‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह’ भन्दै अख्तियारमा

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह’ भन्दै अख्तियारमा

ठूला भ्रष्टाचार काण्डमाथि छानबिन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा गएको टोलीले टंगाल पुगेर प्रमुख आयुक्तलाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ । 

ज्ञापनपत्रमा सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्री, एनसेल, नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्टलगायत निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि, वर्तमान भिजिट भिसा र मन्त्रीहरुको अडियो प्रकरण, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खर्बौ कृषि अनुदान दुरुपयोगलगायत चर्चित र ठूला भ्रष्टाचार काण्डमाथि अनुसन्धान र कारबाहीको माग गरिएको छ । 

‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नताबिना यस प्रकारका ठूला भ्रष्टाचारहरु कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन् भन्ने कुरामा विश्वास गर्न सकिँदैन र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह हो भन्ने मान्यतामा आफूहरुको दृढ विश्वास रहेकोले नयाँ पुरानालगायत सबै भ्रष्टाचार काण्डमाथि पुनः र व्यापक छानबिन तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन पनि राप्रपाको माग छ ।

टिप्पणीहरू