विश्वकप लिग-२ : नेपाल स्कटल्यान्डसँग पराजित

विश्वकप लिग-२ : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित हुँदै नेपालले सिरिजमा पहिलो हार बेहोरेको छ ।

जितको लागि ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय २१ रनमात्र बनाउन सक्यो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेले । भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे । शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए ।

त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे । उनले  सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे । सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए ।

स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिँदा शफिया शरिफ र माइकल लिस्कले २/२ विकेट लिए । त्यसैगरी ब्रान्डन म्याकमुलेन र चार्ली कासेलको नाममा समान १–१ विकेट रह्यो । 

यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक १ सय २ रन बनाए । माइलक लिस्कले ६२ बलमा १२ चौका र तीन छक्कासहित  ९६ रनमा अविजित रहे । यसैगरी चार्ली टियरले ६८, मार्क वाटले २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए ।

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई लिँदा ललितनारायण राजवंशीले एक विकेट लिए ।

टिप्पणीहरू