उपचुनावका लागि दल दर्ता आह्वान
रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।
आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दललाई उपचुनावका निम्ति दर्ता हुन सूचना गरिएको हो । दल दर्ता गर्ने समयावधि साउन २१ गतेदेखि २७ गतेसम्म तोकिएको छ ।
आयोगद्धारा जारी सूचनामा उल्लेख छ, ‘संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०८२ साउन २१ गतेदेखि २७ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिन्छ ।’
०७९ को चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराको गत चैत १९ गते निधन भएपछि रिक्त पदमा आउँदो कात्तिक १७ गते उपचुनाव हुँदैछ ।
टिप्पणीहरू