म मर्नु कुन ठूलो कुरा भयो र !

म मर्नु कुन ठूलो कुरा भयो र !

साहित्य, संस्कृति, पत्रकारितादेखि खेलकुदसम्म हरेक क्षेत्रमा पहिचान बनाएका बहुमुखी प्रतिभाका धनी हुन् रेशम चौधरी । त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका चौधरीले केही समय थारू भाषाको जोग्नी साहित्यिक पत्रिकामा प्रधानसम्पादक थिए । रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सगरमाथासँग जोडिँदै  बर्दियामा फूलबारी एफएफसमेत चलाए । एउटा लयमा चलिरहेको जीवनमा आँधीबेहरी बनेर आयो टीकापुरको घटना । ०७२ भदौ ७ गते टीकापुरमा दूधे बालकसहित सात सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनालाई प्रोत्साहन गरेको भन्दै प्रहरीको खोजीमा परेपछि केही समय भूमिगत रहेर साढे आठ वर्ष कारागारमा थुनिए । ०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाई जेलमुक्त भए । आममाफी मिलेन भन्दै हालिएको मुद्दा अदालतमा विचाराधीन छ र अर्काे महिनालाई पेशी तोकिएको छ । चौधरीले जेलमै रहेको वेला नयाँ पार्टीको विधान र घोषणापत्र लेखे । बुबा लालवीर र श्रीमती रञ्जितालाई संसदमा पु¥याए । कारागारभित्रै हुँदा लेखिएका १३ मध्ये ७ पुस्तक प्रकाशित छन् । ३ सय वटा राष्ट्रिय गीतका सर्जक, कमैया चलचित्रको निर्माता, सयौं म्युजिक भिडियो निर्देशन गरेका चौधरी आफ्नो कलालाई राज्यले चिन्न नसकेको र उल्टै प्रतिशोध साँध्ने काम भएको भन्दै पीडा पोख्छन् । 

– हरि गजुरेल 

 ० वैशाख १७ गते नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता हुनै लाग्दा सर्वाेच्च अदालतका शाखा अधिकृतकै पत्रको आधारमा तपाईंलाई जेल लानमा ‘पर्दापछाडि’ अरू कोही पात्र संलग्न छन् कि उनी एक्लै हुन् ? 

– देशका धेरै बुद्धिजीवी, राजनीतिक विश्लेषक, अवकाशप्राप्त कर्मचारी, सुरक्षाकर्मीले पनि एउटा अधिकृतको सनककै भरमा यत्रो घटना भयो होला भनेका छैनन् । गृहमन्त्रीले संसदको रोष्ट्रमबाट आश्चर्यजनक घटना भन्ने जवाफ दिएका छन्् । एउटा पार्टीको संरक्षक र सरकारी बसिरहेको गठबन्धनको नेतालाई मुखमा पट्टी बाँधेर, हेल्मेट लगाएर लछार पछार गर्दै, पक्राउ पुर्जीबिना कारागार लगिएको घटनाको राज्यले निष्पक्ष छानबिन गर्नुपर्ने कि नपर्ने ? सोही दिन सम्मानित न्यायालयले महिमानसिंहका नामबाट जारी भएको पत्र फर्जी हो भनेर तत्कालै एक्सन लियो । उनलाई निलम्बनसमेत गरिएको छ । यसमा न्यायालयप्रति आभार प्रकट गर्न चाहन्छु । हिजोदेखि नै प्रतिशोधको भुंग्रोमा हालेका थिए, फेरि पनि हाल्छन् होला भन्ने थियो । यो षड्यन्त्रका कारण एक हप्ता विक्षिप्त भएँ । पाँच घण्टा अगाडिसम्म मसँग सुरक्षाकर्मी थिए । डिल्लीबजारबाट निस्कँदा सुरक्षाकर्मी खोसिएछ । यसले गर्दा र यस्ता घटनाक्रमले म जतिबेला पनि असुरक्षित छु जस्तो लागेको छ । जिल्ला अदालतले एक लाख धरौटीमा छाड्ने निर्णयविरुद्ध उच्च अदालत गएको छु । यद्यपि, बिष्टलाई थाहा छ, एक जना मान्छेले विश्वासै नगर्ने पात्रलाई खेदेर केही हुँदैन । जेलबाट छुटेपछि महिमानलाई भेट्न प्रहरी परिसर पुगेँ । तर, भेट्न दिइएन । टीकापुर प्रकरणबारे उहाँले एकांकी ढंगले बुझ्नुभएको छ भन्ने लाग्छ । म महिमानको केसलाई उछालेर फेरि थारू र राज्यबीच दरार ल्याउन चाहन्न । अचेल लाग्छ, यो खल्तीमा भएको नागरिकता मेरो हो वा अरुकै ? यो नागरिकताले म नेपाली हुनुको पुष्टि गर्छ कि गर्दैन ? यो देशको कानुनले मलाई समानान्तर न्याय प्रणालीमा लान्छ कि लाँदैन ? हिमाल सिद्धियो, पहाड रित्तियो, तराईका घरमा कोही बित्दा मान्छे पोल्ने युवा छैनन् । घर भताभुंग छ । तर राज्यको दृष्टि कता छ ?  

० वैशाख १७ को घटनापछि डा. सिके राउतसँग भेटघाट त परको कुरा टेलिफोन संवादै हुन सकेन भन्ने सुनिन्छ, के हो वास्तविकता ? 

– यो एकताको पहल उहाँले नै गर्नुभएको हो । पटक–पटक वार्तापछि एकताका लागि त्यो दिनको मिति तय भएको थियो । सोही दिनको अनपेक्षित घटनापछि आजसम्म हामीबीच कुनै संवाद भएको छैन । भनिन्छ नि, थारो गाईले दूध दिँदैन भने त्यसको पछाडि लाग्नु हँुदैन । 

० प्रदीपजंग पाण्डेले भ्रष्टाचार मुद्दामा राष्ट्रपतिबाट आममाफी पाए । तपाईं आफैँ टीकापुरमा भीड्न गएको होइन तर राज्यको तर्फबाट घटना मिलाउन जाँदा साढे ८ वर्ष जेल बस्नुभयो । फूलबारी एफएम डढ्यो । ती दिन सम्झँदा कस्तो लाग्छ ?

– टीकापुर प्रकरणमा टेकबहादुर साउद, जो बाल शहीद हुन्, उनको शालिक व्यक्तिगत खर्चमा निर्माण गरेको छु । अन्य सात सुरक्षाकर्मीको शालिक बनाउँदै छु । त्यहाँ दुबै पक्ष पीडित छन् । सुरक्षाकर्मीलाई तिमीहरूका श्रीमान, बालबच्चा मारिए भनेर अलग्याउने काम गरिएको छ भने राजबन्दीलाई तिमीहरू निर्दाेष छौ, फसाइयो भनेर दुई पक्षलाई अलग्याउने काम भएको छ । यो घटनाको छानबिनका लागि माननीय न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन भयो । सर्वाेच्चले प्रतिवेदन सार्वजनिक गर्न आदेश दियो तर राज्यले पालना गर्दैन । फौजदारी कार्यविधि संहिता न्यायमूर्तिहरूले बनाएका हुन्, मैले होइन । वारदात स्थलमै नभएकोलाई कांग्रेस सभापति शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टले आग्रह गरेको हुँदा धनगढी गएको हुँ । त्यस क्रममा अखण्ड सुदूरपश्चिम र थरुहटको वार्ता मिलाउने प्रयास गरेँ । प्रमुख जिल्ला अधिकारीको आतिथ्यमा बसँे । माननीय झपट रावलसँगै सुतेँ । बिहान एसपी वीरेन्द्र बस्यालको मेसमा खाना खाएर टीकापुर गएँ । त्यहाँ भाँड्ने, उक्साउने तत्व यी–यी हुन्, उनीहरूलाई यसरी नियन्त्रण गर्नुहोस् भन्दाभन्दै सुरक्षाकर्मीको गाडीमा बर्दिया बसेको मान्छेलाई साढे आठ वर्ष प्रवास र देशको कारागारमा राख्ने काम भयो । र, आज पनि हत्याराको पगरी गुथाइँदै छ । पूर्वमाननीयले न्याय पाउँदैन भने कसले पाउँछ यहाँ न्याय ? जसको सदनमा श्रीमती र पिताको उपस्थिति छ, सदनबाट कुर्लंदा–कुर्लंदा, प्रधानमन्त्री, गृहमन्त्रीको टेबलमा बस्दाबस्दै न्याय पाइँदैन भने न्याय कसले पाउँछ ? सिंह, बाघ भयभीत भयो भने के हुन्छ ? अहिले बर्दियामा दैनिक बाघले मान्छे मारिरहेको छ । चरिचरन नपाएर होइन कि भयभीत भएका कारण । अहिले त्यहाँ मान्छे र पशुको द्वन्द्व चलिरहेको छ । म मर्नु ठूलो कुरा होइन । मेरो मृत्युलाई जब समुदायले आक्रमणको रूपमा बुझ्छ । त्यसपछि उत्पन्न अवस्थाको व्याख्या कसले गर्छ ? 

० साढे आठ वर्ष कसरी जेल जीवन बिताउनुभयो ? 

– त्यही जेल जीवनमा मेरो हातमा हतकडी र खुट्टामा २१ किलोको नेल लाग्यो । नियमावलीअनुसार एक जना माननीयलाई थुन्न सभामुखसँग राज्यले अनुमति लिनुपर्छ । शपथ खुवाइएलगत्तै मलाई डिल्लीबजार कारागार पु¥याइएको छ । त्यही बेला जनता समाजवादी पार्टी विभाजनमा जान्छ । निर्वाचन आयोगले बोलाएर कसको पक्षमा उभिनुहुन्छ भनेर सोध्दा म तटस्थ बस्ने निर्णय गर्छु । आयोगले पक्ष–विपक्षमा हस्ताक्षर गर्ने वा नगर्ने भनेर सोध्छ तर राष्ट्रपतिबाट विशेष आममाफी पाएको व्यक्तिले गरेको महाअधिवेशन आफ्नै नियमावली मिचेर गलत भन्छ । १९६ जनाको कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिँदैन । एकपछि अर्काे प्रतिशोधको राजनीतिले डुब्ने कालान्तरमा आफैँ हो । मसँग त्यस्तो अकल्पनीय क्षमता त छैन तर राज्यले सदुपयोग गरेमा देशको नागरिकले गर्ने कर्तव्य राम्ररी निभाउन सक्छु भन्ने आत्मविश्वास भरपूर छ । 

० जेलमुक्त भएपछि माछापालन र तरकारी खेती कस्तो चल्दै छ ? 

– देश बनाउन केही गर्नुपर्दैन । सीमामा बसेर एपसी र सिडिओले भारतीय तरकारी, माछामासु मात्र रोकिदिने हो भने ७५ प्रतिशत जनता विदेश जाँदैनन् । भारतमा एक घर, एक किसान, एक घर एक ट्र्याक्टर, एक घर एक रोजगारी, एउटा घरमा दुई–चार वटा बाख्रा, २० वटा कुखुरा, बच्चालाई साइकल, विद्यालय पढ्ने छात्रछात्रालाई ल्यापटप दिन्छ । त्यहाँ ६ सय रुपैयाँमा पाइने माछाको दानालाई म ४५ सय तिरेर किनिरहेको छु । उसले डेढ सयमा बेच्छ, मेरो लागतै तीन सय पर्छ । अनि कसरी प्रतिस्पर्धा गर्न सकिन्छ ? 

० हिजो तपाईं र पूर्व प्रधानसेनापति प्रज्वलसमशेरकी पत्नी सिन्धु राणाका धेरै सिर्जना एल्बमका रुपमा आउँथे, श्रोता, दर्शकले रुचाउँथे । जब तपाईं जेल जानुभयो । सिन्धुको सिर्जना पनि एकाएक हरायो । यो कस्तो संयोग हो ? 

– तिनताक म रेडियो सगरमाथामा काम गर्थें र ‘अत्तर त्यो फूलको बास्ना छरेपछि उडिजान्छ’...गीत बजाउँथेँ । सिन्धुकै रचना भन्ने थियो त्यो । त्यहाँ प्रभा अधिकारी हुनुहुन्थ्यो, जर्साबकी श्रीमती । उहाँकै समन्वयमा सिन्धुसँग भेट भयो । सिन्धु बालकृष्ण समकी नातिनी । मलाई पुत्रवत् व्यवहार गर्नुहुन्थ्यो । संकटकालमा एउटा राष्ट्रिय गीत लेख्नुभयो ‘पारि वनमा न्याउली रोयो है, न्याउलीसँग देशै रोयो है, तिम्रो मात्र होइन, मेरो मात्र होइन, यो देश हाम्रो पुर्खाको नासो’ । माओवादी र प्रहरी–सेनाको द्वन्द्व उत्कर्षमा पुगेका बेला श्रीमतीले पीडालाई यो साझा पीडा हो भनेको अत्यन्त शालीन र भद्र लाइन छ त्यसमा । म जेल परेपछि बेलायततिर जानुभयो । जेलबाट छुटेपछि उहाँहरू नेपाल आएको तस्बिर देखेको थिएँ तर भेट भएको छैन । 

० अखिल र पत्रकारिता पृष्ठभूमिमा हुँदा सिर्जनाले भरिएको रेशम अहिले कता हरायो...? 

– अन्तरकुन्तरमा छ तर प्रस्फुटित हुन पाइरहेको छैन । सबैभन्दा धेरै लोककथा लेखेको छु । जेलमा भएका साढे २९ हजार कैदीभन्दा पृथक् हुँ, भन्ने लाग्थ्यो । ०५० सालको कवि सम्मेलनमा प्रथम भएँ । रेडियो नेपालमा काम गर्दा मेरो आवाज सुन्न लालायित हुनेहरू धेरै थिए । कारागारभित्र हुँदा अलि बढी राजनीतिक पाण्डुलिपि लेख्नमा समय खर्चिएँ । अहिले एउटा पार्टीको सिद्धान्त बोकेको पुस्तक निकाल्दै छु । राजनीतिबाट उन्मुक्ति लिँदै राम्रो हुन्छ भन्ने स्थितिमा पुगेको छु तर केही दिनअगाडि मेरी आमा (जो आफैं सिर्जनाले भरिनुभएको छ) सँग राजनीति छोड्ने सल्लाह गर्दा भन्नुभयो, ‘हुन त हुन्थ्यो नि बाबु तर सिंगो, गाउँ समाजले तिमीमाथि ठूलो भरोसा र विश्वास गरेका छन्, अब तिमीले राजनीति छाडेर उन्मुक्ति पाउँदैनौ ।’ मेरो अन्तर मनले भन्छ, यो राजनीतिक बाटो मेरो हुँदै होइन । तर, समयले त्यही बाटोमा हिँडाउन खोजिरहेछ । 

० संस्कृति जगेर्नाका लागि के–के गर्न सकिन्छ ? 

–पूर्वीयाहरू ह्यापी बर्थ डे र ह्याप्पी क्रिसमस डे मनाउँछन् । हामीसँग यति धेरै संस्कृति छ कि यिनको संरक्षण र प्रवद्र्धन गर्ने हो भने संसारभरका प्रोफेसर नेपालमा लाइन लाग्छन् । हाम्रा तन्त्र–मन्त्र राजमोहनी मन्त्र सबै सकिए । दसैँ मान्ने परम्परालाई कसले समाप्त ग¥यो ? यो देशमा धर्म कसले बेच्यो ? के रेशम चौधरीले बेचेको हो ? अमेरिकीको राष्ट्रपतिहरू पोपसँग शपथ खान्छन् । तर, हाम्रा शासकले आफ्नो लामो इतिहास पढ्दै पढेनन् वा पढेर पनि बुझेनन् । त्यसैले सबै संस्कृति सिध्याउँदै छन् । सभ्यता रहे न मानव अस्तित्व रहन्छ । सभ्यता बनेको इतिहास हो । जीवन यात्रा पनि एउटा सभ्यता हो नभए पशु भए भइहाल्यो । मेरो राज्यको विभेद राजनीति मात्र होइन, संस्कृतिमा पनि उस्तै छ । संस्कृतिलाई माया गर्ने एउटा सत्यमोहन जोशीशिवाय मेरो नजर फटिक भएन । मुनामदन खण्डकाव्य लेखिनु राम्रै कुरा हो तर हाम्रो सत्तलसिंह र जुवाको कहानी कहिल्यै लेखिएन । हितुवाको दन्त्य कथालाई कहिल्यै संरक्षण गरिएन । यो बीचमा अनेकन तन्त्र फेरिए, सरकार बन्यो भत्कियो तर थारूका सखियाको मादल बनाइदिने कोही भएन । मलाई राज्यले त्यहाँ प्रयोग गरोस् जहाँबाट देशको संस्कृति जोगिन्छ । म भन्छु रेशम चौधरीलाई संस्कृतिविद् बनाइदेऊ, देशले भन्छ, तँ नेता हो र नेता बन्दै गर्दा पनि ‘बढ्ता बोलिस् भने’ भन्दै कञ्चटमा ताकिरहन्छ । 

० केही समय दिल्ली बस्नुभयो । ज्वाला सिंह, गोइत, रामराजाप्रसाद सिंहहरू पनि त्यतैको संरक्षणमा बसे । दिल्लीले यताका नेतालाई कत्तिको युटिलाइज, मिसयुज गर्दाेरहेछ ? 

– म दिल्ली बस्दा जेएनयुले एउटा कार्यक्रम गरेको थियो जहाँ शम्भु श्रेष्ठ, गोपाल बुढाथोकी, गोपाल झालगायत थियौँ । त्यहाँ जाँदा भएका भेटघाट चिनजानबाहेक मैले कुनै राजनीतिक भेटघाट गरिनँ । बरु प्रचण्डलाई त्यहीँ भेटेको हुँ । सोधेँ, कहिले छुटाउनुहुन्छ ? उहाँले भन्नुभयो– ‘अबको १५ दिनमा छुटाउँछु ।’पछि प्रधानमन्त्री कार्यालयमा मात्रिका यादवले भेट्न लैजानुभयो । प्रचण्डले म प्रवासमा हुँदा अलि–अलि खर्च पठाइदिनुभएको थियो । 

० अहिले श्रीमान्÷श्रीमतीसँगै हो कि छुट्टी भिन्न ? 

– श्रीमती माननीय हुनुहुन्छ, काठमाडौंमा बस्नुभएको छ । छोरो यतै पढ्दै छ । मलाई उहाँको राजनीतिमा दख्खल बन्द गरौँ भन्ने लाग्दैन । पारिवारिक पृष्ठभूमिको लडाइँ हुँदो हो त अंशबण्डामा झगडा पथ्र्याे । यद्यपि, राजनीतिमा एकअर्काेलाई सम्झाउनेसम्म हो । ओलीले भीम रावललाई, शेरबहादुरले शेखरलाई सम्झाउनुभएको होला । प्रचण्डले जनार्दनलाई सम्झाउनुभएकै होला ।

० नयाँ भनिएका दल चाहे जनमत होस् वा नागरिक उन्मुक्ति दुबैका शीर्षस्थ नेता पारिवारिक उल्झनमा छन् । एउटा परिवार मिलाउन नसक्नेले के देश चलाउँछन् भन्ने गरी तपाईंहरूमाथि प्रश्न उठिरहेकोबारे के भन्नुहुन्छ ? 

– राजा वीरेन्द्र र रानी ऐश्वर्यको पारिवारिक विवाद पनि बाहिर आएकै हो । मेरो निष्कर्ष, पार्टी पारिवारिकचाहिँ चल्दैन । लोग्ने–स्वास्नी र बाबु–आमा राजनीतिमा हुनु संयोग मात्र हो । यदि अबको राजनीति पनि रञ्जिताले म गर्छु, तिमी छाडिदेऊ भनेको खण्डमा म छोडिदिन्छु । तर कम्तीमा समुदायलाई न्याय देऊ है भन्छु । केन्द्रीय समितिका साथीहरूलाई भन्छु, मैले पञ्जा फैलाएर अकाश थामिँदैन साथीहरू हो, सबैले पञ्जा फैलाऊ ! 

टिप्पणीहरू