पहुँच नहुनेको मात्रै भत्काउने ?
‘जसको शक्ति, उसैको भक्ति’ भन्ने उखान काठमाडौं महानगरपालिकाको पछिल्लो गतिविधिसँग ठ्याक्कै मेल खाएको छ । जस्तापाताका संरचना भत्काउन डोजर लिएर पुग्ने महानगर प्रहरी बलको टोली ठूलाबडाले नक्सा पास नगरिकन स्थायी संरचना बनाउँदा हाइसञ्चो मानेर बसेको छ । वडा नम्बर–७ चाबहिलस्थित गोपीकृष्ण हल छेउछाउ मापदण्डविपरीत दुई वटा संरचना बनिरहेको छ ।
एउटा स्थायी संरचना हो भने अर्को अस्थायी । रोचक प्रसंग के भने, दुवै संरचनाको नक्सा पास नै छैन । समाज डेण्टलपछाडि बालकृष्ण मानन्धरको जग्गामा पार्किङ्गका निम्ति धमाधम स्थायी संरचना निर्माण भइरहेको छ । सो जग्गामा पहिले मालपोत कार्यालय, चाबहिलको भवन थियो । थुप्रै टहरा निर्माण गरेर सञ्चालनमा थियो । माघदेखि मालपोत कार्यालय आफ्नै भवनमा सरेको छ । त्यसयता सो जग्गा खाली थियो । प्राप्त जानकारीअनुसार सुकेधारामा रहेको फ्रेण्ड्ली अस्पताल त्यहाँ सर्दैछ ।
सोही अस्पतालका निम्ति पार्किङ निर्माण गर्न थालिएको स्रोतले बतायो । नक्सा पासबिना संरचना बनाउन लागेको भनि स्थानीयले विरोध गरेपछि वडा कार्यालयले सचेत गराएको थियो । त्यसपछि सम्बन्धित पक्षले निर्माण स्वीकृतिका लागि निवेदन दियो । वडाले महानगरमा सिफारिस गरिदिएको बुझिएको छ । वडाध्यक्ष विमलकुमार हाडाले नक्सा पासका लागि निवेदन आएको पुष्टि गरे । उनले भने, ‘पहिल्यै निवेदन दिएको भए छुट्टै कुरा थियो । तैपनि महानगरलाई सिफारिस गरिदिएको छु ।’
चाबहिलस्थित ए–वान पार्टी प्यालेस एण्ड रेष्टुरेण्टले पनि नक्सा पास नै नगरिकन अस्थायी संरचना निर्माण गरिरहेको छ । हेल्पिङ ह्याण्ड अस्पताल छेउमा एक अग्रवाल थरका ठूला व्यापारीको जग्गा दुई दशकका लागि लिजमा लिएर अस्थायी संरचना निर्माण गर्न थालिएको हो । हाल उनीहरूले एक तल्ला भवन ठड्याएर जस्ताको छानो हालिसकेका छन् । स्थानीयले अस्थायी संरचना बनाउन स्वीकृति नदिन भन्दै महिनौंअगाडि वडा कार्यालयमा उजुरी दिएका थिए । वडाले आवश्यक कारबाहीका निम्ति सो उजुरी महानगर पठाइदियो । तर, महानगरले कुनै ‘एक्सन’ नलिँदा अहिले संरचना नै बनिसकेको छ । त्यहाँ पार्टी प्यालेस बनाएमा हो–हल्ला हुने, ट्राफिक जाम बढ्ने स्थानीयको जिकिर छ । वडाध्यक्ष हाडाका अनुसार पार्टी प्यालेसले दर्ता नगरेको नक्सा पेश गरेको थियो । सो नक्साका आधारमा निर्माण गर्न नमिल्ने भनेर वडाले रोक लगाएपछि उनीहरूले महानगरमा नक्सा पासका लागि निवेदन दिइसकेको बताएको वडाध्यक्ष हाडाको जिकिर छ । तर, महानगरले त्यसको नक्सा पास गरेको छैन । नक्सा पास नहुँदै संरचना बनाएर पार्टी प्यालेस सञ्चालन गर्ने तयारी छ ।
दुवै संरचना हाइटेन्सन लाइनसँगै
हाइटेन्सन लाइन छेउछाउ संरचना बनाउँदा निश्चित दूरी छोड्नुपर्ने प्रावधान छ । ११ केभी हाइटेन्सन लाइनको हकमा एक मीटर २५ फिट, ३३ केभीको हकमा तीन मीटर २५ फिट र त्यसपछि ११ केभीको हिसाबले एक मीटर २५ फिट दूरी थप हुँदै जान्छ । बालकृष्णको जग्गा छेउ भएको हाइटेन्सन लाइन १३२ केभीको हो । त्यसलाई चाबहिल–बालाजु प्रशारण लाइन भनिन्छ । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीका अनुसार सो हाइटेन्सन लाइनको दायाँ ९ मीटर र बायाँ ९ मीटर छोडेर मात्र संरचना निर्माण गर्न पाइन्छ ।
ए–वान पार्टी प्यालेस पनि हाइटेन्सन लाइनकै तल्तिर निर्माण भइरहेको छ । त्यहाँ रहेको हाइटेन्सन लाइनबाट सुन्दरीजल दरबारमा विद्युत प्रवाह हुँदै आएको छ । महानगरले हाइटेन्सन लाइनमुनि निर्माण भएको कुनै पनि संरचना नछोड्ने दाबी गर्दै आएको छ । तर, त्यस्ता संरचना महानगरभित्र प्रशस्तै छन् । समाज डेण्टलपछाडि हाइटेन्सन लाइनसँग संरचना बन्दै गरेको थाहा पाएपछि महानगर प्रहरी बलको टोली पुगेको थियो । तर, ती अवैध संरचना भत्काइएन । जसले ‘दालमा केही कालो भएको’ प्रष्टै पार्छ ।
स्रोत भन्छ, ‘पहुँच नभएकाहरूको संरचना भत्काउन महानगर प्रहरी सिंघम स्टाइलमा पुग्छ । तर, हाइटेन्सन लाइनसँगै नक्सा पासबिनै संरचना बनिरहँदा महानगर प्रहरीले केही गरेको छैन । उजुरी परेपछि महानगरको फौज एकपटक आएको थियो । तर, त्यत्तिकै फर्कियो । पछि आएर भत्काउला भन्ठानेका थियौं तर अहिलेसम्म आएकै छैन । यहाँ केही न केही खिचडीचाँहि पाकेकै छ ।’ हाइटेन्सन लाइनबाट जतिबेला पनि बिजुली प्रवाह भइरहन्छ । बढी भोल्ट बिजुली प्रवाह भएको बेलामा आगलागीको सम्भावना हुन्छ । चट्याङ पर्दा, मौसम खराब हुँदा, हाई भोल्टेज बिजुली आउँदा विद्युतीय सामानहरू जल्ने र पड्किनेसमेत हुन्छ । हाइटेन्सन लाइनमुनि भएको संरचनामा केही कारणबस् दुर्घटना भयो भने त्यसको जिम्मा कसले लिने ?
के भन्छ महानगर ?
महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले सो विषयमा जानकारी नभएको बताए । ‘हो र, मलाई त थाहा नै छैन’, उनले भने । शहरी व्यवस्थापन विभागका प्रमुख डि.ई. हरिचन्द्र लामिछानेले ती संरचना हटाउन महानगर प्रहरीलाई निर्देशन दिइसकेको बताए ।
सोमबार ती संरचना भत्काउन भन्दै महानगर प्रहरीलाई पत्राचार गरिएको छ । उनका अनुसार ती संरचना निर्माणका लागि महानगरले नक्सा पास गरेको छैन । उनले भने, ‘त्यसको नक्सा पास भएको रहेनछ । मैले महानगर प्रहरीलाई हटाउन निर्देशन दिइसकेको छु ।’ यता, महानगर प्रहरी बलका अवैध प्रमुख एसएसपी राजुनाथ पाण्डेले ती संरचना हटाउने बताए।
भन्छन्, ‘हाइटेन्सन लाइन रहेको स्थानमा संरचना बनाउन पाइँदैन । हामी भत्काउँछौं ।’
(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू