कम नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थी कुटे
बागलुङको एक सामुदायिक विद्यालयका शिक्षकमाथि विद्यार्थी कुटेको आरोप लागेको छ ।
बरेङ गाउँपालिका-२ बराहकोटस्थित पुरुषोदय माध्यमिक विद्यालयका शिक्षक मिथलेश अधिकारीले जाँचमा कम अंक ल्याएको भन्दै त्यहाँ अध्ययनरत छात्राहरूलाई निर्घात कुटपिट गरेको खुलेको हो । मङ्सिर २३ र २४ गतेको घटना अभिभावकमार्फत बाहिर आएपछि शिक्षकमाथि कारवाही गर्नुपर्ने माग उठेको छ ।
कक्षा १२ मा पढ्ने स्थानीय दिपेन्द्र परियारकी छोरीले नुहाउनेक्रममा खुट्टामा गहिरो निलडाम देखेपछि परिवारले सोधखोज गरेको थियो । उनले ‘अर्थशास्त्र पठाउने सरले पिटेको’ भनेपछि घटना बाहिर आएको हो । शिक्षक अधिकारीले अन्य छात्रालाई समेत कुटेको थाहा भएको छ ।
१२ मा पढ्ने १५ जनामध्ये अधिकांश छात्रालाई सरले कुटेको पीडितले बताएका छन् । शिक्षक अधिकारीले आफ्नै विद्यार्थीमाथि निर्घात कुटपिट गर्दै आएको खुलेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।
यस घटनामा गाउँपालिकाले समेत चासो जनाएको छ । शिक्षा अधिकृत सूर्य प्रसाद शर्माले शिक्षक अधिकारीलाई विद्यालयले कारवाही गर्नुपर्ने बताउँदै अन्यथा गाउँपालिकाले गर्ने बताए ।
‘मैले पनि आज बिहानमात्रै थाहा पाए, दिउँसो बैठक बस्दैछ भन्ने खबर आएको छ’, उनले भने, ‘विद्यालय वा विव्यसले गरेन भने गाउँपाालिकाले गर्छ, शिक्षकले कारवाहीबाट उन्मुति पाउँदैनन् ।’
टिप्पणीहरू