कुरा आयो फेरि पनि कांग्रेसको

कुरा आयो फेरि पनि कांग्रेसको

‘म शीर्षस्थ नेतालाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गर्छु । टाउको जोड्न आग्रह गर्छु । मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता देख्छु, राष्ट्रिय सहमति जुटाएर अगाडि बढ्न, संविधान संशोधन गर्न, जनतामा आशा र भरोसा प्रदान गर्न सक्यौं र मुलुकलाई निश्चित दूरीसम्म संँगै हिँडाउन सक्यौं भने मात्रै एक ठाउँमा पुगौंला । अन्यथा, हामीले ल्याएको गणतन्त्र, संघीयता, तीन तहका सरकार जोखिममा पर्ने अवस्था छ । जनता साह्रै निराश छन् ।’

आइतबार बर्दियाका कांग्रेस सांसद सञ्जयकुमार गौतमले विशेष समय लिएर बोल्दै राखेको धारणा हो यो । गौतमले वर्तमान गठबन्धन सरकार चल्न नसकेको भन्दै राष्ट्रिय सहमति सरकारको आवश्यक देखे । ‘सरकार हाम्रो छ । कांग्रेस र एमाले मिलेर बनेको छ । तर, एउटा सांसदका रूपमा हेर्दा पनि सरकार सरकारजसरी चलिरहेको छैन । जनतामा आशा र भरोसा जगाउन सकिरहेको छैन ।’ झट्ट सुन्दा यो अभिव्यक्ति सत्तारुढ दलका सांसदको हो भनेर पत्याउन गार्‍हो हुन्छ । तर कांग्रेस सांसदकै हो । 

हुन त कांग्रेसबाहिरबाट हेर्दा एउटा सिंगो पार्टी देखिए पनि विभिन्न सहपार्टी त्यहाँभित्र छन् । कांग्रेसलाई दुई भागमा बाँडेर बुझ्न केही सहज हुन्छ– संस्थापन र संस्थापनइतर । यसरी बाँड्दा सहज त देखिन्छ तर भित्र पसेपछि पनि बुझ्न बडो कठिन छ । संस्थापनभित्र पनि अनेक उपपार्टी छन् । संस्थापनइतर त झनै अनेक उपपार्टी हुने भइहाले । यत्ति भनेपछि संसदमा सरकारको आलोचना गर्ने, सरकार सरकार जस्तो हुँदै भएन भन्ने कोही छन् भने कांग्रेस संस्थापन इतरका हुन् भनेर बुझ्नुपर्नेहुन्छ । राष्ट्रिय सहमतिको सरकार बनाऊँ भनेर– प्रस्ताव राख्ने नेता गौतम शेखर कोइराला खेमाका हुन् । 

शेखरको कुरा आएपछि कांग्रेस–एमालेबीच असार १७ गते भएको सात बुँदे सहमतिभन्दा अलिक अघि फर्कनुपर्छ । कोइराला कांग्रेस–एमाले गठबन्धन सरकार बनाऊँ भनेर रटान लगाउँथे । केही पहलकदमी लिए पनि । सहमति जुट्यो, सरकार बन्यो । अनि मन्त्री छान्ने बेला लामै रस्साकस्सी चल्यो । कोइराला समूहले भनेजति मन्त्रालय पाएन अनि त्यहीँबाट सहमतिको विरोध शुरु भयो । सरकारको आलोचना थालियो । अहिले सरकारको सबैभन्दा ठूलो विरोधी कोही छ भने शेखर कोइराला अनि कोइराला गुटकै भनिएका महामन्त्री गगन थापा हुन् ।

आफैँ यो सरकारलाई सफल बनाउनुपर्छ भन्ने  बाहिर भने अहिलेको प्रधानमन्त्री भन्दा म खतरै गर्न सक्छु भनी दावी गर्ने ? 

तर पछिल्लो समय थापा एमाले अध्यक्ष नेतृत्वको गठबन्धन सरकारसँग आशावादी देखिन थालेका छन् । लोकतन्त्र दिवसका दिन वैशाख ११ गते परिआए सरकारबाट बाहिरिने बताएका थापा अहिले फेरि परिस्थितिले जन्माएको सरकार भन्न थालेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा त शुरुवातदेखि नै ओली सरकारको विपक्षमा देखिएकै थिए । महामन्त्रीद्वयको भनाइलाई आधार मान्दा ओली–देउवा गठबन्धन कांग्रेसको नयाँ पुस्तालाई मन परेको छैन । तर अस्वीकार गर्ने हिम्मत पनि छैन । सभापति शेरबहादुर देउवा दाहिना रहुञ्जेल ओलीलाई हाइसञ्चो नै छ । 

गभर्नर नियुक्तिमा देखिएको राजनीति, संविधान संशोधनको एजेण्डामा देखिएको अलमल अनि सरकारका कामले बढाएको निराशाले वर्तमान व्यवस्थाप्रति नै प्रश्न उठिरहेका बेला कांग्रेसमा विकल्पबारे आवाज बढ्दो छ । सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा सदस्य रहेका गगन थापाले बारम्बार सरकारका कामउपर प्रश्न उठाइरहेका छन् । पर्दा अगाडि देखिएका यी आशंकाको पृष्ठभूमि भने राजनीतिक नियुक्तिमा आफ्ना मान्छे भर्नु नै हो । 

कुनै बेला महामन्त्री थापा भन्थे–‘अहिलेको प्रधानमन्त्री भन्दा म अर्थात् हामी प्रधानमन्त्रीको पदमा बसेर राम्ररी चलाउन सक्छौं ।’ अहिलेको प्रधानमन्त्रीले चलाइरहेको सरकार राम्रोसँग चलेको छैन ? वा यसलाई सामान्य रूपमा प्रधानमन्त्री बन्ने गगनको सपना भनेर टार्ने ! होइन भने सत्ता गठबन्धनको कार्यदलमा रहेर सरकार सञ्चालनलाई सहज बनाउने भूमिका खेलिरहेका उनै थापाले अहिलेको अहिल्यै हामीलाई दिए राम्रोसँग चलाउन सक्छौं भन्ने दावी गर्नु कत्तिको उचित हो ! हुन त भाषणमा जे गरे पनि भयो । नत्र नेपालमा रातारात कोही व्यक्तिलाई प्रधानमन्त्री दिन मिल्दैन । संविधानले पनि प्रधानमन्त्री हुन संसदीय दलको नेता बन्नुपर्छ भन्छ । त्यो हिसाबमा गगनको यो आशय भनेको जसरी भए पनि प्रधानमन्त्री बन्न सक्षम छु भन्ने उदघोष हो । हुन त २०७९ को चुनावपछि संसदीय दलको नेता बन्न थापाले प्रयास नगरेको पनि होइन ।

तर उनकै समूहले पत्याएन । र बूढो भइसकेका देउवा संसदीय दलको नेता चुनिए । देउवाको पक्षमा ६४ र गगनलाई २५ मत पर्‍यो । त्यसैले पनि थापा मौका मिल्ने बित्तिकै हरेक भाषणमा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रयास गर्छन् । भन्नेले त गगनलाई दहीचिउरे नेता पनि भन्छन् । भाषणले पनि त्यस्तै जनाउँछ । आफैँ यो सरकारलाई सफल बनाउनुपर्छ भन्ने अनि अहिलेका प्रधानमन्त्री ओलीको शैलीसँग ट्युनिङ मिलेको छ पनि भन्ने । बाहिर भने अहिलेको प्रधानमन्त्री भन्दा म खतरै गर्न सक्छु भनी दावी गर्ने ? यसलाई दोग्लापन किन नभन्ने ?

जो पदाधिकारीले वा नेताले जे भने पनि कांग्रेस भनेको देउवा र देउवा भनेको सिंगो कांग्रेस हो । अर्थात् देउवाले चाहेसम्म गठबन्धन सग्लो नै रहन्छ । चाहे प्रचण्डले डडेलधुराबाट फोन गरुन् वा जनार्दन छिर्के हान्न देउवा निवास बूढानीलकण्ठ नै पुगुन् । झ्याप् झ्याप बत्ती गएझैं सरकारका काम पनि त्यस्तै भएको भन्दै विपक्षी दलले सडक तताइरहेका छन् । मध्यपहाडी जागरण अभियानका क्रममा प्रचण्डले ओली सरकार र गठबन्धनको उछित्तो काढिरहेका छन् । प्रतिरक्षामा उत्रनुपर्ने कांग्रेसचाहिँ आत्तिएको जस्तो देखिन्छ । राजावादी यही मौकामा सडक तताउने रणनीतिमा देखिन्छन् । यसले यो गठबन्धन दुवै दलका लागि भालुको कम्पारो बन्दै गएको जस्तो देखिन्छ । देउवा र ओलीबाहेक दुबै दलका शक्तिशाली हुँ भन्नेहरू पुच्छर लुकाउँदै म्याउँ गरिरहँदा सरकार बलियो हैन, कमजोर नै भएको बुझ्न गार्‍हो छैन । 

टिप्पणीहरू