आयो नेपाल चिनाउने अर्को अवसर

आयो नेपाल चिनाउने अर्को अवसर पहिले–पहिले विदेशबाट घुम्न आएका विशेषतः गोरा मानिसलाई टुरिष्ट (पर्यटक) भनेर चिनिन्थ्यो । उनीहरुको गतिविधिलाई पर्यटन र सम्बन्धित व्यवसायलाई पर्यटन व्यवसाय भन्न थालियो । पर्यटनलाई पनि आन्तरिक र बाह्य रुपमा वर्गीकरण मात्र गरिएन, विषयगत विभाजन गर्दै पर्या–पर्यटन, धार्मिक पर्यटन, शैक्षिक पर्यटन, स्वास्थ्य पर्यटन, खेल पर्यटन, साहसिक पर्यटन हुँदै अब नेपालमा ‘आरोग्य पर्यटन’ भन्न थालिँदैछ ।
नेपालमा सञ्चालित विभिन्न पर्यटकीय आयामहरुमा ध्यान र योगलाई समेत जोडेर आरोग्य पर्यटनको ब्राण्डिङ गरौं भनिँदैछ । यसरी पर्यटकको संख्या बढ्ने र उनीहरुको बसाइँ अवधि लम्बिने दाबीसमेत गरिएको छ । नेपाल सरकारकै पूर्वमुख्यसचिवको तर्फबाट ‘आरोग्य पर्यटन :नेपालको समृद्धिको आधार’ भन्ने अवधारणापत्र ल्याइएको छ । त्यसको लोकर्पणसमेत माननीयको हातबाट गरियो ।
भरतपुरमा जीवन विज्ञान प्रतिष्ठानको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायतबाट यसको विमोचन गराइएको हो ।
‘नेपाल पर्यटनको आकर्षक गन्तव्य हो भन्छौैं हामी । पर्यटनको मूल तत्व के हो त ? चक्र विज्ञानमा हुन्छ । हामीले हाम्रो पर्यटनको ब्राण्डिड्ड गर्नुपर्यो’, अवधारणापत्र प्रस्तुत गर्दै जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रका संयोजकसमेत रहेका डा. बैकुण्ठ अर्यालले भने ।
सन् २०२२ मा विश्वको आरोग्यको अर्थतन्त्र ५.६ ट्रिलियन अमेरिकी डलर बराबर पुगेको थियो, जुन सन् २०१४ मा ३.४ ट्रिलियन अमेरिकी डलरको मात्र थियो । यसरी आठ वर्षको अवधिमा आरोग्य अर्थतन्त्रको आकार ६४ प्रतिशतले बढेको देखिन्छ ।’
‘मानिसले सधैं तीन वटा कुराको लालसा राख्दछ– भौतिक सुख, शारीरिक स्वस्थता र खुशी । यी तीनवटै कुराको परिमार्जित सम्मीश्रण हो आरोग्य । भौतिक सुविधा पनि होस्, स्वास्थ्य पनि सुदृढ होस् र खुशी मिलोस् – हर पर्यटकले खोज्ने यत्ति नै हो । नेपालमा यी तीनै कुरा छन् । तिनको प्रवद्र्धन गर्नुपर्दछ र पर्यटकलाई दिनुपर्दछ’, उनी भन्छन्, ‘हामीकहाँ भौगोलिक विविधता, सांस्कृतिक, प्राकृतिक, धार्मिक, जातीय, भाषिक आदि जति पनि विविधता छन् ती सबैलाई एकताको सूत्रमा बाँधेर आरोग्य पर्यटनतिर लैजान सक्छौं ।’
अहिले संसारमा आरोग्य उद्योग निकै फस्टाएको उल्लेख गर्दै पूर्व मुख्यसचिव अवधारणामा लेख्छन्, ‘शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरु, विभिन्न प्रकारका सौन्दर्य प्रशाधन, अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षाहरु सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिसहरु खर्बौं डलर खर्च गर्न तत्पर छन् । तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द अनि शरीर र मस्तिष्कको स्वस्थता र आनन्द पर्दछ, जुन इन्द्रीयको प्रयोगका साथै योग र ध्यानबाट मात्र प्राप्त हुन्छ ।’
त्यसमा यो पनि बताइएको छ कि – नेपाल ध्यानको उद्गम विन्दु हो, योगको आविष्कार पनि हाम्रै वरिपरि भएको हो । वैदिककालमै हाम्रा ऋषिमुनिहरुले योग र ध्यानको आविष्कार गरेका थिए । योग, ध्यान, हाम्रो प्रकृति, संस्कृति, व्यवहार, उत्पादन, जडीबुटी लगायतका पैदावार र जैविक विविधता सबै आरोग्य प्राप्तिका लागि सहायक तत्व हुन् । जसलाई एउटै शृङ्खलामा आबद्ध गरी आरोग्य पर्यटनको विकास र प्रवर्धन गर्न सकिन्छ ।
‘प्राकृतिक सौन्दर्य,जैविक विविधताको सामिप्य र भौगोलिक विविधताले दिने शारीरिक तथा इन्द्रीय सुख नेपालमा सजिलै पाइन्छ । यसमा योग र ध्यान जोड्न सकिएमा व्यक्तिले अन्तरहृदयको सुख प्राप्त गर्दछ’,उक्त अवधारणापत्रमा भनिएको छ ।
विश्वमा आरोग्य अर्थतन्त्रको आकार वर्षेनी बढ्दो क्रममा रहेको तथ्यांकसमेत उल्लेख गर्दै लेखिएको छ ‘ग्लोबल वेलनेस इन्स्टिच्युटले प्रकाशन गरेको ‘द वेलनेस इकोनोमी:कन्ट्री र्याङ्किड्डस्’का अनुसार सन् २०२२ मा विश्वको आरोग्यको अर्थतन्त्र ५.६ ट्रिलियन अमेरिकी डलर बराबर पुगेको थियो, जुन सन् २०१४ मा ३.४ ट्रिलियन अमेरिकी डलरको मात्र थियो । यसरी आठ वर्षको अवधिमा आरोग्य अर्थतन्त्रको आकार ६४ प्रतिशतले बढेको देखिन्छ ।’
प्रकृति,भूगोल र जैविक विविधता, साहसिक पर्यटन,धर्म,धार्मिक आस्था र सहिष्णुता,संस्कृति र सांस्कृतिक सम्पदा,सामाजिक जनजीवन र रहनसहन,खाद्यान्न,खाद्यशैली,पानी र वन पैदावार,शिक्षा,स्वास्थ्य र खेलकुद, वैदिक खोज–अनुसन्धान एवम् ध्यान र योगलाई आरोग्य पर्यटनको परिभाषाभित्र समेट्दै नेपालको समृद्धिका लागि यो रुपान्तरणकारी पहल हुन सक्ने बताइएको छ ।
‘आर्थिक विकासको मुख्य कार्यसूची नै आरोग्य पर्यटन बनाउन सकिन्छ । हामीले यसको ब्राण्डिङ,प्रवर्धन र पर्याप्त प्रचारप्रसार गर्न सक्यौं र सोहीअनुसारको सेवा प्रदान गर्न सक्यौं भने नेपाल आरोग्य पर्यटनको विश्वव्यापी हब बन्न सक्दछ’,डा. बैकुण्ठ अर्यालले भनेका छन्, ‘प्राकृतिक पर्यटनमा रहेका पर्वतारोहरण,पदयात्रा,जलयात्रा, प्राकृतिक सौन्दर्यको रसास्वादन,जैविक विविधताको अनुभवलाई योग र ध्यानसँग जोड्न सकिन्छ । पर्वतारोहण वा पदयात्राको प्याकेजमा योग र ध्यानसमेत समावेश गर्न सकिएमा व्यक्तिले श्रमसँगै विश्रामका साथै अन्तरमनको आनन्द प्राप्त गर्न सक्दछ, जसले उसलाई आरोगी बन्न सहयोग पुर्याउँदछ ।’
यसैगरी,साहसिक पर्यटनको प्याकेजमा योग ध्यानका साथै प्राकृतिक र परम्परागत उपचारका क्रियाकलाप समावेश गर्न सकिने पनि उल्लेख छ । धार्मिक तथा सांस्कृतिक पर्यटनले इन्द्रीय सुख त दिन्छ नै यसमा ध्यान, योग र प्राकृतिक तथा परम्परागत उपचार पद्धति जोड्न सकिएमा मानिसलाई ध्यानयोगी बनाउन सहयोग गर्दछ र साँच्चिकैको आनन्द प्राप्त गर्न सक्षम बनाउँछ भनिएको छ ।
नेपालको खाद्यान्न, खाद्यशैली र स्वच्छ पानीको महत्व बुझाउँदै पर्यटकको उपभोगका लागि प्रस्तुत गर्न सकिने विचार जोड्दै प्रस्तोता भन्छन्, ‘खानामा पर्यटकका आ–आफ्ना रुचि र छनौट त हुन्छन् नै । तर प्रत्येक मेनुमा नेपालको रैथाने र परम्परागत खानालाई समेत राख्न सकिन्छ, जसले नेपालको उत्पादन वृद्धिमा सहयोग पुर्याउनुका साथै पौष्टिकताले भरिपूर्ण खाद्यपदार्थको उपभोगबाट पर्यटकसमेत लाभान्वित हुन्छ ।’
शिक्षा वा स्वास्थ्य आर्जन गर्न आउने जोकोहीलाई योग र ध्यान समेत सिकाउन सकिने चर्चा गर्दै भनिएको छ, ‘कोभिडपछि ध्यान र योग गर्ने व्यक्तिहरुको संख्यामा भएको उल्लेख्य वृद्धिले यसप्रतिको आकर्षण बढेको प्रमाणित हुन्छ । यसैगरी परम्परागत र प्राकृतिक उपचार पद्धतिको ब्राण्डिड्ड गर्दै आफ्नै जडीबुटीबाट निर्मित औषधि एवम् आयुर्वेदको प्रवद्र्धन गर्न सकिन्छ । आधुनिक औषधिको अवाञ्छित प्रभावबाट बच्न खोज्ने जोकोहीलाई यसले मद्दत गर्दछ । त्यसैगरी खेलकुदबाट थकित शरीरलाई ध्यान र योगले थप उर्जा दिन्छ र अर्काे खेलका लागि थप स्फूर्तिका साथ मैदानमा ओर्लिन सहयोग पुर्याउँदछ ।’
हाम्रा शरीरमा भएका चक्रहरु पर्यटनका विविध प्रकारसँग सम्बन्धित हुने समेत बताइएको छ । भनिन्छ, ‘मूलाधार चक्र स्वास्थ्य र शरीर शुद्धी पर्यटन, पदयात्रा, पर्वतारोहण र खेल पर्यटनसँग सम्बन्धित हुन्छ । स्वादिष्टान् चक्र मनोरञ्जन पर्यटन, भोजन पर्यटन र प्राकृतिक पर्यटनसँग सम्बन्धित हुन्छ । मणिपुर चक्र स्वास्थ्य पर्यटन, आयुर्वेद पर्यटन र साहसिक पर्यटनसँग सम्बन्धित हुन्छ । अनाहत चक्र धार्मिक पर्यटन, योग पर्यटन र सांस्कृतिक पर्यटनसँग सम्बन्धित हुन्छ । विशुद्धी चक्र शिक्षा तथा साहित्यिक पर्यटन र संगीत पर्यटनसँग सम्बन्धित हुन्छ । आज्ञा र सहस्रार चक्र शान्ति पर्यटन, आध्यात्मिक पर्यटन र ध्यानयोग पर्यटनसँग सम्बन्धित हुन्छन् ।’
नेपाल सरकारले नयाँ पर्यटन नीति ल्याउने तयारी गरेको र यस दशकलाई नेपाल भ्रमण दशक (२०२५–२०३४) को रुपमा मनाउने गरी कार्ययोजना समेत तयारी भइरहेको भन्दै यी पहलहरुमा आरोग्यलाई केन्द्रमा राखी नेपाललाई आरोग्य पर्यटनको आकर्षक गन्तव्य बनाउन र यसैका माध्यमबाट समृद्धि हासिल गर्न यो अवधारणाले सहयोग गर्ने बताइएको छ । यसका लागि तीनै तहका सरकार र पर्यटन व्यवसायी लगायत निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा समेत चर्चा छ ।
आरोग्य पर्यटनको प्रवद्र्धनका लागि भरतपुर महानगरपालिकाको तर्फबाट उत्साहित हुँदै संकल्प प्रतिबद्धतासमेत जनाइएको छ । उपप्रमुख चित्रसेन अधिकारीले भने, ‘अब भौतिक पूर्वाधारको विकासमात्र होइन, योग र ध्यान गर्ने विषयलाई पनि महत्वका साथ लैजान्छौं । आरोग्य पर्यटनको व्यवस्थापन गर्ने कुरामा हामी लागिपर्छौं ।’
‘सिंगो देशको समृद्धिको आधार हामी सबैलाई जानकारी छ– पर्यटन नै हो । नेपालको समृद्धिको आधार कृषि र पर्यटन हो । यसमा पनि अझ अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा पर्यटनलाई नै अगाडि बढाउनुपर्छ भन्ने हो’, मेयर रेनु दाहालले भनिन्, ‘भरतपुर महानगरपालिका देशको मध्यभागमा छ, यसको प्रचुर सम्भावना छ । वेलनेस इन्डष्ट्रीको रुपमा विकास गर्न हामी सबैले ठाउँ छनौट गरौं । हामी भरतपुर महानगरपालिका यसमा गम्भीर छौं, स्थानीय सरकारले के गर्नुपर्छ हामी गर्न तयार छौं । भरतपुर महानगरपालिकालाई एउटा वेलनेस सिटी अथवा अरोग्य केन्द्रको रुपमा अगाडि बढ्न हामी एकदम इच्छुक छौं, त्यसका लागि हामी तयार छौं । स्थानीय सरकारले गर्नुपर्ने कुरामा हामी हाम्रो ठाउँबाट गर्नेछौं ।’
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, ‘पोखरालाई नेपालको पर्यटनको राजधानी भनेर घोषणा गर्यौँ । अब यसमा नयाँ आइडिया आएको छ । आरोग्य पर्यटनलाई पनि हामीले साथसाथै लैजान, यसलाई अघि बढाउन म कमिटमेन्ट पनि गर्दछु ।’
पोखरामा तीन हजारदेखि पाँच हजार जनासम्म एकै ठाउँमा बसेर योग ध्यान गर्ने हल निर्माण गर्न भनी आफू विगत डेढ वर्षदेखि भौंतारिइरहँदा पनि जमिन प्राप्त गर्न नसकेको मुख्यमन्त्री बताउँछन् । यो जीवन विज्ञानको माध्यमबाट योग र ध्यानलाई कसरी जोड्न सकिन्छ र गाउँसम्म कसरी पुर्याउन सकिन्छ, यसका लागि सरकारको तर्फबाट हामीले के सहयोग गर्न सकिन्छ, वातावरण के बनाउन सकिन्छ ? त्यसमा हामी लाग्नुपर्छ भनेर गत वर्षदेखि हाम्रो गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट योजनामा पनि हामीले राखेका छौं । यसलाई हामी कन्टिन्यु पनि गर्छौं’ उनले भने ।
टिप्पणीहरू