दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको नाम सार्वजनिक
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा पदक एवं पुरस्कार पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक गरिएको छ।
पुस १० गते हुन गइरहेको दीक्षान्त समारोहमा विश्वविद्यालयले लिएको विभिन्न तह एवं विषयका परीक्षामा प्रथम वा उत्कृष्ट विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गर्न लागिएको हो । परीक्षा नियन्त्रण कार्यालयले आज ती विद्यार्थीको नामावली सार्वजनिक गरेको छ ।
जसअनुसार त्रिवि प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा सर्वोकृत्ष्ट अंक प्राप्त गरेका विशाल जोशीलाई प्रदान गरिनेछ । इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेज्मेण्टमा अध्ययनरत एमबिए तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेकी रक्षा भेटुवाल तथा एमए अंग्रेजी साहित्यमा सर्वप्रथम आग्या वाग्लेले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा.मोहनप्रसाद लाखे पुरस्कार पाउने भएकी छन् ।
नेबैंलि सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबिएस परीक्षामा सर्वप्रथम सुनिल पुडासैनीलाई प्रदान गरिँदैछ । रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार एमबिएस परीक्षामा महिलामध्ये सर्वप्रथम समिता महर्जनले पाउने भएकी छन् । एमएम राजनीतिशास्त्रमा सर्वप्रथम प्रतिभा पौडेलले वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार पाउने छिन् ।
यस्तै, एमएम अर्थशास्त्रमा सर्वप्रथम कमल पौडेलले तीन पदक तथा पुरस्कार पाउने छन् । उनलाई तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पदक प्रदान गरिँदैछ ।
एमएस्सी माइक्रोबायोलोजीमा सर्वप्रथम रविन्द्र पण्डितले रुद्रकुमारी घिमिरे स्मृति पदक पाउँदा एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा सर्वप्रथम आयुष्मा थापामगरलाई डा.दुबसु क्षेत्री स्वर्ण पदक दिइने छ ।
शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञानमा सर्वप्रथम रस्मिता कार्की, नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा सर्वप्रथम अनुशा रोका, गोविन्द रिजाल प्राज्ञिक उत्कृष्ट पदक कृषि स्नातकोत्तरमा सर्वप्रथम श्रष्टी पोखरेल र सुमन रिजाल पदक एमए समाजशास्त्रमा सर्वप्रथम सौरभ कोइरालाले पाउने छन् ।
स्नातक तह र बिबिए (व्यापार प्रशासन स्नातक) परीक्षामा सर्वप्रथम फुर्वा शेर्पालाई भाईस चान्सलर पदक र भ्वाईभ सत्य माँ स्मृति स्वर्ण पदक प्रदान गरिँदैछ । बिएचएम (होटल म्यानेजमेण्ट स्नातक) मा सर्वप्रथम उवेन्द्रकुमार तामाङले प्रितम चित्रकार पुरस्कार प्राप्त गर्नेछन् ।
एलएलबिमा सर्वप्रथम भावना अधिकारीले लोकराज ज्ञवाली पदक, सिभिल इन्जिनियरिङको स्नातक तहमा सर्वप्रथम गौरव भुसालले शिवराज पन्त स्मृति पुरस्कार, बिबिएस परीक्षामा सर्वप्रथम आकाश सुयालले नेबैंलि छत्रबहादुर पदक, बिएस्सी माइक्रोबायोलोजीमा सर्वप्रथम अग्रनी पौडेलले टिकाबल्भ डिलकुमारी घिमिरे स्मृति पदक र बिए परीक्षामा महिलामध्ये सर्वप्रथम सुभाषी कार्कीले ज्ञानप्रसाद पुरस्कार पाउने सूचनामा उल्लेख छ ।
नामावलीमा उल्लेख भएबाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कार पाउनुपर्ने कुनै आधार भएमा यही पुस ४ गतेभित्र सप्रमाण कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
टिप्पणीहरू