एमाले वकिलमा प्रोक्सी मतको खपत
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) को असार १ गते आइतबार सम्पन्न तेस्रो सम्मेलनमा माउ पार्टी एमालेले अन्य भ्रातृ संगठनमा जस्तै हस्तक्षेप नगरे पनि संस्थापनका नाममा अमर थापाको नेतृत्वलाई स्थापित गर्ने काम भएको छ ।
महासचिवका दाबेदारमध्ये तीन जनालाई ‘मेरो मान्छे तिमी’ भन्दै विश्वासमा लिन सक्ने खुबी देखिएपछि उनी अध्यक्षमा छानिन सफल भएका हुन् । ९ जना पदाधिकारीमध्ये अध्यक्षमा २५६ मत ल्याएर थापा निर्वाचित हुँदा प्रतिद्वन्द्वी महान्यायाधिवक्तानिकट ओमप्रसाद थपलियाले २१३ मत प्राप्त गरेका छन् ।
थापाको पक्षमा युवा इञ्चार्ज महेश बस्नेत र केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले खुलेरै लबिइङ गरेका थिए । टिकाराम भट्टराई र बाबुराम दाहालहरू भने प्रष्ट रूपमा खुलेका देखिएनन् । टीकारामहरूलाई निस्तेज तुल्याउन थापाले देवी भट्टराईलाई ‘म अध्यक्ष, मेरो महासचिव तपाईं’ भन्ने गरेका थिए । त्यसैगरी, शिव अर्याल र विशेष बारका पूर्वअध्यक्ष चूडामणि पौडेललाई पनि आश्वासन दिइएको बताइन्छ । त्यसो त प्रतिनिधि नै नआए पनि उनका नाममा मत खसाल्ने काम भएको गाइँगुइँ छ । स्रोतका अनुसार भिष्म पौडेल, वसन्त लोहनी र मन्दिपहरूका नामबाट समेत पनि मत खसालेको पाइयो । यस्तो मत करिब २०–२१ वटा खसालेको पाइयो ।
अर्कोतर्फ निर्वाचन मण्डलमा रहेका बाबुराम दाहाल, कुन्साङ लामा र विजय सुब्बामध्ये सुब्बा ढुक्कैसँग बसे भने वक्ताको सूचीमा नाम नभए पनि धडाधड मन्तव्य दिए । एमालेको दशौं सौराहा महाधिवेशनमा अध्यक्ष मण्डल हाँकेका उनलाई बोल्न दिनुपर्ने प्रस्ताव थापाको थियो । सुब्बाले मन फुकाएर बोलेपछि स्थिति केहीबेर गर्माएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले होइन सर्वसम्मत, निर्विरोध गरौं भन्ने विजयजीको आशय हो भन्दै वातावरणलाई शान्त तुल्याएका थिए । अध्यक्षमण्डलमा रहेका जनवर्गीय संगठनका इञ्चार्ज भानुभक्त ढकाल प्रेस चौतारी या अन्यत्रको चुनावमा जस्तो खुलेर मैदानमा भिडेनन् ।
तेस्रो सम्मेलनबाट पिपिएलएको पुरुष उपाध्यक्षमा भीमसेन बञ्जारा निर्विरोध निर्वाचित भए पनि महिलातर्फ यशोदादेवी खरेल (३०५मत) ले हिमादेवी बस्नेत (१५२ मत) लाई पछि पारेकी छन् ।महासचिवमा भिडेका ५ जनामध्ये १६३ मत ल्याएर महान्यायाधिवक्ता रमेश बडालनिकट भुवनप्रसाद निरौला निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी शिव अर्यालले ११६ मत ल्याएका थिए । उपमहासचिवका उम्मेदवार तीन जनामध्ये बाबुराम राईले २१७ मत ल्याएर जितेका छन् भने पुरुष खुला सचिव २ जना युवककुमार गौतमले १३९ मत ल्याएर निर्वाचित हुँदा १३१ मत पाएर बराबरीको हकदार भएका मुकुन्दप्रसाद अधिकारी र हरिप्रसाद मैनालीबीचको गोलामा अधिकारीले बाजी मारेका छन् । महिला सचिवतर्फ अनिता गुरुङले राधिका खतिवडालाई ५ मतले पराजित गरिन् । गुरुङले २२७ मत पाउँदा खतिवडाले २२२ मत ल्याएकी थिइन् । त्यसो त गुरुङको दावेदारी अनुशासन आयोगका लागि थियो । तर, निर्वाचन मण्डलले नै सो दावेदारी फिर्ता लिन लगाउँदै राधिका खतिवडाविरुद्ध खडा गरेको स्रोतको दाबी छ । पहिला विशेष बारको टिकट वितरणमा पनि उनलाई ४ मतले अन्याय गरिएको थियो ।
यसैगरी कोषाध्यक्षमा २९२ मत ल्याएर कुमारप्रसाद घिमिरेले बाजी मारेका छन् । ८ जनाको खुला सदस्य पदमा ५ जना पुरुष र ३ जना महिला निर्विरोध निर्वाचित भएका छन् । नवोदित खुला सदस्यतर्फ कैलाश तामाङ, निश्चल वाग्ले र वसन्त जोशी, महिलामा ओजस्वी भट्टराई र कृपा पोखरेल, दलित महिलामा कुञ्जनी परियार प्यासी निर्विरोध हुँदा उच्च अदालत पाटनका श्याम गैरे र भवानी गैरे चुनावबाटै निर्वाचित हुन पुगेका छन् ।
काभ्रेपलाञ्चोक बारमा कुमार भट्टराई, विशेष बारमा हरिप्रसाद पंगेनीले निर्विरोध सदस्य हात पारेका छन् । आदिवासी जनजातितर्फको प्रतिस्पर्धामा २१२ मतसहित अष्टलाल श्रेष्ठ, मधेशी मुस्लिम थारूको तर्फबाट ओमप्रकाश चौधरी ३१५ मत ल्याएर विजयी भएका छन् । आदिवासी जनजाति महिलातर्फबाट उम्मेदवार भएकी विनिता तामाङ निर्विरोध चुनिइन् ।
७ सदस्यीय लेखा आयोगको अध्यक्षमा हुमप्रसाद खनाल र सचिवमा विशालकुमार उपाध्याय निर्विरोध हुँदा पाँच सदस्य पदमा भने कसैले पनि उम्मेदवारी दिएनन् । त्यसैगरी अनुशासन आयोगको अध्यक्ष पदमा कसैले उम्मेदवारी दिएनन् भने उपाध्यक्षमा सम्बल चौंलागाइँ र सचिवमा शिवराज रिमाल निर्विरोध आएका छन् ।
टिप्पणीहरू