कम्तीमा यस्ताे हुनुपर्छ नमूना विद्यालय

कम्तीमा यस्ताे हुनुपर्छ नमूना विद्यालय

सरकारी शिक्षकले आफ्ना सन्तान अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने व्यवस्था छ । तर, कानुनी व्यवस्था लत्याउँदै सरकारी विद्यालयका शिक्षकहरुले आफ्ना सन्तान निजी विद्यालयमा पढाइरहेका छन् । जसका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको छ । दोलखामा एउटा यस्तो सरकारी विद्यालय छ, जहाँ सबै शिक्षकको सन्तान पढ्छन् । शिक्षकहरुले आफ्ना सन्तान पढाउन थालेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार देखिएको छ । 

शैलुङ गाउँपालिका–४ मा दुर्गा माध्यमिक विद्यालय छ । ‘संस्कारसहितको शिक्षा’ लाई प्राथमिकता दिएको सो विद्यालयको स्थापना वि.सं.२०१६ सालमा भएको हो ।  कक्षा १२ सम्म पठनपाठन हुँदै आएकोमा उक्त विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत छन् । त्यहाँ कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुने गरेको छ । २०८० वैशाख २७ गतेदेखि विद्यालयको प्रधानाध्यापकमा बालकृष्ण दाहाल छन् । उनले जिम्मेवारी सम्हालेपछि पढाइदेखि लिएर सरसफाइ, अनुशासनमा धेरै सुधार आएको छ ।

उनका अनुसार भारत सरकारको सहयोगमा विद्यालयको दुई वटा भवन निर्माण भएको छ । त्यस्तै, विद्यालयको पुरानो भवनमा पनि पठनपाठन भइरहेको छ । हाल विद्यालयमा टिचिङ र ननटिचिङ गरी ३१ जना कर्मचारी छन् । शिक्षकका मात्र नभई जनप्रतिनिधिका सन्तान पनि सोही विद्यालयमा पढ्ने गरेको प्रधानाध्यापक दाहालले बताए । जनआस्थासँग कुराकानीका क्रममा उनले भने,‘हाम्रो उद्देश्य संस्कारसहितको शिक्षा हो । हामीले विद्यालयमा सरसफाइलाई जोड दिएका छौं । यहाँ जनप्रतिनिधिदेखि शिक्षकको सन्तान पढ्नुहुन्छ ।’

विद्यालयले ‘धुँलोरहित विद्यालय अभियान’ सञ्चालन गरेको छ । विद्यालयलाई धुँलोरहित बनाउनका लागि हरेक कक्षाकोठामा कार्पेट बिच्छ्याइएको छ । कक्षामा प्रवेश गर्दा बाहिरै जुत्ता फुकाल्नुपर्छ । त्यसैगरी, खानेपानीको लागि विद्यालयमा ‘वाटर डिस्पेन्सर’ राखिएको छ । विद्यालयमा जंकफुड निषेध गरिएको प्रधानाध्यापक दाहाल बताउँछन् । 

अगाडि थपे,‘विद्यालयभित्र चकलेट, चाउचाउ, बिस्कुट केही पनि ल्याउन पाइँदैन । पानीको लागि डिस्पेन्सर छ । विद्यार्थीले चिसो, तातो पानी पाउनुहुन्छ । कक्षाभित्र जुत्ता लगाउन रोक लगाएका छौं । जुत्ता राख्न र्याक राखेका छौं ।’ विद्यालयमा इन्टरनेटको सुविधा पनि छ । वर्षभरी हुने शैक्षिक गतिविधिका लागि विद्यालयले ‘वार्षिक शैक्षिक कार्यक्रम’ बनाएको छ । विद्यालयमा छात्र र छात्राका निम्ति होस्टेलको व्यवस्था पनि गरिएको छ । 

‘नमूना विद्यालय कार्यक्रम’ अन्तर्गत होस्टेलको निर्माण गरिएको प्रधानाध्यापक दाहाल बताउँछन् । ‘यहाँ टाढाटाढाबाट विद्यार्थी आउने गरेका छन् । त्यसैले छात्र र छात्राका लागि छुट्टाछुट्टै होस्टेलको निर्माण गरिएको छ’,उनले भने । विद्यालयको नतिजा पनि राम्रो छ । । गाउँपालिकाले लिने कक्षा ८ को परीक्षाको नतिजा शतप्रतिशत छ । गत वर्ष भएको कक्षा १० को परीक्षामा ७० प्रतिशत विद्यार्थी पास भएकोमा मौका परीक्षा दिएर सबैले उत्तीर्ण गरेका छन् । 

कक्षा १२ मा ४२ परीक्षार्थीले परीक्षा दिएकोमा ८४ प्रतिशत पास भएका थिए । दोहोर्याएर परीक्षा दिएर सबैले परीक्षा उत्तीर्ण गरेको प्रधानाध्यापक दाहालले बताए ।

टिप्पणीहरू