महारानीको भेषमा उपसभामुख इन्दिरा
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना फरक भेषमा प्रस्तुत हुनुभएको छ । उहाँ मध्य चीनको हेनान प्रान्तस्थित काइफाङ शहरमा छुट्टै भेषमा देखिनुभएको हो ।
काइफाङ मिलेनियम सिटी पार्क अवलोकन क्रममा उहाँले तीन हजार वर्ष अगाडि सोङ राजवंशकी महारानीले लगाउने पोशाक पहिरिनुभएको थियो । महारानी बनेपछि जनआस्थाका प्रतिनिधिसँग पार्कमा उहाँले भन्नुभयो, ‘चीनले जस्तै हामीले पनि इतिहासलाई यसरी नै जीवन्त बनाउनुपर्छ । तर, हाम्रोमा यस्तो सम्भावना अझै देखिँदैन ।’
उक्त प्रान्तको राजधानी चङ्चौमा आयोजित सांघाई सहयोग संगठन, हेनान प्रान्तीय जनसरकार कार्यालय र सिन्ह्वा समाचार समितिले आयोजना गरेको थिंक ट्याङ तथा मिडिया समिटमा भाग लिने क्रममा शनिबार उपसभामुखले पार्क भ्रमण गर्नुभएको थियो । महारानीको पोशाकमा सजिएर हिँड्दा उहाँ जस्तै चिनियाँहरु पनि फुरुङ्ग देखिन्थे ।
तत्कालीन सोङ राजवंशको राजधानी काइफाङ १०औंदेखि १२औं शताब्दीसम्म चिनियाँ सभ्यताको केन्द्र मानिन्थ्यो । अहिले सोही बेलाको इतिहासलाई कायम राख्न पार्कमा सांस्कृतिक प्रस्तुती देखाउने गरिन्छ । दैनिक रूपमा पारम्परिक नाचगान,युद्ध कौशल प्रदर्शन,लोककला नाटक आदि प्रस्तुत गरिन्छ । पर्यटकहरू त्यस समयमा प्रयोग गरिने पोशाकमा फोटो खिचाउन उत्सुक देखिने गरेको स्थानीय अधिकारीहरु बताउँछन् ।
बालबालिकादेखि बयोवृद्धसम्मका लागि रमाइलो र ज्ञानवर्धक अनुभव बाँड्ने डिजाइन गरिएको पार्कभित्रको नहरमा पानीजहाज यात्राको वातावरणलाई प्रत्यक्ष अनुभूत गर्न सकिन्छ । २५ वर्ष अघिदेखि सञ्चालित यो पार्क चीनको राष्ट्रियस्तरकै पर्यटनस्थल हो ।
टिप्पणीहरू