वाईसीएलकाे रडाकाे सल्टिँदै
नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएलले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चुन्ने भएको छ । झण्डै एक हप्ताको प्रयासपछि पुष्प ओली नै अध्यक्ष बन्ने पक्का देखिन्छ ।
अध्यक्षमा ओली, केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, कर्म पुलामीसहित नौ जनाले दावी गरेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबीचमा नेताहरुलाई दुई पटक खुमलटार बोलाएर सहमतिबाटै नयाँ नेतृत्व चयन गर्न निर्देशन दिए पनि अध्यक्षको दाबीबाट पछि हटेका थिएनन् । अन्ततः पार्टी उपमहासचिव शक्ति बस्नेत र संगठन इञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले पाँच दिनपछि सहमतिको वातावरण तयार पारेका हुन् । अहिले अन्य पदाधिकारीको टुंगो लगाउने काम भइरहेको बुझिएको छ ।
एक नेताका अनुसार पदाधिकारी व्यवस्थापन पनि निकै सकस देखिएको छ । ती नेता भन्छन्, ‘हामीले अस्ति ३५ पदाधिकारी रहने त भन्यौँ, तर सर्वसम्मत ढंगबाट अघि बढ्दा नेताहरुलाई मिलाउनकै लागि भए पनि विधान संशोधन गर्नुपर्ने देखिन्छ’ । ती नेताका अनुसार पदाधिकारीको संख्या ३५ बाट ५१ पुर्याउने वाईसीएलको तयारी छ । यद्यपि, निर्णय भने भइसकेको छैन ।
सम्मेलनस्थलबाट अर्का नेताले पनि अब निर्वाचन नहुने पक्का भएको बताए । उनले भने, ‘अब निर्वाचन नहुने पक्का भयो । अध्यक्ष र महासचिवमा सहमति जुटिसकेको छ, बाँकी पदाधिकारीमा सहमति जुटेपछि औपचारिक घोषणा हुन्छ ।’
जेठ १८ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलनमा झण्डै १६ सय प्रतिनिधि सहभागी छन् ।
टिप्पणीहरू