अघोषित लोडसेडिङप्रति एमाले नेता आक्रोशित

अघोषित लोडसेडिङप्रति एमाले नेता आक्रोशित

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यमाथि सत्ता गठबन्धनका नेताहरुले प्रश्न गर्न थालेका छन् । कुलमान घिसिङलाई फालेर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष रोजाईमा प्राधिकरणको नेतृत्वमा लगिएका शाक्यले अघोषित लोडसेडिङ गरेको भन्दै  आमरुपमा आलोचना भैरहँदा नेपाली कांग्रेस र एमालेका केही प्रभावशाली नेताले पनि प्रश्न तेर्स्याएका हुन् । 

प्रधानमन्त्रीको दल एमालेका एक नेता खिमलाल भट्टराईले झ्याप झ्याप बत्ती गैरहेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि प्रकट गरेका छन् । पूर्व सांसदसमेत रहेका उनले तराईमा गर्मी अत्याधिक बढेको, तर बिजुली नहुँदा नागरिकको जीवन कष्टकर बन्दै गएकोप्रति प्राधिकरणको ध्यानाकर्षण पनि गराए । तत्काल बिजुली सुनिश्चित गर्न उनको माग छ । 

‘तराईमा बिजुली नकाटिने ग्यारेन्टी गर, हिजोआज ४० डिग्री सेल्सियस वरिपरि तापक्रम चलिरहेको छ’, भट्टराईले सञ्जालमा लेखेका छन्, ‘गर्मीले जनताको जीवन असाध्यै कष्टकर बनिरहेको छ, पटकपटक बिजुली काटिंदा जनतालाई कष्ट भयो, विद्युत प्राधिकरणका पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण होस् ।’

आजै उनले अर्को स्टाटस लेखेर प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीको अफिसियल फेसबुक अकाउण्टलाई ट्याग गर्दै भनेका छन्, ‘जरुरी हुन्छ भने ३० डिग्री सेल्सियस तापक्रम भएको ठाउँको केही निश्चित समय काटेर भए पनि तराईमा बिजुली देउ ।’

कुलमानको पालामा नदेखिएको समस्या अहिले देखा पर्न थालेको भन्दै नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पनि असन्तुष्टि प्रकट गरेका छन् ।  केही दिनअघि अत्याधिक बिजुली अवरुद्धको कारण अस्पतालहरुको सेवा प्रवाहमा समेत गम्भीर असर परिरहेको भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

‘अस्पतालका इमर्जेन्सी र आइसियु कक्षमा एक सेकेण्ड पनि विद्युत आपुर्ती रोकिदा नागरिकको स्वास्थ्य खतरामा पर्छ, अचेल झ्याप्प झ्याप्प बिजुली जान थालेपछि विद्युत आपूर्तीको लागि वैकल्पिक उपाय अपनाउनुपरेको छ, यसमा प्राधिकरणको नेतृत्व र प्रधानमन्त्रीज्यूको ध्यान पुगोस् भन्ने चाहन्छु’, उनले भनेका थिए । 

मेडिकल व्यसायीसमेत रहेका शर्माले तत्कालीन प्रबन्धक निर्देशक कुलमान घिसिङकाे पालामा थन्काइएका साेलारका ब्याट्री र जेनेरेटरहरू धुलाे पुछ्दै निकाल्नु परिरहेकाे भन्दै वर्तमान सरकार र प्रधानमन्त्रीमाथि कटाक्ष पनि गरे ।

टिप्पणीहरू