पेल्न पाउँदा कसले छाड्छ र नेपालमा

पेल्न पाउँदा कसले छाड्छ र नेपालमा

कांग्रेसका मन्त्राणीहरूको त आतंकै थियो अब यो रोग नेता पत्नीतिर पनि सरेको गुनासो सुनिन थालेको छ । यसरी सताइनेमा मुख्यसचिव एकनारायण अर्यालका नातेदारसम्म छन् ।

गत वर्ष असोज २३ गते अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन्, उपसचिव सीता परियार । उनी कांग्रेस सह महामन्त्री जीवनकी पत्नी हुन् । जागिरे जीवनमा पहिलो महिला दलित उपसचिव, सो समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी भएर रेकर्ड राखेकी उनले कहिल्यै नरम कार्यालयमा बसेर काम गर्नुपरेको छैन । शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेकी उनी यो अवधिमा भक्तपुरको सहायक सिडिओ, हुम्लाको प्रजिअ, जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, साँखुको इलाका प्रशासन हुँदै अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल पुगेकी हुन् । यसअघि विमानस्थलमा अध्यागमन प्रमुख थिए सुरेश पन्थी, उनको कोर टिममा थिए लीलावल्लभ न्यौपाने । न्यौपानेलाई हटाएर सीताले कर्मचारी प्रशासन सम्हाल्दै आएकी थिइन् । यो बीचमा पन्थी सरुवा भएर कसुरजन्य विभागमा पुगेका छन् जहाँका हाकिम हुन् तीर्थ भट्टराई । 

सीताले समान तहका (उपसचिव) लाई पेल्ने गरेको गुनासो पीडितहरूले मन्त्रालयदेखि डिजीसम्म पुर्‍याए तर राजनीतिक ‘ब्याक अप’का कारण कुनै कारबाही भएन । बरु त्यसरी गुनासो गर्ने ७ जना उपसचिव अवधि नपुग्दै सरुवामा परेका छन् । कोही ४ महिना त केही छ महिना नपुग्दै लखेटिएका हुन् । ४ महिना अगाडि मात्र पुगेका मुख्यसचिवका नातेदार सूर्य उपाध्यायका अलावा बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधवप्रसाद ढुंगाना, फणीन्द्र दाहालहरू यसरी फालिनेमा पर्दछन् । ल एण्ड अर्डर मेन्टेन गर्न खोज्ने र हालैमात्र उपसचिवमा उक्लिएका सत्यराज जोशीजस्ता कर्मचारी खेदाइमा पर्दा त्यहाँ सचिवका भिनाजुसहित ६ जनाले इन्ट्री पाएका छन् ।

अध्यागमन विभागका निर्देशक ईश्वरीदत्त पनेरु, कारागार व्यवस्थापन कार्यालय डिल्लीबजारका निर्देशक पूर्णबहादुर खत्री, जिल्ला प्रशासन कार्यालय झापाका सहायक सिडिओ सुरेश आचार्य, जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक सिडिओ फणीन्द्रप्रसाद पौडेल, अछामका अञ्जन न्यौपाने र गृहका खेमराज उपाध्यायले अब विमानस्थलको ड्युटी सम्हाल्ने छन् । पनेरु अर्थ सचिवका भिनाजु हुन् । सरुवाको सूचीमा सीताकोसमेत नाम भए पनि अरु रमाना लिएर हिँडिसक्दा उनी भने उल्टै ‘मलाई यहाँबाट कसले हटाउन सक्छ ? जबसम्म चाहन्छु, तबसम्म यहीँ बस्छु ।’ भन्ने गर्छिन् । सीताले कुर्सी नछोड्दा उनको स्थानमा सरुवा भएर गएका अञ्जन न्यौपाने जिम्मेवारीविहीन हुन पुगेका छन् । कार्यालय प्रमुख तीर्थराज भट्टराईले सीता परियारको स्थानमा उपसचिव अञ्जन न्यौपानेलाई जिम्मेवारी तोकेको श्रोतले जनाएकोछ । 

उता, सुरेश पन्थी हुँदा लयमा आएको अध्यागमन एयरपोर्टमा फेरि पुरानै अधिकृतहरूलाई लगिएको छ । यसअघि भैरहवामा खटाइएका पर्वते पाँच जना अधिकृत घुमिफेरी एयरपोर्ट पुगेका छन् । उसो त पछिल्लो समय कर्मचारी परिचालनमा गृह मन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी असफल भएको कर्मचारीहरू टिप्पणी गर्दछन्, फष्र्ट क्लास अफिसर दरबन्दी भएका आठ जिल्लामा अझै पनि उपसचिव सिडिओ छन् तर मन्त्रालयमा सहसचिवहरू नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, वासुदेव दाहाल, रामकृष्ण अधिकारी, अरुण पोखरेल, शंकरहरि आचार्यका अलावा प्रेम भट्टराई, बन्धु बाँस्तोला, बलराम रिजाल, सुरेन्द्र पौडेल, दीपक नेपाल र नारायणप्रसाद रिसालहरू घाम ताप्दैछन् । सहसचिव प्रेम भट्टराई र बन्धु बाँस्तोला तीन महिनाभन्दा लामो समयदेखि बरण्डामा छन् । बरण्डामा रहेका सहसचिवको बस्ने कुर्सीसमेत नपाउँदा बिजोग छ ।
 

टिप्पणीहरू