घाइते क्रिकेट खेलाडीलाई बल्ल दिल्ली जान लाग्यो पैसा

नेपाल क्रिकेट संघ (क्यान) ले भारतमा लामो समयदेखि उपचाररत राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । २०८० जेठ १५ देखि २६ गतेसम्म जनकपुरमा भएको महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगितामा घाइते भएका उनलाई औषधी–उपचारका लागि पाँच लाख रुपैयाँ दिन लागिएको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगबारे जानकारी गराएका छन् । ‘महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिता दौरान जुन २ मा कोशी प्रदेश र गण्डकी प्रदेशबीच भएको खेलमा कोशी प्रदेश टीमबाट सहभागी राष्ट्रिय खेलाडी सिद्धान्त लोहनी घाइते भई हालसम्म उपचाररत रहेको जानकारी प्राप्त हुन आएको हुँदा निज खेलाडीलाई औषधी उपचारको लागि यस संघबाट थप रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराउने...’,विज्ञप्तिमा उल्लेख छ ।
खेलको दौरान लिगामेण्ट च्यातिएका सिद्धान्तको ६ पटक शल्यक्रिया भइसकेको छ । भारतमा उपचारका क्रममा २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सिद्धान्त बताउँछन् । उपचारमा क्यानले बेवास्ता गरेपछि गत वैशाख ३ गते जनआस्थाले ‘यी खेलाडीलाई भारतमै रुवाइराख्ने ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
टिप्पणीहरू