अहमदावाद विमान दुर्घटना : सय भन्दा बढीको मृत्यु, पूर्व मुख्यमन्त्रीको अवस्था अज्ञात

अहमदावाद विमान दुर्घटना : सय भन्दा बढीको मृत्यु,  पूर्व मुख्यमन्त्रीको अवस्था अज्ञात

भारतको अहमदावादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विमान दुर्घटनामा कम्तिमा सय जनाको ज्यान गएको छ । 

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार विमानमा सवार २४२ यात्रुमध्ये सयभन्दा बढीको शव निकालिएको छ भने उद्धारमा खटिएका सुरक्षाकर्मीले शव निकालिरहेका छन् । विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार थिए । तर, उनको अवस्थाबारे केही जानकारी नआएको समाचारमा जनाइएको छ । 

आज दिउँसो लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको दुई मिनेटमै दुर्घटनामा परेको थियो । एअर इन्डियाले भनेको छ कि उडान नम्बर एआइ १७१ को जहाज अहमदाबादबाट लन्डनको ग्याटविक जाँदै थियो, जसमा २४२ यात्रु र चालक दलका सदस्य सवार थिए । 

जहाजमा १६९ भारतीय, ५३ बेलायती, एक क्यानेडियन र सात पोर्चुगिज नागरिकहरू रहेको जनाइएको छ । दुर्घटनामा हताहतीको यकीन विवरण र औपचारिक जानकारी भने सार्वजनिक भैसकेको छैन ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिँदै गरेका दृश्य सामाजिक सञ्जाल एक्स्मा आएको छ । एअर इन्डियाले थप जानकारी प्रदान गर्न यात्रु हटलाइन नम्बर १८०० ५६९१ ४४४ पनि स्थापना गरेको जानकारी दिएको छ । 

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी दुर्घटनास्थल पुगेका छन् । उनले तत्काल उद्धार र राहत कार्यको आदेश दिएको नवभारत टाइम्सले जनाएको छ । नागरिक उड्डयन मन्त्री राम मोहन नायडू पनि अहमदाबाद जाँदै गरेको बताइएको छ ।

एअर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन् । दुर्घटनालगत्तै उनले सन्देश जारी गर्दै शोक व्यक्त गरेका हुन् । उनको सन्देशलाई टाटा कम्पनीको आधिकारिक समाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको छ । एअर इन्डिया टाटा ग्रुप अन्तर्गतको कम्पनी हो । 

विमान दुर्घटनापछि विमानस्थल पूर्णरुपमा बन्द गरिएको छ ।

टिप्पणीहरू