पीएसजीको पाेल्टामा च्याम्पियन्स लिगको उपाधि

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)ले च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति भएको एकपक्षीय फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
एल्लिनाज एरिनामा भएको फाइनलमा पीएसजीलाई जित दलाउन डिजायर डोउएले दुई गोल गर्दा अचार्फ हकिमी, ख्विचाख्वाराट्स खेलिया र सेनी मायुलुले समान एक÷एक गोल गरे । खेलको १२ औँ मिनेटमा हकिमीले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २० औँ मिनेटमा डोउएले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा२–० गोलको अग्रता दिलाए ।
६३ औँ मिनेटमा डोउएले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ७३ औँ मिनेटमा ख्वाराट्स खेलियाले गोल गर्दै पीएसजीलाई खेलमा४–० गोलले अगाडि बढाए । यस्तै ८६ औँ मिनेटमा मायुलुले गोल गर्दै पीएसजीलाई ५–० गोलको जित दिलाएका हुन् ।
यससँगै पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि पीएसजी२०१९÷२० को फाइनलमा बायर्न म्युनिखसँग १–० गोलले पराजित भएको थियो। यता इन्टर भने तीन वर्षमा दुईपटक फाइनलमा पुगेरपनि उपविजेतामा चित्त बुझाएको छ ।
टिप्पणीहरू