किन सफल भयो युवा कर्णेलको ‘कू’ ?

अहिले पुनः बुर्किना फासो अन्तर्राष्ट्रिय रूपमा चर्चित छ । सैन्य शासन, आतंकवाद, चरम हिंसा, मानवअधिकार उल्लंघन र विदेशी कूटनीतिक सन्तुलनका कारण समग्रमा यो देशले बहुआयामिक संकटको सामना गर्दैछ । यी समस्याबाट मुक्त हुने कुराले राष्ट्रप्रमुख राष्ट्रपति इब्राहिम ट्राओरेसँग जोडिएको छ । फ्रान्सेली प्रभाव हटाउने, रूससँग सहकार्य गर्ने, र क्षेत्रीय सहयोगलाई नयाँ ढाँचामा विकास गर्ने ट्राओरेका कदमहरूले बुर्किना फासोको भविष्य तय गर्ने छ ।
११औं शताब्दीदेखि यहाँ मोस्सी साम्राज्य रहँदै आयो । उनीहरूले सैन्य शक्ति, प्रशासकीय संरचना र परम्परागत नेतृत्व प्रणालीमा आधारित शासन गरे । तर फ्रेञ्च उपनिवेशवादले १८९६ मा मोस्सी साम्राज्यलाई हराएर उक्त क्षेत्र आफ्नो अधीनमा लियो र ‘फ्रेञ्च अपर भोल्टा’को नाममा शासन ग¥यो । सन् १९६० मा देशले स्वतन्त्रता पाएसँगै मौरिस यामेओगो पहिलो राष्ट्रपति बने । तर सैन्य शासन, भ्रष्टाचार र राजनीतिक अस्थिरताका कारण देश दीर्घकालीन समस्यामा फस्यो । सन् १९८३ मा थोमस सांकाराले सत्ता सम्हाले । उनले राष्ट्रियकरण, महिला अधिकार, शिक्षा, स्वास्थ्य र किसान सुधारजस्ता ऐतिहासिक निर्णय गरे । उनले नै हो सन् १९८४ मा देशको नाम ‘अपर भोल्टा’बाट ‘बुर्किना फासो’ राखेको । बुर्किना फासो दुई फरक अफ्रिकी भाषाबाट बनेको हो । यसको अर्थ हुन्छ– ‘इमानदार मानिसको देश’ वा ‘निष्ठावान् जनताको मातृभूमि’ । ‘बुर्किना’ मुरे भाषाबाट आएको हो, जुन सबैभन्दा ठूलो जातीय समूह मोसी समुदायद्वारा बोलिन्छ । मुरे भाषामा ‘बुर्किना’ को अर्थ ‘इमानदार,’ ‘सच्चा’ वा ‘निष्ठावान्’ हुन्छ । दोस्रो भाग ‘फासो’ भने डिउला भाषाबाट आएको हो, जसको अर्थ ‘पितृभूमि’ वा ‘मातृभूमि’ हुन्छ ।
सांकारालाई ‘अफ्रिकी चेग्वेभेरा’को प्रतीकका रूपमा सम्मान गरिन्छ । १९८७ मा सांकाराका सहयोगी ब्लेज कम्पाओरेले उनलाई सैनिक कू गरेर सत्ता हत्याए । र, २७ वर्षसम्म शासन गरे । २०१४ मा संविधान संशोधन गरी सत्ता लम्ब्याउन खोजेपछि जनविद्रोहका कारण टिक्न सकेनन् । त्यसपछि देशमा अस्थिरता बढ्दै गयो । सन् २०१५ मा लोकतान्त्रिक विधिबाट राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेले सत्ता सम्हाले । तर उनले सुरक्षा अवस्था सुधार्न नसकेको आरोपमा सन् २०२२ को जनवरीमा सेनाले कू गर्यो । कुको नेतृत्व लेफ्टिनेन्ट कर्णेल पा’ल–हेन्री डामिबाले गरे । तर उनको शासनले पनि अपेक्षित सुधार ल्याउन नसकेको भन्दै सेप्टेम्बर २०२२ मा पुनः अर्को सैनिक कू भयो, र यसपटक सत्ता कप्तान इब्राहिम ट्राओरेले सम्हाले ।
इब्राहिम ट्राओरेको जन्म सन् १९८८ मा कोडौगू भन्ने स्थानमा भएको हो । कोडौगू राजधानी औगाडोगूबाट लगभग १०० किलोमिटर पश्चिममा पर्छ । यो बुर्किना फासोका महत्वपूर्ण शहरमध्ये एक हो । सांस्कृतिक र व्यापारिक दृष्टिले महŒवपूर्ण मानिन्छ । उनले औगाडोगू विश्वविद्यालयबाट भूगर्भशास्त्र (नभययिनथ) अध्ययन गरेका छन् । विश्वविद्यालय जीवनमा उनी वामपन्थी विद्यार्थी आन्दोलनमा सक्रिय थिए । सन् २००९ देखि सैनिक सेवा शुरु गरे । आतंकवादविरोधी अभियानमा सक्रिय रहेपछि सेनामा राम्रो प्रतिष्ठा प्राप्त भयो । ३४ वर्षको उमेरमा सत्ता सम्हालेदेखि विश्वकै सबैभन्दा कान्छा राष्ट्रपतिको रूपमा चर्चित छन् । उनको विचार थोमस सांकारासँग मिल्दोजुल्दो छ । राष्ट्रवाद, आत्मनिर्भरता, भ्रष्टाचारविरोधी अभियान, विदेशी हस्तक्षेपको विरोध र प्यान–अफ्रिकन एकता । ट्राओरेले सामाजिक सञ्जालमा निकै प्रभावशाली उपस्थिति बनाएका छन् र युवामाझ लोकप्रिय छन् ।
बुर्किना फासो पश्चिम अफ्रिकाको भूपरिवेष्ठित राष्ट्र हो । यसको क्षेत्रफल करिब २,७४,२०० वर्ग किलोमिटर छ र जनसंख्या २ करोड २० लाखभन्दा बढी (२०२३ को अनुमानअनुसार) छ । बुर्किना फासोमा करिब ६० जातीय समूह छन्, जसमा मोस्सी (४०%) सहित फुलानी, गुरुन्सी, बिसा, र लोबी प्रमुख छन् । करिब ६०% मुस्लिम, २५% क्रिश्चियन (प्रोटेस्टेन्ट र क्याथोलिक), बाँकी परम्परागत धर्मको अनुयायी छन् । प्रत्येक दुई वर्षमा आयोजना हुने अफ्रिकन फिल्म एन्ड टेलिभिजन फेस्टिबल अफ उआगाडुगुु अफ्रिकाको सबैभन्दा ठूलो चलचित्र महोत्सव हो, जसले बुर्किना फासोलाई ‘अफ्रिकन सिनेमा’को राजधानीका रूपमा चिनाएको छ ।
राष्ट्रपति ट्राओरेको सरकारले वैदेशिक नीतिमा नाटकीय परिवर्तन गरेको छ । फ्रान्ससँगको ऐतिहासिक सैन्य सम्बन्ध अन्त्य गर्दै, फ्रान्सेली सेनालाई देशबाट निकालेर रूससँग सुरक्षा सहकार्य बढाएका छन् । यस परिवर्तनले अफ्रिकामा चलिरहेको भूराजनीतिक प्रतिस्पर्धालाई थप चर्काएको छ ।
सन् २०२४ को जनवरीमा बुर्किना फासो, माली र नाइजरले संयुक्त रूपमा पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायबाट अलग्गिने घोषणा गरे र अलायन्स अफ सहेल स्टेट्स नामक नयाँ क्षेत्रीय गठबन्धन स्थापना गरेबाट पश्चिम अफ्रिकी राजनीतिक संरचनामा ठूलो परिवर्तन आएको छ । इकोवासको चेतावनी र प्रतिबन्धहरूलाई चुनौती दिँदै तीनै देश सैनिक शासनको मार्गमा अघि बढिरहेका छन्, जुन अन्तर्राष्ट्रिय स्थायित्वको दृष्टिकोणले गम्भीर चुनौती हो ।
ट्राओरे सरकारमाथि प्रेस स्वतन्त्रता हनन, राजनीतिक विरोध दमन, र मानवअधिकार उल्लंघनको आरोप पनि लागिरहेको छ । धेरै पत्रकारहरूलाई गिरफ्तार गरिएको छ र केही विदेशी सञ्चारमाध्यम प्रतिबन्धित भएका छन् । बुर्किना फासो पश्चिम अफ्रिकाको सबैभन्दा हिंसाग्रस्त देशमध्ये पर्छ । अल–कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित आतंककारी समूहले उत्तरी र पूर्वी भागमा निरन्तर हमला गरिरहेका छन् । २०२३ को अन्त्यसम्म देशभर २० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् । धेरै विद्यालय, अस्पताल र बजार बन्द छन् । हजारौं नागरिक मारिएका छन् । ट्राओरे सरकारले स्थानीय नागरिक स्वयंसेवक (भिडिपी) बनाएर सेनालाई सहयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी संयुक्त राष्ट्रसंघ, फ्रान्स र इकोवासले बुर्किना फासोको सैन्य शासन र मानव अधिकारको स्थितिप्रति चिन्ता व्यक्त गरेका छन् ।
बुर्किना फासो अफ्रिकाको गरिब र विकासोन्मुख देश हो । जसको अर्थतन्त्र मुख्यतः कृषि र खनिज उत्खननमा आधारित छ । करिब ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर छन् । जिडीपीमा सबैभन्दा ठूलो योगदान खनिज क्षेत्रबाट आउने गर्छ । विशेष गरी सुन प्रमुख निर्यात हुने वस्तु हो । बुर्किना फासो पश्चिम अफ्रिकाका शीर्ष ५ सुन उत्पादकहरूमध्ये पर्छ । सुनपछि जस्ता र म्याङ्गानिज अन्य महत्वपूर्ण खनिज हुन् । हालसालै तामा र लिथियमजस्ता खनिजहरूको खोज र उत्खननमा पनि चासो बढेको छ । जसले आर्थिक सम्भावना बढाएको छ ।
उत्पादन क्षमता सुधारका लागि, सरकारले कृषकलाई नयाँ प्रविधि र पुँजी उपलब्ध गराउने काम गर्दैछ । सस्तो ऋण र कृषि उत्पादनको बजारमा पहुँच सुधार गर्न विभिन्न योजना लागू गरिएको छ । ग्रामीण क्षेत्रका लागि शिक्षा र सीप विकासमा लगानी गरिरहेको छ । महँगी नियन्त्रणमा राख्नका लागि विभिन्न उपाय अपनाइएको छ । स्वदेशमा बेरोजगारीको संख्या वृद्धि भएको कारण बुर्किना फासोका नागरिक विदेश जाने गरेका छन् । तिनीहरू प्रायः पश्चिमी अफ्रिकाका अन्य देश, खाडी मुलुक जस्तैः साउदी अरेबिया, कतार, युएई, र युरोपतिर जान्छन् । विदेश जाने क्रम बढेसँगै सरकारले सन् २००० देखि दोहोरो नागरिकताको नीति अवलम्बन गरेको छ ।
क्याप्टेन इब्राहिम ट्राओरेलाई पनि सत्ताबाट हटाउने प्रयास नगरिएको होइन । यो षड्यन्त्र २०२५ अप्रिल १६ मा राष्ट्रपति निवासमा आक्रमण गर्ने योजनासहितको थियो । जसमा केही पूर्वसैनिक र आतंकवादी समूह संलग्न थिए । षड्यन्त्रकारीहरूले छिमेकी देश आइभोरी कोस्टमा बसेर योजना बनाएको बताइएको छ । पूर्व सैनिकहरू षड्यन्त्रको मास्टरमाइन्डका रूपमा जोआनी कम्पाओरे र लेफ्टिनेन्ट अब्द्रामाने बारी ठह¥याइएका छन् । केही सैनिक अधिकारीलाई पक्राउ गरिएको छ । यस घटनापछि राजधानी उआगाडुगुमा हजारौं नागरिकले राष्ट्रपति ट्राओरेको समर्थनमा प्रदर्शन गरेका छन् ।
टिप्पणीहरू