राष्ट्रिय सभामा संघीय निजामती सेवा, प्रतिनिधि सभामा पानीजहाज विधेयक
आज संघीय संसद्का दुवै सदनको बैठक राखिएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा एक बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्दैछन् ।
आजै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ ।
राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभाबाट प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट प्राप्त जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ ।
टिप्पणीहरू