शहरी विकास मन्त्रालयमा ३२ अर्ब चलखेल भएको पूर्व अर्थमन्त्रीको दाबी

शहरी विकास मन्त्रालयमा ३२ अर्ब चलखेल भएको पूर्व अर्थमन्त्रीको दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखेको बताएका छन् । 

सरकारले ३ करोडभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखिएको दाबी गरिरहँदा पुनको यस्तो भनाई आएको हो । शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना पनि रहेको पाइएको उनले बताए । 

शहरी विकास मन्त्रालयको विनियोजित बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ । यो कुल बजेटको ६.०३ प्रतिशत हो । मन्त्रालयको आगामी बजेट चालु वर्ष २०८१-८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाखको बजेट विनियोजन गरेको थियो । 

बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेको पूर्वअर्थमन्त्री पुनले दाबी गरे । शहरी विकास मन्त्रालय एउटैमा मात्रै पनि ३२ अर्ब चलखेल भएको देखिने उनले बताएका छन् । योजनाहरु आफूखुशी राखेको स्पष्ट देखिएको पनि उनको भनाइ छ ।

 
‘यस पटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने’, पुनले भने, ‘मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरु रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यि दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन । १७ हजारबाट कटाएको छैन । सशर्तमा झन अरु अरुतिर सारेको देखिन्छ ।’

बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको जनाउँदै उनले संविधान जारी भएपछि माओवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको पनि खुलाए ।

टिप्पणीहरू