नागरिक–प्रहरी सहकार्यः सुरक्षाका लागि अपरिहार्य

नागरिक–प्रहरी सहकार्यः सुरक्षाका लागि अपरिहार्य

– आराधना कुमारी गुप्ता
कक्षा ११, भिमोदय मा.वि., कालिका न.पा. वडा नं. ५, चितवन ।

सुरक्षा र शान्ति मानव जीवनका आधारस्तम्भ हुन् । सुरक्षाको अनुभूति बिना कुनै पनि समाजमा समृद्धि सम्भव हुँदैन । समाजमा अपराध, असुरक्षा र अन्याय फैलिँदा विकास अवरुद्ध हुन्छ । त्यसैले नागरिकको सुरक्षाका लागि सक्षम प्रहरी संस्था आवश्यक हुन्छ । यही उद्देश्यका लागि वि.सं. २०१२ सालमा नेपाल प्रहरीको स्थापना गरिएको थियो । स्थापना कालदेखि नै नेपाल प्रहरीले राष्ट्र, समाज र नागरिकका हितमा समर्पित रही सेवा प्रदान गर्दै आएको छ ।

नेपाल प्रहरीको मुख्य दायित्व जनताको जीवन, सम्पत्ति र मर्यादाको रक्षा गर्नु हो । अपराध नियन्त्रण, अनुसन्धान, शान्ति स्थापना र कानुनी शासन कायम राख्ने कार्यमा प्रहरी निरन्तर सक्रिय छ । तर प्रहरी मात्रको प्रयासले सबै प्रकारका अपराध नियन्त्रण गर्न सकिँदैन । त्यसका लागि नागरिकको सचेत सहभागिता र सक्रिय सहकार्य अपरिहार्य हुन्छ ।

नागरिक–प्रहरी सहकार्यले आपसी विश्वास, समझदारी र उत्तरदायित्वको भावना बलियो बनाउँछ । जब नागरिकले प्रहरीलाई डर होइन, भरोसाको प्रतीकका रूपमा हेर्छन् र प्रहरीले पनि नागरिकलाई सहकार्यकर्ताका रूपमा स्वीकार्छ, तबमात्र समाजमा अपराध घट्दै जान्छ र सुरक्षाको वातावरण स्थापित हुन्छ ।

आजको समयमा अपराधका रूपहरू आधुनिक र प्रविधिमुखी बनेका छन् । साइबर अपराध, मानव बेचबिखन, ठगी, लागुऔषध कारोबार जस्ता समस्याहरू नियन्त्रण गर्न प्रहरी मात्र पर्याप्त हुँदैन । यसका लागि सजग नागरिकहरूको सहयोग अपरिहार्य हुन्छ । नागरिकले आफ्नो वरपरका शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी दिनु, कानुनको पालना गर्नु र अपराधविरुद्ध बोल्नुले प्रहरीको कार्य प्रभावकारी बनाउँछ । प्रहरी नागरिकका लागि सुरक्षा कवच हुन् भने नागरिक प्रहरीका लागि आँखा र कान हुन् । जब यो सम्बन्ध पारदर्शी, भरोसामय र आपसी सम्मानमा आधारित हुन्छ, तब स्थायी शान्ति र सुव्यवस्था कायम रहन्छ ।

नेपालजस्ता बहुसांस्कृतिक र बहुभाषिक समाजमा नागरिक–प्रहरी सहकार्य अझै महत्वपूर्ण हुन्छ । प्रहरीको सीमित स्रोतले सम्पूर्ण समाजमा निगरानी राख्न कठिन हुन्छ । प्रहरीसँग नागरिकले सूचना, सुझाव र सहयोग गर्नु नै अपराध रोकथामको पहिलो कदम हो । साथै, नागरिक–प्रहरी सहकार्यले कानुनको पालना र सामाजिक अनुशासन कायम गर्न सहयोग पुर्‍याउँछ । नागरिकले सडक नियम पालना गरे, असामाजिक गतिविधिको रिपोर्ट गरे वा आपतकालीन परिस्थितिमा सक्रिय भएमा प्रहरीको काम सजिलो हुन्छ र समाजमा आपसी विश्वास बढ्छ । यसले अपराधको दर घटाउँछ र सामाजिक सद्भाव अभिवृद्धि गर्छ ।

विश्वका विकसित राष्ट्रहरूले नागरिक–प्रहरी सहकार्यलाई प्रमुख सुरक्षा रणनीति बनाइसकेका छन् । ‘नेबरहुड वाच’ जस्ता कार्यक्रमहरूमा नागरिक र प्रहरीबीच नियमित बैठक, तालिम र सूचना आदान–प्रदान हुन्छ । यसले समुदायमा सुरक्षाप्रति जागरूकता बढाउँछ र अपराध नियन्त्रणमा सकारात्मक प्रभाव पार्छ । नेपालमा पनि यस्तै रणनीति तथा कार्यक्रम आवश्यक देखिन्छ ।

यसर्थ, नागरिक–प्रहरी सहकार्य कुनै विकल्प होइन, सुरक्षाका लागि आवश्यकता हो । नागरिक–प्रहरी सहकार्यले केवल कानुनको प्रभावकारिता बढाउँदैन ; यसले सामाजिक उत्तरदायित्व, नैतिकता र जिम्मेवारीको विकास पनि गर्छ । अपराध र असुरक्षालाई रोक्न समाजका हरेक व्यक्ति प्रहरीका सहयोगी बन्न आवश्यक छ । नागरिकको सचेत सहभागिता र प्रहरीको समर्पित सेवाबाट मात्र ‘शान्त, सुरक्षित र समृद्ध नेपाल’को सपना साकार हुन सक्छ ।

(७०औं प्रहरी दिवस, २०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनद्वारा आयोजित ‘नागरिक–प्रहरी सहकार्य – सुरक्षाका लागि अपरिहार्य’ विषयक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल निबन्धको पूर्णपाठ ।)

 

टिप्पणीहरू