सत्ता पक्षबाटै सरकारको चर्को विरोध

शिक्षक आन्दोलनमा सरकारले दमन गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । आजको प्रतिनिधि सभा बैठकका बोल्ने सत्ता र प्रतिपक्ष दलका सांसदहरुले शिक्षकका माग सम्बोधन गरी उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण पनि गराए ।
नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले आमाको मुख हेर्ने दिन गुरुहरुमाथि लाठीचार्ज गरेर सरकारले अपमान गरेको टिप्पणी गरिन् । ‘संविधानमै लेखिएको छ, अनिवार्य नि:शुल्क शिक्षा । हामी नीति बनाउनकै लागि यहाँ (संसद) आएका हैनौँ र ?’, उनले खेद प्रकट गर्दै भनिन्, ‘आमाको मुख हेर्ने दिन नै सरकारले गुरुबा र गुरुआमाहरुलाई कुटेर सजाय दियो, म यसको घोर भत्र्सना गर्छु ।’
सोही पार्टीका अर्का सांसद दिलेन्द्रप्रसाद बडुले पनि सरकार विवेकहीन बन्दै गएको बताए । शिक्षकहरुको माग सम्बोधन गरेर चाँडो घर फर्काउने बतावरण बनाउनुको सट्टा बल प्रयोग गरेर दबाउन खोजेको उनको भनाई छ ।
बडुले भने, ‘शैक्षिक वातावरण अस्तव्यस्त बन्दै गएको छ, तर सरकार झन् विवेकहीन र अमार्यादित बन्दै शिक्षकमाथि बल प्रयोग गरेर उनीहरुलाई दबाउन लागेको देखिन्छ, यसमा सरकारले गम्भीर भएर आत्मसमीक्षा गरोस् ।’
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले शिक्षक आन्दोलनप्रति सरकार गैरजिम्मेवार बनेको बताइन् । सरकारले लाखौँ विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरिरहेको उनको तर्क छ ।
‘शिक्षकहरु आन्दोलनमा आएको एक महिना हुन लागिसक्यो, उनीहरुलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको साटो पानी हान्ने र लाठ्ठी हान्ने काम गरिदैँछ’, सांसद राईले भनिन्, ‘के यो देशमा सरकार छ ? छ भने के सरकारले लाखौँ विद्यार्थीको भविष्यसँग खेल खेलिरहेको हो ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डिपी अर्यालले सरकारले गर्नुपर्ने काम धेरै बाँकी रहेको, तर एउटा काम पनि ढंगले गर्न नसकिरहेको बताए । ‘बर्खा याम नजिकिदैं छ, विपद् व्यवस्थापनको लागि पूर्व तयारीहरुमा केन्द्रीत हुनुपर्ने बेला आउँदैछ’, उनले भने, ‘तर यो सरकार ढंगले एउटा काम पनि गर्न सकिरहेको छैन, शिक्षकहरुलाई तर्साउँदैछ, चिकित्सकहरुलाई हप्काउँदै छ ।’
टिप्पणीहरू