बनाउनु केही छैन, भत्काउने मात्रै ?

काठमाडौँ लगनटोलमा जन्मिए, हुर्किएका विद्यासुन्दर शाक्य व्यवसायी वा जागिरे भएनन् । खानदानी नेवार परिवारका छोरा भएर पनि ०३७ सालमै पञ्चायती व्यवस्था बदल्ने आन्दोलनमा होमिए । ०४३ सालको नगर पञ्चायत निर्वाचनमा जनपक्षीय उम्मेदवारका रूपमा उठेर वडाध्यक्ष चुनिए । ०४९ र ०५४ मा पनि २१ नम्बर वडाबाट जिते । ०७४ मा काठमाडौँबाट मेयर निर्वाचित उनले ०७९ मा टिकट पाएनन् । माथिबाट पूर्वमेयर केशव स्थापितलाई उठाउनु नै बालेनलाई प्लस पोइन्ट भएको मान्नेहरू एमालेभित्रै छन् । शाक्य नगर र जिल्ला कमिटी सचिव हुँदै अहिले पार्टीको केन्द्रीय सदस्य छन् ।
–हरि गजुरेल
० तपाईंपछि काठमाडौँका मेयर बालेन साहको गतिविधिलाई कसरी मूंल्याकन गरिरहनुभएको छ ?
– ०७४ मा एमालेको कार्यपालिका र नगरसभामा बहुमत थियो । ०७९ मा मेयरमा पराजित भए पनि उपमेयरलगायत १२ वडा जिताउन सफल भयौं । जनभावना बुझ्न नसक्दा, माथिबाट जे लादे पनि हुन्छ भन्ने मनस्थिति बन्दा सोचेअनुसारको परिणाम आएन । एमाले मात्र होइन, कांग्रेसको हकमा पनि त्यही हो । मैले जिम्मेवारी सम्हाल्दा ०७४ मा भर्खर संविधान आएको थियो । प्रदेशका कानुनहरू बनिसकेका थिएनन्, स्थानीय तह चलाउनका लागि ऐन थिएन । सोही समयमा कोरोना फैलियो । यद्यपि टिम वर्कमा विश्वास गरियो र सबैको चित्त बुझाएर काम गरियो । संघ, प्रदेश सरकारदेखि आफ्नै कर्मचारीसँग समन्वयमा काम हुँदा त्यति असहज भएन । अहिले त संस्थागतभन्दा व्यक्तिगत रुपमा मेयर सा’ब चलिरहनुभएको छ भन्ने सुनिन्छ । ‘मै हुँ’ भन्ने अहंले कहाँ नै पो पुगिएला ? जनप्रतिनिधि साथीहरू गुनासो गर्नुहुन्छ– हिजो हामीले व्यवस्थापन गरेका स्रोत, साधनको प्रयोगभन्दा दुरुपयोग भइरहेको छ । एकल निर्णयबाट आयोजित टुँडिखेलको सीप मेलाका नाममा करोडौं घोटाला भएको छ । जुन कार्यक्रम उपप्रमुखसहित सबै जनप्रतिनिधिले बहिष्कार गरेका थिए । मेयर, उपमेयर, कार्यकारी तीनतिर फर्किएको सुन्छु । स्थानीय सरकार जीवनदेखि मरणसम्म जोडिएको संस्था हो । यो ३२ वटा वडा र जनसंख्या धेरै भएको सबैभन्दा ठूलो महानगर हो । यसले अनुकरणीय काम गर्नुपर्छ ।
० आफ्नो कार्यकालमा भएका उल्लेख्य कामलाई कसरी स्मरण गर्नुहुन्छ ?
– कोरोनाका कारण विकास निर्माणका काम भन्दा धेरै ध्यान मान्छेको ज्यान बचाउनेतिर केन्द्रित भयो । कसैलाई भोकै मर्न दिइएन । नन कोभिड बिरामीको समेत उपचार र स्वास्थ्यको जिम्मेवारी लिइयो । दम, मिर्गाैला, मुटुका दीर्घरोगी अस्पतालसम्म जानसक्ने स्थिति थिएन । २४ सै घण्टा १० वटा एम्बुलेन्स चलायौं । हाम्रै कार्यकालमा वडाका प्रशासनिक भवन निर्माण भए । पार्क, बाटोघाटो निर्माणका अलावा, सबै अस्पतालसँग सहकार्य गरेर ५० वटा भेन्टिलेटर उपलब्ध गराइयो । क्षेत्रपाटी, १५ नम्बर वडामा अवस्थित डल्लु सामुदायिक र डाक्टर भगवान कोइराला गरी तीन तीन वटा अस्पताललाई सहयोग गर्यौं । टिचिङ अस्पताललाई साढे ६ करोडको सिटी स्क्यान मेसिन दियौं । संघीयतापछि शिक्षा क्षेत्र पनि स्थानीय तहमा आयो । शौचालयदेखि खेल, मैदान, भवन जीर्ण थिए । कतिपय विद्यालय भवन नयाँ बनाइयो । रङ रोगन गरियो । सरकारी विद्यालयको शौचालय छिर्दा नाक थुन्नुपर्ने स्थिति थियो । यस अलावा प्राविधिक शिक्षा ११ वटा चलाइयो तीन वर्षमा । दमकल भवन बिस्तार गरेर बालाजु र बौद्धमा पनि बनाइयो ।
० मेट्रो रेल, पार्किङ एरिया, महानगरका आफ्नै भवनलगायत केही महत्वाकांक्षी योजना त अधुरै रहे, हैन ?
– मेरो कार्यकालमा शुरु भएका केही कामलाई राजनीतिक हिसाबले अहिले अगाडि बढाइएको छैन । हाइ मास्क बत्ति राख्न टेण्डरै भइसकेको छ । नेपाल प्रहरीसँग समन्वय गरेर पाँच करोडको सिसिक्यामेरा राख्यौं तर राति बत्ति नपुग्ने समस्या भयो । बत्ति पु¥याउन सकेको भए अपराधिक घटना र दुर्घटना कम गर्न सकिन्थ्यो । प्राधिकरणसँग समन्वय गरेर स्मार्ट लाइट राख्नका लागि ७७ सालमै सम्झौता भएको हो । यस्तै टेकुमा पार्किङ भवन बनाउन टेण्डर आह्वान भयो । उपत्यकामा कोही पनि व्यापारिक संघ, संस्था पार्किङ भवन बनाउन तयार नभएपछि उनीहरूलाई अभिप्रेरित गर्न पार्किङ भवन बनाउन खोजिएको थियो । यसरी ठाउँ ठाउँमा पार्किङ एरिया बनाइदिएको भए आज कसैको घरमा डोजर चलाउनुपर्ने थिएन । काठमाडौँमा मोनोरेल, मेट्रोरेलको परिकल्पना मेरै कार्यकालमा गरिएको हो । कि त मेरोभन्दा फरक योजना ल्याउनुप¥यो । होइन भने यी योजना यो यो कारणले ठीक छैनन्, त्यही कारण लागू गर्न सकिएन भन्नुपर्यो । सधँै घर भत्काउने, सडक चौडा गरेर मात्र बस्ने हो भने राज्यको सबै सम्पत्ति सडकमा मात्र जाने अवस्था हुन्छ । टेकुको सात रोपनी जग्गामा नमुना पार्किङ भवन बनाउने योजना अधुरै रह्यो । एक तला बनेर त्यसै लथालिंग हुन पुग्यो । नेतृत्व परिवर्तन हुनेबित्तिकै ठीक योजना टेक ओभर गर्नुपर्छ । अरु सबै नगरपालिकाको कार्यालय भवन छ । तर देशकै सबैभन्दा ठूलो महानगरपालिका अहिले पनि भाडामा बसिरहेको छ । तत्कालीन उपप्रधानमन्त्रीलाई आग्रह गरेर नेपाल ट्रष्टको भवनमा लिजमा बस्न मैले पहल नगरेको भए आज कार्यालय कहाँ हुन्थ्यो ? हाइमास्क, न्यूरोडको दमकल भवन बनाउनुपर्ने विषय छन् । भत्काउने कामचाहिँ मज्जैले चलिरहेको छ । अहिलेका मेयरको नीतिले महानगरपालिका बन्दैन । योजनाअनुसारको बजेट हो कि बजेटअनुसारको योजना ? नचाहिने ठाउँमा खर्च गर्न थालेपछि नियतमाथि प्रश्न त उठ्छ नै ।
० तपाईंले गरेका जनप्रिय कामको मार्केटिङ बालेनले गरिरहेको देख्दा कस्तो लाग्छ ?
– ०७६ वैशाखबाट १० वटा एम्बुलेन्स चलाइयो– खर्च महानगरको, व्यवस्थापन उनीहरूको रहने गरी । अहिले बालेनको टिमले हल्ला गर्दैछ एम्बुलेन्स चलायौं भनेर । समाचार पनि त्यसै गरी आउँछ । भ्रमको आयु कति हुन्छ ? पत्रकारिताले किन यसरी स्तर गुमाइरहेको छ ? अहिले ९९ प्रतिशत युट्युबहरूले विषादी खुवाइरहेका छन् । उनीहरूले नेता, कर्मचारी चोर भनेर लाइक, कमेन्ट बटुलिरहेका छन् । मिडियाले सही सूचना सम्प्रेषण गरिदिने हो भने दूधको दूध पानीको पानी हुन्छ । यहाँका स्थानीयवासीलाई राम्रोसँग थाहा छ, कसले बनायो, कसले भत्कायो ?
० किन टिक्दैनन् महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ?
– कार्यकारी खटन पटनको निर्णय नेपाल सरकारले गर्दछ । स्थानीय तहको खटन पटन, प्रदेश सचिवहरूको खटन पटन संघीय सरकारले गर्दै आएको छ । मेरै कार्यकालमा ७ जना प्रमुख प्रशासकीय अधिकृत हेरफेर भए । अहिले तीन वर्षमा चार प्रमुख प्रशासकीय हेरफेर हुँदा दुई जनालाई भ्रष्टाचार मुद्धा लाग्यो भनेर बदनाम गरिएको छ । भ्रष्टाचार त न्यायिक निकायबाट पृष्टि हुनुपर्छ । जसले आरोप लगायो, उसैले पुष्टि गर्ने त होइन होला । न त मेयरसँग कार्यकारीलाई छानबिन गरेर अपराधी, भ्रष्टाचारी भन्ने अधिकारै छ । यसरी छानबिन नगरी अल्मलाउनुको पछाडि केही न केही रहस्य छ । भोलि यहाँको नजिर अन्यत्र स्थापित भयो भने के गर्ने ?
० अन्य ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर विकास खर्च नै काठमाडौँ महानगरको देखिन्थ्यो । तपाईंको कार्यकालमा ९० प्रतिशत बढी खर्च हुने, अहिले ३० प्रतिशत समेत खर्च गर्न नसकिने किन ?
– अहिले खर्च गर्ने ठाउँ छैन । अनि त्यही ठाउँ नभएकै कारण हिजो बनेका संरचना भत्कायो, निर्माण गर्यो । यस्तो तालले महानगर चल्छ ?
० तपाईंको कार्यकालमा धेरै विकास निर्माणका माम भए भन्नुहुन्छ तर तलबाट नाम सिफारिस भएर पनि माथिबाट किन काटियो त ?
– ३२ वटै वडा, महानगरपालिका र जिल्लाबाट मेरो नाम गएको हो । अरुलाई टिकट दिए जितिँदैन भनेर पहल पनि भएको हो । तर, अब जे हुनु भइसक्यो । नो भोटका कारण पनि अहिलेको नेतृत्व आएको हो । पार्टी मन पर्छ तर उम्मेदवारहरू चित्त नबुझ्ने भएका कारण पनि केही मत उता गएको देखिन्छ । नत्र उपमेयर र वडा अध्यक्षलाई भोट आउने, प्रमुखलाई नआउने भन्ने हुन्छ ?
० तपाईंकै कार्यकालकी उपमेयर हरिप्रभा खड्गी प्रदेश सांसद हुँदै मन्त्री भइन् । आफूचाहिँ जिम्मेवारविहीन भएर रहनुपर्दा मन दुख्दो हो नि !
– म त आफूलाई भाग्यमानी नै मान्छु । ०४९ साल र ०५४ सालमा निर्वाचन जितें । विवादमा फसेका सबैलाई मिलाएर लगें । कतिपय अनिर्णित विषयलाई टुंग्याएँ । मैले अन्याय भयो भनेर बोल्दा मजस्ता हजारौं साथीको मन दुख्छ । सबै अपेक्षा कहाँ पुरा हुन्छ र ? जनताले एउटा चाह्यो, मैले एकथरी चाहें, नेतृत्व व्यवस्थापनको निर्णय अर्काे हुन सक्छ । हामीलाई बोल्न नजान्ने भए पनि हुन्छ तर काम गर्ने मान्छे चाहियो भन्न थालेका छन् । तर यहाँ त बोल्ने तर काम नगर्नेहरूकै बोलवाला भयो । पहिला पहिला कतै बिहे भोजमा जाँदा बेहुलीलाई गिफ्ट दिँदा सामान राम्रो र गुणस्तरीय दिने तर प्याकिङ्ग गोर्खापत्रमा दिइयो । अहिले प्याकिङ्ग राम्रो, भित्र गुणस्तरहीन सामान दिन थालिएको छ ।
० तपाईंको कार्यकालमा काठमाडौँका मेयर मर्यादाक्रमको ९ औं नम्बरमा थिए । तपाईं हटेलगतै किन तल झारिएको होला ?
– जनप्रतिनिधिले संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने हो तर सबैलाई सरापेर कहाँ हुन्छ ? कस्ता कस्ता मै हुँ भन्ने तानाशाह त पतन भएर गएका छन् । केही मान्छे मारेर सत्तामा पुगेका हुन् त केही मत पाएर उक्लेका छन् तर ती तानाशाह कोही पनि टिकेनन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, लाइन एजेन्सीसँग समन्वयमा काम गरियो, मेरो कार्यकालमा । कोही नेतालाई चोर पनि भन्नु परेन । संघीय सरकारले मनाउने कुनै कार्यक्रममा काठमाडौँ महानगरपालिका आयोजक हुन्थ्यो तर अचेल त त्यो कार्यक्रममा किन जाने ? गणतन्त्र दिवस किन मनाउने ? भन्ने गरिएको छ । कोही स्वतन्त्रले जित्दैमा गणतन्त्रवादीहरू हारेका हुन् र ! मैले ५० हजार मत ल्याएर जित्दा ४९ हजार मत ल्याएर हार्नेको अस्थित्व स्वीकार गर्नुपर्दैन ? निषेधको राजनीति गर्न थालेपछि कहाँ पुगिन्छ ?
० मसानघाटमा पुगेको राजतन्त्र ज¥याक जुरुक उठ्ने स्थिति आउनुमा सत्ताधारी दलहरू कत्तिको जिम्मेवार छन् ?
– राजतन्त्र छोडेपछि उसको एजेण्डा सकिन्छ त्यही कारण राजाले चाहे पनि नचाहे पनि उनको नाम प्रयोग भइरहेको हुन्छ । केहीले जात, धर्म र क्षेत्रका नाममा राजनीति गरेझैं राजाको नाममा स्वार्थको रोटी सेक्नुलाई अस्वभाविक मान्नु पर्दैन ।
० राजसंस्थासँग गणतन्त्रवादीहरू तर्सनुपर्ने स्थिति किन आयो ?
– राजतन्त्रवादीहरूले राजा फर्कन्छ नभन्ने हो भने तिनका पछाडि किन लाग्छन् र ?
० तर शीर्षस्थ दल र नेताहरूप्रति जनतामा नैराश्यता छ भन्ने त स्वीकार्नुहुन्छ नि ?
– अलि अलि कमी–कमजोरी भयो भन्दैमा व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने होइन । कमजोरी सुधारगरेर अगाडि बढ्नुपर्छ।
० सरकार ट्रयाक बाहिर हिँडिरहेको छ भन्ने लाग्छ कि लाग्दैन ?
– जनता कहिल्यै दोषी हुँदैनन् । जनताले भोटमार्फत पाँच वर्षको अधिकार कसैलाई दिएका हुन् । सुध्रिन पर्ने त नेतृत्व नै हो । गुनासोलाई सम्बोधन गर्ने गरी दल, सरकार लाग्नुपर्ने हो । समीकरण वा गठबन्धनका कारण सबैले सोचेअनुसार काम हुँदैन । पार्टी फरक, चुनावी घोषणापत्र फरक फरक छ । फरक फरक अपेक्षा रहेका कारण सोचेअनुसार गठबन्धन सरकारबाट परिणामको अपेक्षा नगरे हुन्छ । पार्टीलाई अगाध माया गर्नेहरू किन बिच्किए भनेर समीक्षा गर्नुपर्छ । कसैले कुरा उठाउँछ भने त्यसलाई निषेध होइन, उसको विचारलाई सम्मान गरेर अगाडि बढ्न सकेको खण्डमा हिजो हामीले जुन सम्मान पाएका थियौं पुरानै ठाउँमा फर्कन सक्छ ।
टिप्पणीहरू