विद्याले किन भन्नुभयो 'माझ किराँतकी छोरी हुँ ?'

विद्याले किन भन्नुभयो 'माझ किराँतकी छोरी हुँ ?'

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीमा रोक लगाउने निर्णय गरेपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ६ गते भंगालबाटै भन्नुभयो, ‘म पनि माझ किराँतको छोरी हुँ,खुट्टा कमाउँदिन ।’ राजनीतिक प्रतिबन्धको प्रतिवादमा उहाँले चेतावनीको शैलीमा दिएको यो अभिव्यक्तिले एमालेपंक्ति त तरंगित भयो नै,राष्ट्रिय राजनीतिमा पनि चर्चा पाइरहेको छ । 

बिद्रोह र क्रान्तिकारीको पहिचान बोकेको ‘माझ किराँत’को प्रतिबिम्ब प्रयोग गरिएकाले पनि यो बढी चर्चामा आएको हो । पूर्व शिक्षक तथा लेखक दिलिप बान्तवाका अनुसार ‘माझ किराँत’को इतिहास यस्ताे छः 

गोर्खाली सेनाको एकीकरणपूर्व पाल्पाली सेनवंशी राजा मुकुन्द सेनका सन्तानले पाल्पाबाट झापासम्म फैलाएको राज्यलाई अंशबण्डा गरेर विभिन्न टुक्रामा बाँड्दै लगे । त्यसमध्ये पूर्वमा सिन्धुली र विजयपुर राज्य बन्यो । पछि विजयपुर पनि चौदण्डी राज्य हुँदै,वल्लो किराँत,पल्लो किराँत र माझ किराँतमा विभक्त भयाे । त्यसको राजकाज सेनवंशी राजाहरूको मातहत भए पनि स्थानीय रजौटाहरु स्वायत्त शासन चलाउँथे,जो त्यसअघिका राजा थिए ।

एकै पटकमा जित्न नसकेको हतुवामा अन्तत: वि.सं. १८३०-३१ तिर गोर्खाली सेनाले जित्यो, तर हतुवाका शासकले आत्मसमर्पण गरेनन् । बरु उनी सुलि चढ्न राजी भए, ज्यानको भीख माग्न चाहेनन् । 

त्यसमध्ये माझ किराँतको एउटा केन्द्र हतुवा,जहाँ किराँत शासकहरुको दरबार र किल्ला पनि थियो । पृथ्वीनारायण शाहकै जीवनकालमा माझ किराँतका हरिनन्दन पोखरेल र स्वरुपसिंह कार्की हतुवाको माटो बोकी नुवाकोट दरवार (पृथ्वीनारायण शाह) पुगेर हतुवा/माझ किराँत आक्रमण गर्न उक्साएको इतिहास भेटिन्छ । यी दुई समूहले गरेको सहयोगले नै माझ किराँतमा आक्रमण गरिएको थियो । 

हरिनन्द पोखरेलले कुम्लोमा नगद पैसा बोकाएर सैन्य सहायताका लागि गोर्खाली सेनालाई सहयोग गरेको, अरुण-तमोर नदीमा रुख काटी डुंगा बनाएर गोर्खाली सेनालाई तर्न सहज बनाइदिएको इतिहास छ । त्यो तयारीमा आक्रमण गर्दा पनि एकै पटकमा जित्न नसकेको हतुवामा अन्तत: वि.सं. १८३०-३१ तिर गोर्खाली सेनाले जित्यो, तर हतुवाका शासकले आत्मसमर्पण गरेनन् । बरु उनी सुलि चढ्न राजी भए, ज्यानको भीख माग्न चाहेनन् ।

राणा शासनको अन्धकारमा,तिनकै फर्मानमा राज्य व्यवस्था,सामाजिक, न्याय,कानुन व्यवस्था चलिरहँदा उनीहरूप्रति प्रश्न उठाउनु आफ्नै काललाई निम्त्याउनुजस्तै थियो । तर, भोजपुरकी योगमायाले यी सबै व्यवस्थामा भएका बेथितिका विरुद्ध अभियान छेडिन् । राणा शासकले उनलाई अनेक लोभ देखायो,धम्क्यायो तर डग्मगाइनन् । व्यवस्थाका सामु आत्मसमर्पण गर्नुभन्दा मृत्यु रोज्नु श्रेयस्कर ठानिन् र आफूसहित अनुयायीहरू मिलेर सामुहिक जलसमाधी लिइन्।

राणा शासनविरुद्धको आन्दोलनमा सबैभन्दा पहिला भोजपुर सदरमुकाम जनमुक्ति सेनाले कब्जा गरेको थियो । त्यसका कमाण्डर थिए बासिखोराका रामप्रसाद राई । उनको सेना पूर्वका धेरै जसो ठाउँ कब्जा गर्दै काठमाण्डौतिर लागे । उनीहरुले कब्जा गरेका ठाउँहरु पनि सुरक्षित राख्दै हिँडे,जतिबेला अन्य नेताको कमाण्डमा कब्जा गरिएका ठाउँ जनमुक्ति सेनाले छोडेपछि पुनः राणाहरुले कब्जा गरिरहेका थिए । 

रामप्रसाद राईहरु साँगा भञ्ज्याङ पुग्दै गर्दा दिल्ली सम्झौता भयो । उनी चाहन्थे नेपालबाट राणा र राजा दुवैलाई एकै साथ फाल्नुपर्छ । तर सम्झौतामा त्यस्तो थिएन । त्यसपछि "दिल्ली सम्झौता धोका हो" भन्दै उनका सर्वोच्च कमान्डर बिपी कोईरालाविरूद्ध नै विद्रोहको नेतृत्व गरे । 

२४ घण्टासम्म सिंहदरबार कब्जा गरी ८१ मोर्टार नारायणहिटीतिर सोझ्याएर बसे । सम्भवतः उनका सहकर्मी भनिएका केआई सिंह सम्झौता गर्न चाहन्थे, तर राई सम्झौता गर्ने पक्षमा थिएनन् । रामप्रसाद राई आजपर्यन्त बेपत्ता छन् । उनका सहकर्मीहरू  केआई सिंह प्रधानमन्त्री बने,जिवी याक्थुम्ग्बा पहिलो प्रहरी महानिरिक्षक बने तर रामप्रसाद राई गुमनाम । किनभने उनले सम्झौता गरेनन्, आत्मसमर्पण गरेनन् ।

आज पनि माझ किराँतका ती शासकहरुले आत्मसमर्पण नगरेको भूमिका लागि नागरिकले राज्यसत्तासँग विद्रोह गरिरहेका छन् । अनि योगमाया, रामप्रसाद राईहरुले देखेको त्यो सपनाको मूर्ततामा हामी बाँचेका छौँ र गर्वका साथ यी नामहरु सम्झिरहेका छौँ ।

यो इतिहास बोकेको माझ किराँतको बिम्बलाई अहिले आएर त्यही ‘माझ किराँत’ र अझ भोजपुरमै जन्मनुभएकी भण्डारीले प्रयोग गर्नुले ठूलाे अर्थ राखेकाे छ ।

टिप्पणीहरू