मनमोहन प्राविधिक विद्यालय र एमिटीबीच सहकार्य
मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विद्यालय’ को आंगिक क्याम्पस इन्स्टिच्युट अफ लप्रति भारतको पटनास्थित एमिटी युनिभर्सिटीले विश्वास देखाएको छ । एमिटीले इन्स्टिच्युटसँगै कानुन विषयको अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने सहमति जनाएको छ ।
भारतको संविधान र अदालती प्रक्रिया बुझ्न तथा अनुभव आदानप्रदान गर्न साउन १ गते ल संकायका विद्यार्थी र शिक्षकको टोली पटना गएको थियो । भ्रमणमा इन्स्टिच्युटका प्रिन्सिपल कोषराज न्यौपाने, शिक्षक गोविन्द निरौला, जीवेश झा र ३७ विद्यार्थीसहित कूल ४२ जना थिए ।
त्यहाँ उच्च अदालतको कानुनी प्रक्रिया र भारतीय संविधानको कार्यान्वयनको अवस्थाबारे बुझ्ने अवसर पाएको उनीहरु बताउँछन् । एमिटीले गुणस्तरीय कानुनी अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको प्रिन्सिपल न्यौपानेले बताए ।
‘त्यो भ्रमण एकदमै उपलब्धिमूलक रह्यो । विश्वविद्यालयका प्रोफेसर राजीव रञ्जन झाले नेपाली टोलीलाई भव्य रुपमा स्वागत गरेका थिए । त्यहाँको अदालती प्रक्रियाबारे बुझ्नुका साथै एमिटीले भविष्यमा नेपाल आएर प्रत्यक्ष रुपमा निःशुल्क कक्षा लिने वचन दिएको छ’,उनले भने ।
इन्स्टिच्युटले मुलुकमा पहिलोपटक स्नातक तहमा बीबीए एलएलबी र स्नातकोत्तरमा अपराधशास्त्रमा एलएलएम सञ्चालन गर्दै आएको छ । इन्स्टिच्युटले ५० प्रतिशत अध्ययन र ५० प्रतिशत व्यवहारिक ज्ञान दिने गरेको छ । झापा, सिरहा, सप्तरी, सुनसरी, उदयपुर, धनकुटालगायत विभिन्न जिल्लाका विद्यार्थीहरु त्यहाँ अध्ययनरत छन् ।
टिप्पणीहरू