यहाँ श्रीमतीदेखि सबै लगलग काम्छन्

साढे चार दशकभन्दा लामो समय नेपाली सिनेमाको द्वन्द्व निर्देशन क्षेत्रमा एकछत्र राज गरेका व्यक्ति हुन् राजेन्द्र खड्गी । ०४० मा ‘विश्वास’ चलचित्रबाट करिअर शुरु गरेका उनले पाँच सयभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन र अभिनय गरेका छन्, विश्वकै सबैभन्दा बढी चलचित्र द्वन्द्व निर्देशन गर्ने आफैं भएको दावी गर्दछन् । चरित्र नायकका रूपमा समेत परिचित खड्गी चित्त नबुझेको कुरा फ्याट्टै भनिहाल्छन् र विवादमा पर्ने गर्दछन् । ०४० सालसम्म हेटौंडामा क्योकुसिन कराँते सिकाउँदै आएका उनले यही बीचमा एक सयभन्दा बढी नेपाली चलचित्रमा खलनायकको भूमिका निर्वाह गरे । ०७४ सालमा मानवतस्करीको आरोपमा प्रहरी हिरासतमा पुग्दा पाँच लाख धरौटी बुझाएर निस्किए । कराँते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने ११ नेपालीलाई उतै पुर्याएर छोडेको आरोपमा थुनिएका उनी निस्किएपछि पाउलोनिया खेतीमा लागे तर व्यावसायिक रूपमा सफल हुन सकेनन् । अहिले पोखरामा आफ्ना गुरु योयामाको नाममा पार्क बनाउँदै छन् । यसअलावा राजेश हमालको लिड रोलमा सात जना खलनायकलाई समेटेर ‘सेभेन भिलेन’ नाक चलचित्र बनाउँदै छन् ।
– हरि गजुरेल
० तपाईंका गुरू (योयामा)को स्मरणमा डकुमेन्ट्री बनाउने योजनाझैँ पर्यटकीय नगरी पोखरामा पार्क बनाउने योजना पनि अलपत्रै प¥यो हैन त ?
– ०८२ सालबाट यो काम अगाडि बढ्दै छ । योयामा गुरुले कराँते स्थापना गर्नुभयो । १ सय ४० राष्ट्रमा उहाँँका विद्यार्थीहरू छन् । लङ्ग क्यान्सरका कारण बित्नुभयो । करोडौं खर्चेर कोरिया पुगी उहाँको सम्झनामा डकुमेन्ट्री बनाउनतिर लागें । त्यसैका निम्ति घर बेचेँ, जिन्दगीभरको कमाइ खर्च गरें । एक न एक दिन गुरुको डकुमेन्ट्री बनाउने सपना पूरा गरेरै छाड्छु ।
गुरु ७१ वर्षको उमेरमा बित्नुभयो । त्यही कारण ७१ फिटको सालिक बनाउन लागिएको हो । पहिला दहचोकमा बनाउन खोजेको थिएँ तर यहाँ रूख काट्न दिइएन । अहिले पोखरामा सरकारले दिने जग्गामा पार्क बनाउने योजना हो । यो पार्क बनाउन सक्दा १४० देशका पर्यटक भित्र्याउन सकिन्छ । उता चन्द्रनिगाहपुरमा मल्टिप्लेक्स हल खोल्दैछु । देशको माया नभएको भए ३० वर्षअगाडि नै अमेरिका गएर सेटल भइसक्थें ।
० दशकअगाडि हरेक नेपालीलाई करोडपति बनाउने भन्दै एक सन्तान, एक रूख अभियान चलाउनुभएको थियो । त्यो अहिले कहाँ पुग्यो ?
– साथीसँग मिलेर हेटौंडाबाट १७ किमी पर हाँडीखोलाको चार बिघा जग्गामा पाउलोनियाको रूख रोपेको थिएँ । एउटा रूखबाट १० वर्षमा १० लाखसम्म कमाइ गर्न सकिन्छ र सबै नेपालीले यो अभियान सुरु गर्ने हो भने कोही पनि गरिब हुँदैनन् भन्ने पवित्र ध्येय थियो । पाउलोनिया अमेरिका र चीनमा पाइने, हलक्क बढ्ने, सलक्क परेको रूख हो ।
हुर्कंदासम्म एउटा रूखबाट ४० देखि ७० क्यु फिटसम्म काठ निस्कन्छ, जसलाई बेचेर प्रतिरूख एकदेखि डेढ लाखसम्म आम्दानी गर्न सकिन्छ तर यो रूखलाई नेपालीले चिनेनन् । एक लाख पर्ने रूख अहिले ४५ हजारको दरले बेच्दैछु । त्यहाँ ३६ सय वटा रूख थिए, तीमध्ये २६ सय वटा बेच्न मिल्ने छन् । नेपाल कृषिप्रधान देश भन्छौं तर कृषकलाई यो रूखबारे थाहा छैन । नेपालीहरू त यसलाई ‘कु काठ’ भन्छन् । सात जनाको टिम मिलेर हुर्काएको हो । पारिवारिक टिम भएर मात्र बचेको छ ।
० मुलुकको राजनीतिक स्थितिलाई कसरी नियालिरहनुभएको छ ?
– देशमा चारैतिर ब्रह्मलुट छ । सरकारविरुद्ध नागरिक, शिक्षक, कर्मचारी, चिकित्सक, राजनीतिक दल सडकमा उत्रनुपर्ने स्थिति छ । शिक्षक भनेको भगवानको अर्काे रूप हो । संस्कृत उसै गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर भनिएको त होइन तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली न विद्यार्थी भए न त शिक्षक नै । प्रधानमन्त्रीलाई यस्ता कुराले न पोल्छ न दुख्छ । अहिले युवाको हातहातमा सर्टिफिकेट छ तर दुर्भाग्य, डिग्रीको प्रमाणपत्र सिरानीमा राखेर सुत्नुपर्ने स्थिति कसले बनाएको हो ? भएको उद्योग धन्दा कलकारखाना कसले बेचे ? मेरो दुईवटा छोरीले मास्र्टर्स डिग्री सकाएको सात वर्ष भइसक्यो ।
जेठीले टप टेनमा डिग्री गरिन् तर काम पाइनन् र जापान गइन् । कान्छी घरमै छिन्, बेरोजगार । सबैभन्दा धेरै भ्रष्ट ब्युरोक्रेसीमा छ । तलब ३५ हजार थाप्छ, बच्चालाई पढाउँछ सबैभन्दा महँगो बोर्डिङमा, श्रीमतीको पार्लर खर्च पनि उठ्दैन तलबले । त्यही कारण कर्मचारी बाध्यताले भ्रष्टाचार गरिरहेको छ । घर त धान्नुपर्यो । भन्नलाई पो पुरुषप्रधान देश, नारीले चलाइरहेको छ देश । श्रीमतीसँग सबै लगलग छन् । श्रीमतीकै इशारामा त नाच्नैपर्यो ।
० शीर्षस्थ राजनीतिक नेतृत्वलाई कसरी हेर्नुहुन्छ ?
– मुलुक नै मारवाडीको हातमा छ । हिजो खाली हात आएका तिनलाई आज यो स्थितिमा पुर्याएको यहाँका धुरन्धर राजनीतिज्ञहरूले होइन ? भारतीय दूतावासमा तलब थाप्न जाने नेताहरूबाट धेरै ठूलो अपेक्षा नै के राख्नु ? अहिलेका खर्बपति नेता प्रचण्ड दाइ पहिले सामान्य शिक्षक थिए । केपी ओली उही हावाहुण्डरी, शेरबहादुर देउवा कसरी हुर्किए र खर्बपति भए ? यो मुलुकप्रति राजा न नेता कसैलाई माया नै छैन भन्ने देखिसकिएको छ ।
जनताले बचाउन नसके प्रान्त हुन्छ । नेपाल स्वीजरल्याण्डभन्दा १० औं गुणा सुन्दर छ । प्रकृतिले हरेक कुरा दिएको छ । चीनले त्यसै नेपाललाई नेपाल सुनमा सुतेको देश भनेको छैन । म त भन्छु नेपाल सुनमा सुतेको मूर्खहरूको देश हो । हामीले मूर्ख नेताहरूलाई नेतृत्वमा पुर्यायौं, पटक–पटक । तर तिनले जनतामाथि गद्दारी गरे । गद्दारी गर्नेको पतन हिजो राणा र ज्ञानेन्द्र शाहको झैं हुन्छ, ढिलोचाँडो ।
० स्वतन्त्र भनेर उदाएका बालेन साह, रवि लामिछानेहरूको गतिविधिचाहिँ कस्तो लाग्छ ?
– बालेन, रविहरू महाभारतका अभिमन्यु हुन । अभिमन्यूलाई त्यत्रो त्यत्रो योद्धाहरूको चक्रव्यूहमा हालेर मारे जसरी चक्रव्यूहमा पारिँदैछ रविलाई । बालेनमाथि पनि उस्तै प्रतिशोध साँधिदैछ । स्वतन्त्र रूपमा मैदानमा आएर निर्वाचन जितेका मेयर बालेन र गोपी हमालभन्दा कयौं गुणा राम्रो काम मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले गरिरहेकी छन् । अन्य जनप्रतिनिधिको तुलनामा रेणु दाहालहरूले राम्रो गरिरहेका छन् । उनीहरूले जनतासँग ट्याक्स लिन्छन् तर प्रभु साहकी पत्नी मेयर रहेको मौलापुरमा सबै प्रकारको स्वास्थ्य, शिक्षा, पानी, बत्ती बिजुलीमा ट्याक्स फ्रि गरिएको छ । मेयर भनेको त्यस्तो हुनुपर्छ ।
० दुर्गा प्रसाइँबारे के भन्नुहुन्छ ?
– त्यो मान्छेसँग १२ वर्षअगाडि केही थिएन । यति छिट्टै कहाँबाट र कसरी खर्बपति भयो ? बैंकको पैसा तिर्न पर्दैन भनेर त्यसको पछाडि लागेका छन् मान्छेहरू । म उसलाई मान्छे गन्दिन । फेरि पूर्व राजा ज्ञानेन्द्रले राजा फर्काउने अभियानको कमाण्डर त्यस्ता फटाहालाई बनाएका छन् । त्यस्ताले नेतृत्व गरेको राजाको आन्दोलनमा कति आए मान्छे ? आधाआधी पैसा दिएर ल्याइएकोे । कांग्रेस, एमाले, माओवादी मिले भने दश लाख मान्छे उतार्छन् ।
उनीहरूले जनताको रगत चुसेको पैसा फालेरै हो सडकमा मान्छे उतार्ने । आफ्नो घरको सुरक्षा गर्न नसक्ने राजाले हाम्रो सुरक्षा र उन्नति गर्दछन् भनेर पत्याउने हामी पनि उस्तै मूर्ख हौं । राजासँग ९ टन सुन छ । राजाको कि त काशीको बास, नभए वनबास हुन्छ, त्यसै भनेको होइन । हिजो कमल थापा, तुल्सी गिरीलाई विश्वास गर्दा दरबार छाडेर जङ्गल पुगे अहिले पिण्ड खाने उमेरका नवराज सुवेदी र बदनाम कहलिएका दुर्गा प्रसाईजस्तालाई कमाण्डर बनाएर आफूलाई सिंहासनमा फर्काइने आशा गर्दैछन् ।
० सेभेन भिलेन चलचित्र निर्माण कहाँ पुगेर अड्कियो ?
– एउटा नयाँ प्रयोग गर्न खोजेको छु । सात जना भिलेन र एक जना हिरोलाई राखेर चलचित्र निर्माण गरौं । जहाँ नायकका रूपमा राजेश हमाललाई लिइएको छ । अहिलेसम्म डकुमेन्ट्रीदेखि सिनेमाका नाममा ६ करोड डुबिसक्यो भने अब थप एक करोड डुब्दा के नै फरक पर्ला र ? चलचित्रमा भिलेनका रूपमा तिनै शासक, प्रशासकलाई देख्न पाइन्छ भने राजेश हमालको महेन्द्र सरकारको जस्तो रोल हुनेछ । यो चलचित्र सेन्सरबाट रोकियो भन्यो कसैलाई छोड्दिन ।
० झण्डै पाँच सय चलचित्रमा द्वन्द्व निर्देशन गर्दा नायक र नायिकाको नशा नशा छाम्नुभएको छ । को छन् तपाईंका नजरमा अब्बल नायक र नायिका ?
– हिरोहरू देवदूत र नायिकाहरू अप्सरा (परी) हुन् । भिलेनहरू सबै रावण हुन् । निर्देशक भनेको चित्रगुप्त हो । निर्माता भनेको यमराजै हो । हामीलाई माया गर्ने दर्शक एउटै परिवार हुन् । म त उनीहरूको कसी लगाउने मान्छे हुँ । सबै राम्रा, सबै अब्बल छन् ।
० नेपाली सिनेमाको भविष्य कस्तो देख्नुहुन्छ ?
– मैले ३८ वर्ष यो क्षेत्रमा काम गर्दा बल्लतल्ल काठमाडौंको चार आना जग्गामा एक तले घर बनाएँ । त्यतिखेर राजेश हमालले डेढ लाख पारिश्रमिक लिँदा मेरो हातमा कम्तीमा एक लाखसम्म पर्दथ्यो । हिरोइनहरू २५/३० हजारमा काम गर्थें । मैले थाहा पाएसम्म पछि सबैभन्दा धेरै करिश्माले एक लाखसम्म लिएको थाहा छ । रेखा थापाले आफ्नै होम प्रोडक्सनमा काम गरिन् । रात दिन सुटिङ्गमा हुन्थें । मैले १५ वर्षसम्म आफ्ना बच्चाहरू कसरी हुर्किए, त्यो देख्न पाइन । कतिखेर हस्पिटलको बेडमा पुगिन्थ्यो, पत्तो हुँदैन थियो । आज पनि खुट्टामा स्टिल छ । आठ वटा किला छ । यसरी किला बोकेर हिँडेको १४ वर्ष भइसक्यो । एकातिर नाकबाट सास फेर्न मिल्दैन । दाहिने पाता खुस्किएको छ । सम्पन्न परिवारको सन्तान भएका कारण बाँचेको हुँ र यसरी हिँड्न, बोल्न सकेको हुँ नत्र त भिख माग्नुपथ्र्यो होला ।
० समाजलाई अपाच्य हुने गरी सेक्सका विषयमा अलि बढी नै बोलें भन्ने लाग्दैन ?
– के हामी खरानी धसेर निस्किएका वा पैदा भएका हौं र ? बुवा आमाको संसर्गबाट नै निस्किएका होइनौं ? हाम्रो संसर्गबाट छोराछोरीहरू जन्मिएका छन् । यही नै श्रृष्टि हो । तर बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड । पशुपतिको टुँडालमा गएर हेरौं– कति वटा सेक्स स्टाइल छन् ? लिङ्गेश्वर महादेव भनेको के हो ? कामदेवता किन भनिएको हो ? अलि अगाडि जन्मिएका हुँदा रजनिशले यसकै व्याख्या गरेका होइनन् ? यही व्याख्या गर्दा उनी आलोचित भए । ज्योति मगरको आलोचना गर्ने र लुकीलुकी तिनकै तिघ्रा हेर्ने समाज हो यो ।
० सात वर्षअघि तपाईंमाथि मानवतस्करीको आरोप लाग्यो । प्रहरीको हिरासतमा पनि पुग्नुभयो । कसरी स्मरण गर्नुहुन्छ ती दिनलाई ?
– मैले मान्छे बेचेको होइन । मान्छे बेचेर खानुपर्ने पारिवारिक पृष्ठभूमि पनि होइन । मसँग जाने सबै फिल्मी क्षेत्रमै काम गर्ने केटाहरू थिए । मैले मागेको १३ दिनको भिसा, उनीहरूले ९० दिनको दिए । ठीकै छ, म हिरासतमा बसें । पछि कसुर पुष्टि भएन र छुटें । मैले जेल भोगें, कुनै अफसोच छैन । मेरो कारण केही नेपाली दाजुभाइको जीवन बन्यो । त्यसमै खुसी छु ।
टिप्पणीहरू