शुरू हुन्छ । जुन अन्ततः अर्को पार्टी जन्मको मुख्य कारक बन्छ ।
अब पुराना नेताले सक्दैनन्, हामी आउनुपर्छ भनेर नयाँ पार्टी खोल्नेको ताँती छ । तर, मूल नेतृत्वलाई कानुनी अडचन आएपछि वैकल्पिक नेता खोज्न छाडेर त्यो पार्टी पुरानैलाई बचाउन लागिपर्छ । जसका कारण त्यस्ता पार्टीले पनि आउन नपाईकन सर्वश्व गुमाउँदै छ । यस्ता घटनाहरुले नयाँ पुस्ताको नेतृत्व विकासको सम्भावनालाई बिथोल्ने मात्र हैन्, नेपाली राजनीतिमा नै अस्थिरता ल्याउँछ ।
नेतृत्व हस्तान्तरणको अभावले गर्दा देशको राजनीतिक प्रणालीमा नै गम्भीर प्रश्न उठ्ने गरेको छ । परिवर्तनको भावना बोकेका जनता जहिलेपनि त्यहीँ पुराना अनुहार देख्दा निराश हुन थालेका छन् । युवा पुस्ताले प्रतिनिधित्व गर्ने मौकाको खोजी गरिरहदाँ शीर्ष नेतृत्वमा बसेकाहरु त्यो खोजलाई रोक्न लागेका छन् । यदि यही स्थिति जारी रह्यो भने अहिलेका युवा नेताहरु वृद्ध भइसकेपछि पनि नेतृत्व अझै पुरानै अनुहारहरुमा सीमित हुनेछ ।
नेपालको सामाजिक संरचना परिवर्तन भइसकेको छ । युवापुस्ता शिक्षित छन्, प्रविधिमा सशक्त छन् । विश्वमा भइरहेको घटनाबारे सचेत छन् । यस्ता पुस्ताको सहभागिता नलिएर, देशलाई पुरानै सोच, शैली र रणनीतिबाट मात्र अगाडि बढाउन खोज्नु विकासको बाटो रोक्नु सरह हो ।
नेतृत्व पुस्तान्तरण हुन सक्यो भने नयाँ विचार, नवीन ऊर्जा र देशप्रति समर्पणको भावना लिएर आएका युवाहरु पनि समावेश हुन्छन् । उनीहरुले मुलुकलाई नयाँ गति दिन सक्छन् । पार्टीहरुले आफ्नो आन्तरिक संरचनामा लोकतान्त्रिक अभ्यास अप्नाउन जरुरी भइसकेको छ । पार्टीको विधानमा पुस्तान्तरणको स्पष्ट व्यवस्था गर्ने, नेतृत्वमा कार्यकालको सीमा तोक्ने, उमेरको हदबन्दी लगाउने निश्चित व्यवस्था गर्नुपर्छ ।
यी सुधार नआएसम्म नेपाली राजनीतिमा युवा नेतृत्वको उदय केबल भाषण र नारामा मात्र सीमित हुने खतरा रहन्छ । यसको मतलब पुराना नेताहरुलाई विस्थापित गरी हाल्नुपर्छ भन्ने होइन् । भूमिकामा परिवर्तन गरी सर्वमान्य नेता प्रवेश गर्न पाउनुपर्छ भन्ने हो । पुराना नेताहरुले नेतृत्व सँधैका लागि आफ्नो हातमा राख्न सक्नुलाई मात्र सफल भएको ठान्नु गलत हो ।
कुनैपनि सफल राजनीतिक नेता त्यो हो, जसले आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरी योग्य उत्तराधिकारीलाई मार्गप्रशस्त गर्न सक्छ । इतिहासले त्यहीँ नेताहरुको सम्झना गर्छ, जसले पुस्तान्तरणलाई सहज बनाएका छन् । नेपालमा पनि यस्तै नेतृत्वको आवश्यकता छ– जो आफैं पछि हट्न सक्ने साहस गर्छ र नयाँलाई अवसर दिन्छ ।
यदि वर्तमान नेताहरुले अझै पनि ‘मै मात्र हुँ’ भन्ने मनोवृत्ति कायम राख्ने हो भने आगामी पुस्ताले नेतृत्वको अवसर पाउने होइन्, पुराना नेताहरुको छायाँमा आफूलाई हराएर बस्नुपर्ने हुन्छ । यो न त लोकतन्त्रको मर्मअनुकूल हुन्छ, न देशको दीर्घकालीन भविष्यका लागि राम्रो संकेत हो ।
सवाल प्रमुख नेतृत्वको मात्र हैन् अन्य नेताहरु अनि उनीहरुका वरिपरि घुमिरहने कार्यकर्ताहरुको पनि हो । नेपालको समकालीन राजनीतिमा सति प्रथा देखिन थालेको छ । यो देशको लोकतान्त्रिक यात्राका लागि खतराको घण्टी हो । इतिहासले देखाएको छ कि जब समाजमा व्यक्ति पूजाले विचारलाई विस्थापित गर्छ, तब त्यो समाज पतनको दिशातिर अघि बढ्छ ।
आज हाम्रो राजनीतिक दलहरूभित्र यस्तै दृश्य दोहोरिरहेको छ , जहाँ नेताको आदेश नै अन्तिम सत्य मानिन्छ । उनले गरेका गल्तीहरूलाई समेत ‘रणनीति’ भनि व्याख्या गरिन्छ । अझ खतरनाक त के भने नेताको रक्षा गर्न कार्यकर्ताहरू आपसमा नै भिड्छन् । त्यसको गतिलो उदाहरण सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छन् । यो प्रवृत्तिले केबल नेताको शक्ति जोगाउँछ, जनताको आवाज दबाउँछ ।
नेताहरूलाई सबैभन्दा बढी चाहिने कुरा भनेको सच्चा आलोचक हो, जसले समयमै सुधारको संकेत दिन सक्छ । तर हाम्रो समाजमा यस्ता आलोचकहरूलाई दमन गरिन्छ, गाली गरिन्छ र पार्टीबाट नै निष्काशन गरिन्छ । राजनीतिक दलहरूभित्र विवेकशील आवाजहरू चुप लाग्न बाध्य छन् । किनभने साँचो कुरा बोल्दा पद र अवसर गुम्ने भय हुन्छ ।
यस्ता गतिविधिले दलहरूलाई विचार शून्य संस्था बनाउँदै लगेको छ । जहाँ नयाँ सोच, नयाँ पुस्ता र परिवर्तनकारी विचारहरूलाई स्थान हुँदैन्, त्यो संस्था समयअनुसार अगाडी बढ्न सक्दैन् । हामी यही ढाँचामा अघि बढ्यौ भने केही दशकमा नेपालको राजनीति केबल केही व्यक्तिहरूको वरिपरि मात्र सीमित हुनेछ ।
अरु त खालि आफ्नो स्वार्थ पुरा हुने आशामा नेताहरुको छत्रछाँया बसिरहने छन् । बेलाबखत केही हिम्मतिला नेता कार्यकर्ताहरु नदेखिने त हैनन् तर त्यसले त्यति तात्विक महत्व राखेको छैन् । तसर्थ, अब राजनीतिक दलको नेतृत्व गर्नेहरूसँग भन्दापनि तिनको अन्ध समर्थन गर्ने कार्यकर्ताहरूसँग प्रश्न गर्ने बेला आएको छ ।
‘के हामी नेताको लागि हो वा राष्ट्रको लागि ?’ यदि हामी साँच्चै राष्ट्रप्रेमी हौं भने हामीले गलतलाई गलत भन्न सिक्नुपर्छ, आलोचना गर्न डराउनुहुँदैन र सुधारको माग गर्नुपर्छ । नेताको आलोचना गर्न नहुने संस्कृति बसाउनुहुँदैन । कुनै नेता असफल वा गलत भएभने उनका भक्तहरु प्रश्न उठाउँदैन । उल्टै ढाकछोप गर्नतर्फ लाग्छन् ।
यो अवस्था रहिरहेमा हामी पनि नामेट हुन्छौं । बेलैमा चिन्तन मनन गर्न सकिएन भने हाम्रो पनि अस्तित्व मेटिनेछ । नेपालमा प्रतिबन्धित सति प्रथा राजनीतिक भेषमा हाम्रो सोचमा दासत्वको रुपमा प्रवेश गरेको छ । यसको अन्त्य गर्नु हाम्रो कर्तव्य हो । लोकतन्त्रको रक्षा नेताबाट होइन्, विवेकशील जनताको साथ र सहयोगबाट मात्र सम्भव छ । सार्वभौम नागरिक बनेर लोकतन्त्रलाई मलजल गर्नु अहिलेको आवश्यकता हो ।
टिप्पणीहरू