होटल बाहिर सरकारी मोटरसाइकल रातारात

होटल बाहिर सरकारी मोटरसाइकल रातारात

रोल्पाको माडी गाउँपालिकामा सरकारी गाडीको दुरुपयोग ह्वात्तै बढेको छ ।

कर्मचारीहरुले व्यक्तिगत प्रयोजनमा सरकारी गाडी प्रयोग गर्न थालेका छन् । स्थानीयले पटकपटक सरकारी गाडीको दुरुपयोग रोक्न माग गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको अवस्था छ ।

गएराति ९ बजे जिल्लाकै परिवर्तन गाउँपालिका–३, बागमारास्थित एक होटलमा माडी गाउँपालिकाको सरकारी मोटरसाइकल फेला परेको छ । सो मोटरसाइकलको नम्बर लु.प्र.०२–००१–००४५ रहेको छ ।  त्यहाँ बसेर कर्मचारीहरुले मादक पदार्थ सेवन गरेको स्रोत बताउँछ । रातको समयमा होटल बाहिर मोटरसाइकल भेटिएपछि स्थानीयले चर्को विरोध गरेका छन् ।

सन्दिप सीले सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । उनले फेसबुकमा लेखेका छन्,‘रोल्पाको माडी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले लगेको र राति ९ बजेसम्म रक्सी धोकेको रिपोर्टिङ प्राप्त भएको छ, यसरी सरकारी सवारी साधन दुरुपयोग गरेर रक्सी धोक्न जाने कर्मचारीहरुलाई राज्यले मतलब नै गर्दैन, त्यसैले यस्तो हर्कत गर्ने कर्मचारीहरुलाई जनकारबाही चलाउन जरुरी छ ।’

शेर केसीले गाउँपालिकाभित्र व्यापक सरकारी गाडीको दुरुपयोग भइरहेको बताएका छन् । ‘माडी गाउँपालिकामा यसरी सरकारी सम्पत्तिको गलत प्रयोग आज मात्रै होइन, २०७२ को संविधानपछि पहिलो स्थानीय निर्वाचनदेखि नै यसरी दुरुपयोग हुँदै आएको छ । सरकारी सवारी साधन नेताहरुको व्यक्तिगत कार्यमा कार्यालय समयभन्दा पछि गरिँदै आएको छ । अब जहाँ भेटिन्छन्, नियन्त्रणमा लिन जरुरी छ’,उनको भनाइ छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद गौतमले सो गाउँपालिकाको मोटरसाइकल भएको पुष्टि गरे । जनआस्थासँग उनले भने,‘त्यो हाम्रै गाउँपालिकाको हो, सब–इञ्जिनियर टोपेन्द्र राना चढ्नुहुन्छ ।’ उनले सवारी साधनको दुरुपयोगबारे जानकारी नभएको बताए । यता, रानासँग यसविषयमा सोध्न पटकपटक फोन गर्दा सम्पर्क हुन सकेन ।
 

टिप्पणीहरू