सुन तस्करी र मारवाडीको यस्तो माखेसाङ्लो

सुन तस्करी र मारवाडीको यस्तो माखेसाङ्लो

२०५० सालतिर धु्रव पौडेल, बच्चु पौडेल र नारायण पौडेलले झापा जिल्ला, भद्रपुरमा बसोबास गर्ने र पछि काठमाडौं सरेका कनिराम सरियाका छोराहरू धनपत, गोविन्द र प्रदीपको निम्ति बैंकक र ढाकाबाट सामान ल्याउने गर्दथे । पछि झिटी गुन्टासँगै लुठाफाटाभित्र लुकाई घडी, क्यालकुलेटर, सुनका बेरुवा औंठी, लत्ताकपडा ल्याउँदा केही रकम कमिशन पाउँथे । विश्वनाथ गोयल विद्युत प्राधिकरणमा महाप्रबन्धक हुँदा निजलाई भ्रष्टाचारबाट आर्जित रकम ब्याजमा लिएर सरियाहरूले बच्चु पौडेलसँग मिली खासाको भन्सार छल्दै तिब्बततर्फ रक्त चन्दन र विदेशी मुद्रा पठाउन,  उताबाट लत्ताकपडा, जुत्ता चप्पलका नाममा सुन ल्याउन थाले । यस्तै चोरी निकासी गर्दै जाँदा २४ वर्षमै प्रशस्त रकम कमाए । त्यस्तै आम्दानीबाट पुतलीसडक न्युप्लाजामा भव्य घर बनाए । 

भद्रपुरमै २०४८ सालसम्म थोरै चाइनिज सामान बेच्दै गरेका सरिया बन्धुहरूले खासाबाट ल्याएका घडी, सुन, क्याल्कुलेटर, क्यामरा आदि बंगालको सिलगुडीमा भन्सार छली लगेर बेच्ने गर्दै थिए । पछि खासाबाट सुन झिकाउन र काठमाडौंमा बेच्न थालेपछि मार्केटमा चर्चित भए । खर्च कटाई बचत भएको रकमबाट हामीलाई ६० प्रतिशत मुनाफा दिनुस्, तपाईं ४० प्रतिशत लिनुस् भनी सामूहिक रूपमा विदेशी मुद्रा बटुलेर ती पसलेले सरियाहरूलाई दिएपछि यो कारोबारमा भारतीयहरू समेत जोडिन थाले । यिनीहरूको सम्पर्क बढ्दै जाँदा भारतबाट डलर लगायतका विदेशी मुद्रा नियमित रूपमा आउन थाल्यो । त्यही ताका खासाबाट ठूलो मात्रामा इधर उधर गर्ने कांग्रेस नेता मोहन बस्नेतसँग पनि यिनीहरूको सम्पर्क बढ्दै गयो । एकताका पिपुल्स फाइनान्समा डुबेका छविलाल भुषालको यिनी साझेदार थिए । मोहन बस्नेतमार्फत् नेता–कर्मचारी, प्रहरी, पत्रकार र अन्य सरकारी निकायमा पहुँच पुगेपछि जस्तोसुकै कार्य गर्न पछि परेनन् । २०८१ चैत ५ गते कुसाङ लामाले चलाएको ट्रकबाट केरुङ लाँदै गरेको २५ करोड विदेशी मुन्द्रा समातिएर के भो ! कैदमा बस्न परे वार्षिक ४० लाख पाउने आन्तरिक समझदारी छँदैछ । समातिएको मान्छेले समूहको नाम पोले उसको जम्मा रकम सबै जफत गरिने हुँदा आफैंलाई मालको धनी मै हुँ भनी घोषणा गर्ने चलनै छ । 

गोविन्द सरिया (९८५१०२०९८५) सरिया परिवारको कारोबार सम्हाल्ने मुख्य व्यक्ति हुन् । गोविन्दले अह्राएअनुसार दाजु धनपतले छोरा अरुण र त्यसैगरी कान्छाभाइ प्रदीपलाई परिचालन गर्ने हुन् । प्रदीपलाई घुमफिर र व्यापार गर्न रोक लगाएर कुनै गोप्य ठाउँमा राखी त्यहींबाट हुन्डी, विदेशी मुद्रा संकलन र बच्चुजस्ता भरपर्दा पार्टनरलाई बोलाई सामान दिने गर्दछन् । ठाउँ पनि सारिरहेका हुन्छन् । गोविन्दले घरैबाट केही काम गर्ने हुँदा श्रीमती र भाउजूसमेतलाई केही हदसम्म उक्त लेनदेनमा संलग्न हुनेहरूबारे जानकारी छ । घरका महिलालाई पठाएर सामान ल्याउने र बाहिरै गएर हस्तान्तरण गर्ने हुँदा कारोबारबारे थाहा हुने नै भयो । गोविन्दको अफिसमा एकाउन्ट हेर्नेलाई सबै जानकारी छ । हाल रसुवा नाकातर्फ पुलिस र भन्सारमा चिनजानका मान्छे पठाउने काम सांसद शंकर भण्डारीको जिम्मामा छ । काठमाडौं जिल्लाका एसपी र एसएसपीलाई मासिक दिने काम बच्चु वा गोविन्दले गर्दछन् । सो रकम माथिसम्म पुग्छ । तस्करीकै पैसाबाट सरियाहरूले झापामा चियाबगान, खाद्य पदार्थ प्रशोधन, मीटरब्याजमा पैसा र हुन्डी कारोबार हङकङ, सिंगापुर, दुबई, लण्डन, अमेरिकासम्म भुक्तानी दिलाई भारतीयहरूलाई काठमाडौंबाट सुन सप्लाई गर्दछन् । सरकारी सेवामा रहेका सयौं मानिसको विदेशस्थित आफन्तका नाउँमा यिनले लगानी र घरजग्गा पनि किनिदिने गर्दछन् । गिरोहले सबै प्रकारका गैरकानुनी काम अर्कैको नाममा सिम कार्ड लिई प्रयोग गर्ने गरेको देखिन्छ । यसरी प्रत्येक पटक विदेशी मुद्रा तिब्बततिर पठाउँदा विभिन्न व्यक्तिबाट १ करोडदेखि ५ करोडसम्म लगानीको पोको बनाई गाडीमा राखिन्छ । तिनमा नाम लेखिएको हुँदैन ।

गन्तव्यमा यति रकमको पोको यो व्यक्तिको हो भन्ने अग्रिम सूचना पुगिसक्ने हुँदा त्यसरी नै सम्बन्धित व्यक्तिलाई बुझाइन्छ । १५–२० पोका बरामद भएमा त्यति जनाकै संलग्नता रहेछ भनी  बुझ्नुपर्ने हुन्छ । पौडेल बन्धुहरू छ्याकन खाएर सम्पन्न भइसकेका छन् । उनीहरूको हाइड्रोपावर कम्पनी चलेको वर्षौं भयो । ठूलो लटको विदेशी मुद्रा निकासी वा सुन पैठारी हुँदाका बखत सरिया बन्धुहरू सबैसँग सम्पर्क विहिन भई बस्ने गर्दछन् या अन्यत्र पुगेका हुन्छन् । काम फत्ये भएपछि मात्र काठमाडौं आइपुग्ने हुन् । सरियाहरूको अन्य काम ओजिएलमार्फत् बाणिज्य विभागबाट आयात लाइसेन्स लिई विदेशबाट सुपारी, मरिच, ल्वाङ, मखना, ज्वेलरी, कृषि सामग्री, ठूलो परिणाममा पैठारी गरी नेपाली उत्पादनको नाममा प्रमाणपत्र बनाएर काकडभिट्टा नाकादेखि वीरगञ्ज भएर भारत निकासी गर्ने हो । आफ्ना मान्छेहरू फस्दासमेत यिनीहरूको राजनीतिक सम्पर्कले गर्दा मुद्दा कमजोर बनाई चाँडोभन्दा चाँडो छुटाउने गरेकै छन् । हिजोआज तस्करका ५ तारे होटलमा हुने पार्टीहरूमा माथिल्लो दर्जाका राष्ट्रसेवकहरू बढी नै देखिन्छन् । परराष्ट्र मन्त्रीहरूले २–४ करोडसम्म कोशेली लिई यिनैलाई छानीछानी विभिन्न देशका निम्ति अवैतनिक बाणिज्यदूत नियुक्त गर्दा तिनको स्टेटस बढेकाले उच्च निकायमा पहुँच राख्न र जस्ता मुद्दामा फसे पनि सहजै निस्कन सजिलो भएको छ । गोविन्द सरियाको बंगालको सीलगुडीमा आफ्नै अफिस छ ।

कलकत्ताको काम साला सुरेशले सम्हालेका छन् । तिनै सुरेशले तेस्रो देशबाट आयातित सामान कन्टेनरबाट झीकी पुराना भारतीय सामान हालेर नेपाल पठाउने गरेका छन् । दिल्ली जाँदा आफ्नै फ्ल्याटमा बस्दछ्न् । त्यहाँबाट पनि अवैध कारोबार हुन्छ । गोविन्द र उनको परिवारको राम्रोसँग अनुसन्धान गरे नेपालको अवैध विदेशी मुद्राको कारोबार र सुन तस्करीमा ३०–३२ प्रतिशत संलग्नता भेटिनेमा कुनै शंका छैन । शिवम् सिमेन्टका सुरेश गोयल र महेन्द्र मुन्दडा, शिवरतन सारडा पनि एक नम्बरका हुण्डी कारोबारी हुन् । यिनीहरूले ३–४ करोडभन्दा मुनीका काममा हातै हाल्दैनन् । गोविन्द सरिया, छोरा दिनेश सरिया र बच्चु पौडेलको कठालो राम्ररी समात्न सके सबै खुलेर जान्छ तर त्यस्तो आँटिलो काम गर्ने राष्ट्रसेवक पाउन गाह्रो छ । ओलीको सुशासन त झापा बिरिङ खोलामै बगिसकेको छ । 

– दिनेश सत्याल, राष्ट्रभक्त नेपाली नागरिक

 

टिप्पणीहरू