ट्रष्टको सम्पत्तिमा व्यक्तिको रजाइँ, सरोकारवाला बेखबर
राजपरिवारको सम्पत्ति संरक्षणका लागि सरकारले नेपाल ट्रष्टको कार्यालयको स्थापना गरेको छ । १० वर्षे जनआन्दोलनपछि जारी अन्तरिम संविधान, २०६३ को धारा १५९ ले ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारको सम्पत्ति नेपाल सरकारमातहत ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिने’ भनेको छ । सोहीअनुरुप ‘नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्ध व्यवस्था गर्ने अध्यादेश, २०६४’ जारी गरेर ट्रष्टको कार्यालय खडा गरिएको हो ।
जसको प्रमुख काम देशभर रहेको राजपरिवारको सम्पत्ति खोजी, संरक्षण र व्यवस्थापन गर्नु हो । राजपरिवारबाट आफ्नो नाममा ल्याएको सम्पत्ति कहाँ छ ? कसले प्रयोग गरिरहेको छ ? ट्रष्ट बेखबर छ । ट्रष्टको बेवास्ताले गर्दा सरकारको नाममा आएको राजपरिवारको अधिकांश सम्पत्ति व्यक्तिले अतिक्रमण गरेका छन् । व्यक्तिहरुले ती जग्गामा धमाधम महल ठड्याउँदा ट्रष्ट टुलुटुलु रमिता हेरेर बसेको छ । आफ्नो सम्पत्तिलाई पुरानै स्वरुपमा फर्काएर संरक्षण गर्न ट्रष्टले उदासीनता देखाएको छ ।
जसका कारण सरकारको सम्पत्तिमा रजाइँ गर्नेहरुको मनोबल बढेको छ । भक्तपुरको सल्लाघारीस्थित राजपरिवारले खरिद गरेको र पछि ट्रष्टको नाममा आएको १०८ रोपनी जग्गामध्ये धेरै हिनामिना भइसकेको छ । भक्तपुर नगरपालिका–१ मा पर्ने त्यो १०८ रोपनीमध्ये हाल ७०–७५ रोपनी जग्गा मात्र बाँकी छ । अरु जग्गा व्यक्तिहरुले कब्जा गरेर घर बनाएका छन् । विडम्बना, ट्रष्टलाई कुनै सरोकार छैन । आधा जग्गा कब्जा भइसक्दासमेत ट्रष्टका पदाधिकारीहरु आँखा चिम्लेर बसेका छन् ।
कसरी गरियो कब्जा ?
सल्लाघारीको जग्गा व्यक्तिले कब्जा गरेको केही दशक भयो । त्यो जग्गामा पहिले त्यहाँका स्थानीयले खेतीपाती गर्थें । वि.सं.२०२४ सालमा राजा महेन्द्र वीरविक्रम शाहले त्यहाँका स्थानीयसँग प्रतिकित्ता एक हजार रुपैयाँमा सो १०८ रोपनी जग्गा खरिद गरे । उनले आफ्ना कान्छा छोरा धीरेन्द्रका निम्ति सो जग्गा किनेको त्यहाँका एक वृद्ध स्थानीय बताउँछन् । वि.सं. २०३० सालसम्म त्यहाँ एउटा छाप्रो पनि थिएन ।
वि.सं.२०३२ सालमा एक जनाले त्यहाँ छाप्रो बनाए । वि.सं २०३५ सालमा सोही स्थानमा एउटा कच्ची घर बनाइयो । वि.सं. २०४६ सालपछि त्यहाँको जग्गा अतिक्रमण हुने क्रम ह्वात्तै बढ्यो । कच्ची घरबाट महल ठड्याउने कार्यको शुरुवात भयो । रोचक प्रसंग के भने, ट्रष्टको सम्पत्तिमा घर बनाउनेहरु अधिकांश उच्च पदस्थ छन् । शिक्षित तथा सरकारका बहाल र भूपू कर्मचारीहरुले त्यहाँ घर बनाएका छन् ।
७६ जिल्लाकै बासिन्दाको बसोबास रहेपनि त्यहाँ सबैले आस्था राख्ने पार्टी एउटै छ–नेपाल मजदुर किसान पार्टी (नेमकिपा) । मुलुकबाट राजतन्त्र हटेपछि सो जग्गा ट्रष्टको नाममा गयो । भक्तपुर नगरपालिकाले अतिक्रमण गरेर बचे–कुचेको जग्गामा घेराबार लगाएको छ ।
नेमकिपाकै संरक्षण !
भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ सालदेखि नेमकिपाले नै जीत हासिल गर्दै आएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंपछि हाल प्रेम सुवाल सो क्षेत्रबाट सांसद छन् । यता, मेयरमा पनि लगातार नेमकिपाकै उम्मेदवार निर्वाचित भएका छन् । हाल भक्तपुर नगरपालिकाको मेयरमा सुनिल प्रजापति छन् । उनको यो दोस्रो कार्यकाल हो ।
वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री पनि नेमकिपाकै हुन् । ट्रष्टको जग्गा अतिक्रमण गरेर घर बनाउनेहरु नेमकिपाकै छन् । आफ्नै पार्टीको भएकाले सांसद, मेयरदेखि वडाध्यक्षसम्मले उनीहरुको संरक्षण गरिरहेको स्रोत बताउँछ । यता, नेमकिपाको नबनेमा आफ्नो घर भत्किने डर उनीहरुलाई भएको स्रोतको जिकिर छ । स्रोतका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यहाँ अनुगमन गरेमा अधिकांश घर ट्रष्टकै जग्गामा फेला पर्छ ।
स्रोत भन्छ, ‘ट्रष्टको जग्गा कब्जा गरेर घर बनाउनेहरु जम्मै नेमकिपाका छन् । उनीहरुले हरेक चुनावमा नेमकिपालाई नै मतदान गर्छन् । त्यसैले त अहिलेसम्म जोगिएका छन् । नत्र त नेमकिपाले के छोड्थ्यो ?’ आफ्नो पार्टीको भोट बढाउनका लागि नेमकिपाले ट्रष्टको सम्पत्ति हडप्नेहरुलाई संरक्षण गरेको भन्दै स्रोतले असन्तुष्टि पोख्यो । ‘गलत काम गर्नेलाई कारबाही गर्ने कि भोट बैंक बनाउने ? नेमकिपाका कारण ट्रष्टको सम्पत्तिमा व्यक्तिहरुको राइँदाइँ चलेको छ’,स्रोतले भन्यो ।
ट्रष्टको जग्गामा नगरपालिकाको रजाइँ
नगरपालिकाले घेराबार लगाएपनि सो जग्गा ट्रष्टको नाममा छ । संरक्षणको नाममा ट्रष्टको खातामा जानुपर्ने रकममा नगरपालिकाले रजाइँ गरिरहेको छ । त्यहाँ वर्षेनि मेला लाग्ने गर्दछ । विभिन्न सांस्कृतिक, सांगीतिक कार्यक्रम पनि बेलाबखत आयोजना भइरहेको हुन्छ । सो जग्गामा ड्राइभिङ्ग सेन्टर पनि सञ्चालन भइरहेको छ ।
गत फागुन १६ देखि १९ गतेसम्म आयोजना गरिएको नेमकिपाको आठौं महाधिवेशनका लागि सल्लाघारी चौरमा भव्य कार्यक्रमस्थल तयार पारिएको थियो । तर, विरोध भएपछि पहिलो दिन त्यहाँ कार्यक्रम गरेर अन्यत्रै सारियो । सल्लाघारी चौरमा कार्यक्रम गर्नका लागि नगरपालिकाबाट स्वीकृति लिनुपर्छ र राजश्व बुझाउनुपर्छ । जबकि, सो जग्गा ट्रष्टको हो ।
त्यहाँ कार्यक्रम गर्नका लागि ट्रष्टबाट स्वीकृति लिनुपर्ने हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई त्यो जग्गा नगरपालिकाले संरक्षण गरिरहेको बताउँछन् । त्यहाँको रेखदेख नगरपालिकाले गरेकाले राजश्व पनि पालिकाले नै उठाउने उनको जिकिर छ । जनआस्थासँग उनले भने,‘ट्रष्टको जग्गा भएपनि त्यसको संरक्षण नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले त्यहाँ कार्यक्रम गर्नका लागि राजश्व तोकिदिएको छ । नगरपालिकाबाट स्वीकृति लिएर कार्यक्रम गर्न सकिन्छ ।’
नगरपालिकाको ‘दादागिरी’
सो जग्गामा व्यक्तिले मात्र होइन्, नगरपालिकाले पनि आँखा लगाएको छ । यसअघि ट्रष्टले आफ्नो नाममा रहेको उक्त जग्गाको संरक्षणका लागि अस्थायी पोष्ट स्थापना गरेर तीन जना सुरक्षागार्ड राखेको थियो । उनीहरुले पालैपालो जग्गा कुर्थे । ट्रष्टले आफ्नो सम्पत्तिको संरक्षण गर्न लागेपछि असह्य बनेको नगरपालिकाले ‘अपहरण शैली’ मा जबरजस्ती एक सुरक्षागार्डलाई चौरबाट उठाएको थियो ।
सुरक्षागार्ड आशिष बमलाई दुई घण्टा नियन्त्रणमा राखेर धम्क्याइएको थियो । सुरक्षागार्डलाई नगरपालिकाले नियन्त्रणमा लिएको जानकारी पाएलगत्तै भक्तपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख सविन प्रधानले उनको उद्धार गरेका थिए । आफ्नो सम्पत्तिको संरक्षण गर्न पाउनु नेपाल ट्रष्टको अधिकार हो । तर, आफूले लगाएको ताल्चा फुटाएर अर्को ताल्चा झुण्ड्याएको, मेयरलाई नसोधिकन बोर्ड बैठक बसेको भनि नगरपालिकाले सो गैरकानुनी हर्कत गरेको हो ।
घेराबारको जग्गामा नेमकिपाको ‘नजर’
भोटका लागि ट्रष्टको सम्पत्ति कब्जा गर्नेलाई संरक्षण गरिरहेको नेमकिपा र भक्तपुर नगरपालिकाले घेराबार लगाएको जग्गाका लागि लबिङ्ग गरिरहेको छ । ख्वपः विश्वविद्यालय निर्माणका लागि सो जग्गा प्राप्तिका निम्ति सांसद सुवाल र नगरपालिकाले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसँग पटकपटक छलफल गरिसकेका छन् ।
विश्वविद्यालयका लागि जग्गा माग गरेपछि मन्त्री अधिकारीले त्यहाँ पुगेर स्थलगत अनुगमनसमेत गरेका थिए । त्यहाँ ख्वपः विश्वविद्यालय निर्माण गर्नुको प्रमुख उद्देश्य थप भोट बटुल्नु भएको स्थानीय नागरिक अगुवा बताउँछन् । ‘आधा त अतिक्रमण गरिसक्यो, बाँकी पनि गर्न खोज्दैछन् । विश्वविद्यालयको नाम दिएर यिनीहरुले आफ्नो भोट बढाउन खोजेका हुन् । संरक्षणमा चासो नदेखाउँदा ट्रष्टले धमाधम आफ्नो सम्पत्ति गुमाइरहेको छ । यो–त्यो भन्दै सम्पत्ति दिन थाल्यो भने ट्रष्ट त रित्तो हुन्छ’,उनले भने ।
अरनिको राजमार्गमा पर्ने सो जग्गाको मूल्य आनाकै पचासौं लाख छ । ट्रष्ट आफ्नो सम्पत्तिमाथि निगरानी राख्न र संरक्षण गर्न चुक्दा सरकारी जग्गा हड्पेर केही व्यक्ति मालामाल बनेका छन् । ट्रष्टको अर्बौंको सम्पत्तिमा उनीहरुले मोजमस्ती गरिरहेका छन् ।
आफ्नै सम्पत्तिबारे बेखबर ट्रष्ट
ट्रष्टलाई सल्लाघारी चौरको त्यो जग्गा कुन अवस्थामा छ ? थाहा छैन । ट्रष्टका प्रवक्ता सहसचिव लोकनाथ न्यौपाने सो जग्गामा ड्राइभिङ्ग सेन्टर खोल्न इजाजत नदिएको बताउँछन् । सो जग्गा संरक्षणको जिम्मा नगरपालिकालाई नदिएको उनको दाबी छ ।
‘त्यो जग्गा संरक्षणको जिम्मा नगरपालिकालाई दिइएको छैन । ट्रष्ट आफैंले गरिरहेको छ । त्यहाँ ड्राइभिङ्ग सेन्टर सञ्चालन गर्न ट्रष्टले अनुमति दिएको छैन’,उनले भने । त्यसैगरी, उनले त्यहाँको जग्गाबारे जानकारी नभएको बताए । भन्छन्,‘त्यहाँ कति जग्गा छ, त्यो त हेर्नैपर्छ ।’
टिप्पणीहरू