नरकटहरु जो एमालेको वैशाखीमा उभिए

ज्ञानेन्द्र शाहको निर्देशनमा भइरहेको गतिविधिभित्र आफ्नो बदनाम मुन्टो लुकाउन गठबन्धन सरकारलाई धेरै सजिलो हुन गएको छ । उनीहरूको अराजक गतिविधिभित्र यिनले आफ्नो असफलता लुकाउने ठाउँ प्राप्त गरेका छन्, सुतुरमुर्गले बालुवामा मुन्टो घुसारेजस्तै । अथवा तिनका अराजक गतिविधिलाई आफ्नो अनुहार छोप्ने बाक्लो बर्कोको रुपमा प्रयोग गरिरहेका छन् । तिनीहरूको अराजक गतिविधि र यो सरकारको नाकामीबीचको भिन्नतालाई हामीले छुट्याउन सक्नुपर्छ र दुबैलाई उसैमुताविक ट्रिट गर्नुपर्छ । देशमा आर्थिक सामाजिक संकट जति गहिरिएर जाँदैछ, राजनीतिक संकट त्यो तहसम्म पुगेकै छैन । अहिले समाजमा उठिरहेको विरोधका स्वर गणतन्त्रको विरोधमा नभएर भ्रष्ट नेतृत्वप्रति हो, तिनको गैरजिम्मेवारपूर्ण रवैयाप्रति हो । तर, सत्ताधारीवर्गले यसलाई गणतन्त्रको विरोधमा भनेर भ्रम फैलाउने काम गरिरहेको छ । र, एकप्रकारले जनतामा कुनै पनि प्रकारको असन्तुष्टि र आक्रोश नरहेको भन्नेजस्तो भ्रमपूर्ण भाष्य खडा गर्ने कोसिस गरिरहेको छ । जसलाई जनताको निशानाबाट छलिन रचिएको एउटा प्रपञ्च हो भन्दा हुन्छ । यसको निम्ति अराजक तत्वलाई हाउगुजी बनाएका छन् । यी दुवै कस्ता प्रवृत्ति हुन् भनेर हामी कोही पनि द्विविधामा रहनु हुँदैन । केही मान्छे यो समयमा सरकारप्रति आलोचनात्मकसमेत हुनु हुँदैन भनिरहेका छन् । यसो गर्दा गणतन्त्र पक्षधर थप कमजोर बन्न जान्छ भन्ने उनीहरूको तर्क गलत छ । गलत रवैयाको विरोध गरेर, आलोचना गरेर सरकारलाई ठीक ठाउँमा ल्याउन सक्दा सरकारकै समर्थनमा वृद्धि हुन जान्छ भन्ने कुरालाई बिर्सिनु हुँदैन ।
खासमा, ज्ञानेन्द्रवादीले देशको परिस्थितिलाई राम्रोसँग बुझेको देखिन्छ । यो सरकार र यसको कामप्रति जनतामा ठूलो असन्तुष्टि र निराशा रहेको कुरालाई यिनीहरूले राम्रोसँग ठम्याएका छन् । जनतामा ब्याप्त यो असन्तुष्टिलाई भजाउन सकेमा राजनीतिक शक्तिलाई बढाउन सकिने उनीहरूको बुझाइ छ । यही बुझाइको आधारमा नै उनीहरूले सडकमा आउन हिम्मत गरेका हुन् । सार्वजनिक खपतको लागि जेजस्तो अफवाह फैलाएको भएता तिनीहरूको पनि मूल मकसद भनेको जनताको भावनालाई भड्काउने, त्यसको आडमा अराजकता फैलाएर ध्यान आफूतिर तानी धेरैथोरै शक्ति आर्जन गर्ने हो । यति जाबो कुरा बुझ्न कुनै राजनीतिशास्त्री हुनु जरुरी छैन । सत्ता परिवर्तन गर्ने अथवा व्यवस्था नै फाल्न सक्ने तागत न उनीहरूको संगठनमा छ, त्यसको निम्ति न त्यसको नेतृत्व काबिल छ, न त जनता नै तिनका पक्षमा छन् । अन्तर्राष्ट्रिय समर्थन, देशको सेना, पुलिस र अदालतले तिनीहरूप्रति सहानुभूतिसमेत राख्दैनन्, समर्थन त परको कुरा । देशभरिबाट जम्मा पार्दासमेत तीनकुने चोक भरिने जनता उपस्थिति नहुनुले तिनको हैसियत छर्लंग भएको छ । नवराज सुवेदी, कमल थापा, रवीन्द्र मिश्र वा दुर्गा प्रसाईंसित डराउनुपर्ने जरुरत छैन । यिनीहरू एमालेको बैसाखीमा उभिएका नरकट हुन् । यसकारण यस्ता अराजक तत्वसँग डराउने नभएर यिनीहरूलाई कानुन व्यवस्था कडा पारेर गरेर ठीक ठाउँमा राख्ने हो । तर, यो कानुन व्यवस्था कडा पार्न यो सरकारले किन रुचि देखाइरहेको छैन ? यो गम्भीर प्रश्न हो ।
काठमाडौं अहिले वायु प्रदूषणको हिसाबले लगभग बस्न नसकिने अवस्थामा पुगेको छ । घरबाट ननिस्किने बूढाबूढीमा समेत श्वासप्रश्वासमा गम्भीर प्रकृतिका समस्या देखा पर्न शुरु भएको छ । तर, सरकारको निम्ति यो समस्या नै होइन जस्तो देखिन्छ । सकेसम्म बिहान घरबाट ननिस्किनु र सबैले मास्क लगाउनु भन्ने एकपेजे सूचना जारी गरेर सरकार सुत्न हिँडिसकेको छ । जनताको स्वास्थ्यमाथि यति ठूलो चुनौती आइलाग्दासमेत यसलाई कम गर्ने उपाय खोज्नतिर नलाग्नु धेरै दुःखलाग्दो कुरा हो ।
व्यवस्था नै फाल्न सक्ने तागत न उनीहरूको संगठनमा छ, त्यसको निम्ति न त्यसको नेतृत्व काबिल छ, न त जनता नै तिनका पक्षमा छन् । अन्तर्राष्ट्रिय समर्थन, देशको सेना, पुलिस र अदालतले तिनीहरूप्रति सहानुभूतिसमेत राख्दैनन्, समर्थन त परको कुरा ।
मध्यमवर्गमा पर्ने अभिभावक आफूले पढाइरहेको स्कूलबाट आफ्ना बालबच्चालाई निकालेर अर्को सस्तो स्कूलमा पढाउने स्थितिमा पुगेका छन् । किनभने उनीहरूको आम्दानीमा ह्रास आएको छ । देशभरिका हजारौं साना तथा मझौला उद्योग बन्द हुने प्रक्रियामा छन् । कति त बन्दै भइसके । यसपछि पनि धेरै मानिसले जागिर गुमाउनेछन् । सरकारलाई यस्ता कुराको चिन्तित बनाएको देखिन्न ।
आज देशको मुख्य समस्या भनेको सुशासन र रोजगारी हो, सरकार संरक्षित भ्रष्टाचार हो, अकासिँदो महँगाइ हो, वायुप्रदूषण हो, खनेर अलपत्र पारिएको राजमार्ग हो, जनताको गिर्दो आय हो । र, यिनै र यस्तै–यस्तै त हुन् । यी समस्याको समाधान दिने काम सरकारको हो । काठमाडौंको घरका सटरमा मात्रै नभएर देशका अन्य सहरका सटरमा समेत ‘टु–लेट’ टाँसेको देखिन्छ । फ्ल्याट भाडा छ भन्दै सम्पर्क नम्बरसमेत लेखेर बिजुलीका पोलपोलमा जताततै टाँसेको देखिन्छ । केही समयपहिले युएसएआइडीको कार्यक्रम रद्द भएको सूचनापछि भाडामा रहेका चार सय घर एकाएक खाली भएको खबर छापिएको थियो । यो सामान्य कुरा होइन, यस्तो विषयले आर्थिक–सामाजिक क्षेत्रमा पु¥याउने असरबारे कतै चर्चा सुनिन्न । अभाव नै विद्रोहको जननी हो भनेर बुझेको देखिन्न ।
एक जना महिला किसानले लौ खा, तेरो भाग्य भए त मान्छेका घरघरमा पुग्थिस्, तरकारी बनेर पाकेर खाइन्थिस्, तँ अभागी भन्दै आफूले उब्जाएको बन्दागोबीलाई अचानोमाथि राखेर हँसियाले काटिरहेको भिडियो सामाजिक सञ्जालमा घुमिरहेको छ । कुनै पनि किसिमको खेतीपाती गर्ने किसानको उत्पादनको लागत मात्रै पनि उठ्ने अवस्था छैन । ज्यालामा काम लगाएर काम गरे त घाटा नै लाग्छ । किनभने कृषिमा प्रयोग हुने सामग्री असाध्यै महँगा छन् । राम्रो बीउबिजन पाइन्न । मलखाद उस्तै महँगो छ । सिञ्चाइको सुविधा न बराबरको छ । यस्तो भएपछि जतिसुकै परिश्रम गरे पनि राम्रो उत्पादन हुन्न । त्यसमा पनि बजार बिचौलियाको कब्जामा छ । किसानले आफ्नो उब्जनीको उचित मूल्य पाउनै सक्दैनन् । सरकारले कालिमाटी तरकारी बजारको मूल्य तोक्छ तर उब्जनीको मूल्य तोक्दैन । बन्दाको मूल्य कति ?, आलु, गोलभेँडा, धनियाँ, सिमी, बोडी, भिण्डी, लौकाको मूल्य कति ? बिचौलियाकै भरोसामा छ । यस्तो आफैँ खेती गरेर खान पनि नपुग्ने भएपछि जनता खुशी हुने कुरा हुन्न । जनताको असन्तुष्टि र आक्रोश यिनै रवैयाप्रति हो, गणतन्त्रप्रति होइन । तर, यो असन्तुष्टिलाई गणतन्त्रको विरोध भयो, गणतन्त्रमाथि खतरा आइलाग्दै छ भन्ने हिसाबले प्रस्तुत गरेर सरकारले आफ्नो नाकामीलाई छोप्ने काम गरिरहेको छ ।
देशमा समृद्धिको सपना देखाउने को हो ? पुरा गर्नै नसकिने सपना किन देखाएको ? हाम्रा राजनीतिज्ञले जनतालाई केही पनि नबुझ्ने लम्पट नै ठान्ने गर्छन् । आफ्नै कार्यकर्तालाई झोलेभन्दा माथि नठान्नेहरूले जनतालाई यस्तो सोच्नु स्वाभाविकै हो । जनताले केही बुझ्दैनन् त्यसकारण जे भन्दिए पनि हुन्छ भन्ने सोचेर समृद्धिको गफ दिएबाटै कुरा बुझिन्छ । जनता राजनीतिज्ञहरूले सोचेजस्तो केही नजान्ने वा अबुझ छँदै छैनन् । बरु उनीहरूभन्दा दुई कदम अगाडि नै पो छन् । गिट्टी कुट्ने मजदुर, ढिकीजाँतो गर्ने गृहिणी, गाडीमा खलाँसी गर्ने मजदुर भाइ, साइकलमा हावा भर्ने मजदुर भाइदेखि घरको गारो लाउने मजदुरसम्मका हातहातमा एण्ड्रोइड फोन हुन्छ । सार्वजनिक बस चढ्ने लगभग सबैजना आफ्नो फोन हेरिरहेका देखिन्छन् । ती गिट्टी कुट्ने मजदुर चारभञ्ज्याङ नकाटेका हुन सक्छन् तर तिनीहरूले भारतमा, अरबमा, युरोप र अमेरिकामा घटिरहेको घटनाको जानकारी हातमा रहेको मोबाइल फोनमा हेरेर थाहा पाउँछन् । पढ्दै नपढेकी हजुरआमालाई आठौं क्लासमा अध्ययनरत नातिनीले भिडियो कल गराएर साउदीमा काम गरिरहेको आफ्नो दाजुसँग कुरा गराउँछिन् । अमेरिका, जापान र अष्ट्रेलिया गएकाहरूमध्ये धेरैले आफ्ना बाउआमालाई एकपटक ती देशमा पु¥याइसकेका छन् । त्यसकारण जनताले केही बुझ्दैनन् भन्ने गलतफहमीबाट मुक्त हुनु जरुरी छ । जनताले धेरै कुरा बुझेका छन् । चुच्चे रेल नआउने, पानीजहाजको टिकट पनि नकाटिने र प्याट्ट पारेर ग्यास चुलो नबालिने कुरा पनि जनताले बुझेका थिए । कागजको जहाज नबुझी बनाएको कहाँ हो र ?
आजका जनताको औसत आयु बढेको कुरा सही हो । देशमा पक्की पिचबाटो तुलनात्मक रुपले लामै बनेको कुरा पनि सत्य हो । स्कूल, कलेज र अस्पताल पनि धेरै खुलेका छन् । यसमा दुईमत छैन । तर विकास र समृद्धि भनेको यही मात्रै होइन । ज्ञानेन्द्रवादीलाई जवाफ दिन, उनीहरूको मुख थुन्न यी कुरा काम लाग्न सक्लान् । अस्पताल, स्कूल र बाटाघाटा जे–जति बने पनि आज पनि हामी संसारका असाध्यै गरिब देशको गरिब नागरिकको हैसियतमै छाैँ । धेरैलाई दुईछाक खान धौधौ छ । हाम्रो राष्ट्रिय आइक्यु संसारकै देशमा कमजोर छ भन्ने कुरा उल्लेख गरिरहनु नपर्ला । हाम्रो पासपोर्टको अपमान यत्तिकै गरेका होइनन् विदेशीले । यस्तो हुनुको जिम्मेवार को हो ? पञ्चायतलाई वा ज्ञानेन्द्रको ‘कु’ लाई दोष दिएर उम्कन मिल्दैन । यसको सम्पूर्ण जिम्मेवारी जनतालाई झुटो आश्वासन दिने, झुटो सपना देखाउने, भ्रष्टाचार, बेथिति र कुशासन चलाउने शासकवर्गले लिनुपर्छ ।
अन्त्यमा, देशमा संकट गहिरिँदो छ । मान्छेमा असन्तुष्टि चुलिँदै गइरहेको छ । अराजकता फैलाउनेहरूको निम्ति यो अनुकूल वातावरण हो । भ्रष्टाचार, बेथिति, कुशासनजस्ता कुरालाई अघि सारेर अहिलेको भन्दा पहिलेकै व्यवस्था ठीक थियो भनी जनतालाई भड्काउन सजिलो छ र भड्काउने प्रयास भइरहेको पनि छ । तीनकुने काण्ड त्यसकै एउटा कडी हो । बहुलाएको कुकुरलाई पानीमुनि गए पनि छाड्नुहुन्न भन्ने भनाइ छ रे चीनमा । गणतन्त्रवादी र खास गरी वामपन्थी मिलेर ‘हुँदा खानेहरूलाई आगामी दश वर्षभित्र हुनेखाने तहमा पुर्याउनेछौं’ भन्ने लक्ष्य राखेर ठोस नीति र कार्यक्रमसहित काम गर्ने हो भने जनताको असन्तुष्टि र निराशालाई सजिलोसँग र देशलाई विकासको बाटोमा हिँडाउन कठिन छैन । भाषण र नारा–जुलुसले समस्याको समाधान दिन सक्दैन ।
टिप्पणीहरू