सक्छौ भने सम्पूर्ण सिंहासन खाली गराऊ

सक्छौ भने सम्पूर्ण सिंहासन खाली गराऊ

ती सबै मानिस जसले हामीलाई अभावको जिन्दगी बाँच्न अभिशप्त बनाए तिनलाई आउने चुनावमा कुनै हालतमा रोक्नुपर्छ । यिनीहरूले हामीलाई भोकैमात्र राखेनन् अन्तर्राष्ट्रियरूपमा बदनाम समेत गराए । भुटानी शरणार्थीलाई नेपाली बनाएर बेचे । गरिब युवाहरूलाई पचास हजारमा तस्करी गरेर हाम्रो बदनाम गरे । यो हामीमाथिको ठूलो अपमान हो । अमरेशकुमार सिंहले भनेजस्तै देश अरूलाई लिजमा दिन पनि सक्ने रहेछन् भन्नेकुरा कुलिंग अफ पिरियड राख्ने सवालमा खेलिएको भूमिकाले पुष्टि गरेको छ । यिनीहरूलाई फेरि पनि संसदमा लैजान भनेको डहरमा मान्छेको गुहु कुचेर भान्सामा पस्नु जस्तै हो । 

के छ यिनीहरूसंग देश बनाउने मार्गचित्र ? ती घाँटी सानो तर पेट ठूलो भएका खालि घैंटोजस्ता पात्र हुन् जहाँ केहीकुरा (घुस–भ्रष्टाचारको पैसा) हाल्न त सकिन्छ तर त्यहाँबाट देश र जनतालाई काम लाग्ने केही पनि निकाल्न सकिँदैन । गरिबले पढ्ने स्कूल खै ? गरिबको उपचार गर्ने अस्पताल खै ? किसानको खेतीमा पानी लगाउन नहर–कुलो खै ? आम जनताले चढ्ने यातायात सुरक्षित छ ? कुनै एउटा वर्षा र हिउँद छ जहाँ जनताले ज्यान नगुमाएका हुन् ? कुनै एउटा दिन छ गरिव युवा खाडीतिर नउडेको होस् ? 

यिनीहरूको शासन व्यहोरेको पैंतिस–वर्ष भयो । संगत गरेको हिसाबले त कति भयो भयो । देश र जनताको उन्नतिका निम्ति यो यो यो गर्छौं भनेको अहिलेसम्म सुन्नमा आएको छैन । सत्तामा आफू छन्, यस्तो गर्छु होइन कि यस्तो गर्नुपर्छ भनेर भाषण गर्छन्, लाज पचेकाहरू । कृषिको विकास कसरी गर्ने, खै योजना ? उद्योगको विकास कसरी गर्ने ? पर्यटनको विकास कसरी गर्ने ? साना तथा मझौला उद्योग कसरी उँभो लगाउने ? पशुपालनको विकास र प्रवद्र्धनका निम्ति के गर्ने ? वैदेशिक रोजगारीको व्यवस्थापन कसरी हुन्छ ? निजामती कर्मचारी, पुलिसहरूको पदस्थापन, सरुवा, र बढुवा कसरी गर्ने ? न कुनै स्पष्ट योजनाको प्रारूप छ न त त्यसप्रकारको सोच नै देखिन्छ । कुन मान्छेलाई कहाँ लैजाँदा आर्थिक लाभ (घुस) प्राप्त हुन्छ ? कसरी मेरो वा आफ्नो मान्छेलाई माथि र कमाउने ठाउँमा लैजान सकिन्छ ? कसरी आफ्नो आर्थिक भविष्य सुनिश्चित हुनसक्छ त्यही काम गर्ने बाहेक अरू केही देखिन्न । के प्रचण्ड, माधव, विष्णु, शंकर, वर्षमान, विष्णु रिमालहरूको जस्तै जिन्दगी नेपाली जनताले बाँच्न नपाउने ? तिनीहरूका छोराछोरीले पढ्ने स्कूल तथा कलेज र युनिभर्सिटीमा नेपाली जनताका सन्तानले पढ्न नपाउने ? जनताले सधैँैभरि दुःख, अभाव र पीडामा जीवन बिताउनुपर्ने तर मुठ्ठीभर मानिसका परिवार र आफन्तले मात्रै सुखको जिन्दगी जिउनुपर्ने हो ? जनतालाई सधैंभरि दुःख र अभावमा बाँच्न बाध्य पार्ने यस्ता शासकहरूलाई साथ दिनुपर्ने कुनै आवश्यकता छैन ।

आफूलाई कम्युनिष्ट, समाजवादी, वामपन्थी, गणतन्त्रवादी, लोकतन्त्रवादीजस्ता अनेकौं विशेषणले सिंगारेर प्रस्तुत गर्छन् । तर व्यवहारले यो कुराको पुष्टी गर्दैन बरु दलाल हुन् भन्ने पो देखाउँछ । शिक्षा, स्वास्थ्य, खानेपानी, सार्वजनिक यातायातमा राज्यको भूमिकालाई शून्य बनाउने, उद्योगको सम्पूर्ण रूपले निजीकरण गर्ने, कृषिमा दिइने अनुदान कटौती गर्नेहरू खासमा पुँजीवादका भरिया हुन्, के को वामपन्थी हुनु ! यिनीहरूको कार्यालयमा प्रवेश गर्दा बिचौलिया र दलालहरूसंग पहिले ठोक्किन्छ भनेर घनश्याम भुसालले उहिल्यै भनेका थिए । देशैभरिका मुख्य राजमार्गमा यातायात सजिलोसँग चल्न नसकेको छ–सात वर्ष भयो । काठमाडौंको रिङरोड बनाउन शुरु गरेको पनि उत्तिकै लामो समय भएको छ । तर, कहिले सकिन्छ बनाएर ! अहँ, कसैले भन्न सक्ने अवस्था छैन । सके सरकारी खर्चमा, नभए दलालहरूले काटिदिने टिकटमा हवाई यात्रा गर्न पाइन्छ, जनता हिँड्ने बाटो जस्तोसुकै भए पनि केही फरक पर्दैन ।

देश बनाउने भनेको समाज र जनताको समृद्दिका निम्ति अनुकूल वातारण बनाउने हो । अध्ययन अनुसन्धान गर्न सक्ने अनुकूल वातावरण बनाउने हो । आ–आफ्नो ज्ञान र रुचिको क्षेत्रमा काम गर्न सक्ने वातावरण र अवसर सिर्जना गर्ने हो । जनतालाई खान लाउन, पढ्न, उपचार गर्न सक्नेगरी आत्मनिर्भर बनाउने भनेको हो । बसाई सराइले पहाड खालि भएको छ । त्यहाँका बारी र खेतका गराहरू बाँझै छन्, खेती हुन छोडेको छ । तराईमै पनि खेती गर्न मुश्किल हुन थालेको छ । किनभने मल छैन, सिञ्चाई छैन, काम गर्ने मजदुरहरूको अभाव छ र जोत्ने ट्याक्टर, काट्ने कम्पाइनको प्रयोग गर्न धेरै महँगो पर्छ, लागत उठ्न मुश्किल पर्छ । कृषिसम्बन्धी उद्योग नभएकाले किसानको उत्पादनको बजार पनि छैन । यस्तो अवस्थामा किसानले कसरी जीविका चलाउने ? पहाडमा जनतालाई अड्याउने योजना के छ ? कृषि उत्पादन प्रणालीलाई सस्तो बनाउने योजना के छ ? कोसँग सोध्ने यो कुरा ? महँगीले आकाश छोएको छ । गरिब मजदुरको मात्रै होइन, कामकाजी परिवारको घरमा पनि मासु पाक्न कम हुन थालेको छ । दाल पातलो हुन थालेको छ । चट्नी बन्न छोडेको छ । यसरी कति समय चल्ला ? 

अन्धभक्तहरूले यिनीहरूमा सधैँभरि असलै–असल गुण मात्रै देख्छन् । मान्छेमा कमजोरी पनि हुन्छन् भनेर जान्ने ल्याकत तिनीहरूमा देखिन्न । आफ्ना नेतामा देवतामात्रै देख्ने तर तिनीहरूमा कुनै कमजोरी नदेख्ने झोले प्रवृत्तिले पनि तिनीहरूलाई मैमत्त साँढेजस्तो बनाउन सहयोग गरेको हो । तिनले जनतालाई ढाँट्दा पनि, तिनीहरू भ्रष्टाचारमा डुबेर डुंगडुंग गनाउँदा पनि, परिवारवाद अंगाल्दा पनि, गुटबन्दी गर्दा पनि चुइँक्कसम्म नबोल्ने बरु आँखा चिम्लिएर समर्थन गर्ने झोलेहरूको कारण पनि धेरै कुरा बिग्रिएको छ । यी झोलेहरूको लागि अवसर, पद वा आम्दानी हुने ठाउँमा बस्न पाउनु नै जिन्दगी हो । ती झोलेहरू पदको निम्ति कतिसम्म तल निहुरिन सक्ने रहेछन् भन्ने कुरा त बसेका मान्छेको अघिल्तिर उभिएर पदको सपथ खाएको दृश्यले बताउँछ । निर्लज्जता र अपमानको योभन्दा अर्को नमुना के हुन सक्छ ? तर तिनलाई लाजशरम् भन्ने कुरा केही पनि होइन । 

देश र जनताका उन्नतिको निम्ति कुनै खाका नभएको यो राजनीतिको नेतृत्वकर्तालाई अब पनि बोकिरहने भनेको नेपाली जनतालाई थप गरिब बनाउने, दुःखमाथि दुःख थपिदिने र अझै बदनाम गराउने काममा सहभागी हुनु हो । अबको संसदमा देश बनाउने नयाँ बिचार, नयाँ खाका, नयाँ जोश र प्रतिबद्धता बोकेका नयाँ मानिसलाई लैजानुपर्छ । यो महान कामको निम्ति अभियान थाल्न अबेर गर्नु हुँदैन । ती सबै जाली–फटाहालाई हामी सबैले मिलेर हराउनुपर्छ जसले हामीलाई यो कहालीलाग्दो जीवन बाँच्न विवश पारे । अबको नारा ‘सिंहासन खाली गर’ हुनुपर्छ ।
 

टिप्पणीहरू