विद्यार्थी ठग्दै कन्सल्टेन्सी, मन्त्रालयकाे चेतावनी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्था (कन्सल्टेन्सी) हरुलाई भ्रामक विज्ञापन नगर्न र नक्कली अफरलेटर नबाँड्न चेतावनी दिएको छ । गैरकानूनी रुपमा सञ्चालित वा कतिपय अनुमति प्राप्त कन्सल्टेन्सीसमेतले झुट्टा विज्ञापन र नक्कली अफरलेटर बाँडेर विद्यार्थी र अभिभावकलाई ठगेको व्यापक गुनासोपछि मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
मन्त्रालयले सूचना जारी गर्दै गलत, भ्रामक सूचना वा विज्ञापन प्रचारप्रसार नगर्न भनेको छ । कन्सल्टेन्सीले यहाँ राम्रो शिक्षण संस्थाको अफर देखाएर विद्यार्थीलाई विदेश पठाउने तर त्यहाँ पुगेपछि सो शिक्षण संस्था नहुने, तालिम केन्द्रलाई शिक्षण संस्था बताउने र सम्बन्धित देशबाट औचारिक रुपमा शिक्षण संस्थाको मान्यता नपाएको संस्थाका नाममा अफरलेटर झिकाएर पठाउने गरेको गुनासो आइरहेको मन्त्रालयले जनाएको छ ।
व्यापक गुनासोपछि अध्ययन गर्दा कतिपय कन्सल्टेन्सी मन्त्रालयको अभिलेखमा नरहेको पाइएको हो । ‘विद्यार्थी तथा नागरिकबाट आफ्ना समस्या दर्साउँदै परेका उजुरीहरुमा उल्लिखित कतिपय संस्थाहरु मन्त्रालयको अभिलेखमा नदेखिँदा समस्या समाधान र अनुसन्धान तथा अनुगमनमा समेत प्रतिकूल असर परिरहेको छ,’ मन्त्रालयले भनेको छ ।
त्यसैले अनुमति प्राप्त कन्सल्टेन्सीबाट मात्र सेवा लिन विद्यार्थी र अभिभावकहरुलाई सचेत गराइएको छ । साथै, कन्सल्टेन्सीले उपलब्ध गराउने अफरलेटरको सरकारी आधिकारिता जाँच्न अनुरोध गर्दै कोही कसै ठगिएमा वा गुनासो भएमा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाको इमेलमार्फत जानकाी गराउन भनिएको छ ।
टिप्पणीहरू