एमाले महासचिव अर्कै राष्ट्रले चुनेको हो ?
नेकपा एमालेको महाधिवेशन सकिएर, सचिवालयको पहिलो बैठक पनि बसिसकेको छ । तर महाधिवेशनको बेला भएका अनेक परिघटना विस्तारै बाहिर आउन थालेका छन् । स्वयं ओलीका लागि पनि चुनौती देखिएको महासचिव कसरी छनोट गरियो भन्ने विषयमा विभिन्न कोणबाट चर्चा जारी छ तेस्रोपटक अध्यक्ष बन्न बल गरेका ओलीले महासचिव कसलाई बनाउलान् भन्ने आमचासो थियो । प्रतिनिधि चयनदेखि नै आफ्नै समूह व्यवस्थापन गर्न निकै सकस परिरहेको थियो ।
ओली समूहबाट महासचिवको दावेदारीमा थिए, तीन नेता । शंकर पोखरेल दोहोरिन चाहन्थे । उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ पनि लबिङ गर्दै थिए ।
पृथ्वीसुब्बाले त पत्रकार सम्मेलनबाटै दावी पेश गरेका मात्र थिएनन्, प्रेस चौतारीेको भेटघाट कार्यक्रममा खुलेरै कुरा राखेका थिए । पार्टीलाई बलियो बनाउन, नेतृत्वले कार्यकर्तालाई गरेको एकपक्षीय व्यवहार सच्याउन र परिवर्तनको सन्देश दिन आफू स्वाभाविक दावेदार भएको र ब्याक नहुने उनको भनाई थियो ।
यता, प्रदीप ज्ञवाली पृथ्वीसुब्बाजस्तो मुखरित त भएनन् तर दौडधुप भने तीव्र बनाए । हरेक क्षणमा ओलीलाई साथ दिएको, कार्यकर्तामा लोकप्रिय रहेको, पार्टी बाहिर पनि स्वच्छ छवि भएको आधार पेश गरिरहेका थिए । पार्टी पुनर्गठनको माग पनि दुई कार्यकारीमध्ये एक फेरिँदा संबोधन हुने भन्ने गर्थे । अर्कोतिर शंकर पोखरेलले विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारी र गुरु बराललाई परिचालन गरेका थिए । ज्ञवालीलाई बनाउँदा विष्णु पौडेल समूहले स्वीकार्ने, पुथ्वीसुब्बा पनि व्याक हुने आकलन थियो । तर, २७ गते उद्घाटन सत्रमा भाषण गरेर गुण्डु पुगेका ओली अकस्मात फेरिए ।
सानो टिममा ‘महाधिवेशनको समीक्षा गरिएको थियो, ओली एकाएक निराश देखिनुभयो ।’ ओली निकट नेता भन्छन्, ‘महासचिव कसलाई उठाउने भन्ने टुंगो लगाउन निकै सकश परेको र भूराजनीतिक दवावसमेत रहेको संकेत गर्नुभयो ।’ उनका अनुसार तीन नेताको कुन देशसँग कस्तो सम्बन्ध छ, सुरेन्द्र पाण्डेले जितेको खण्डमा के हुन्छ भनेर ओलीले सुनाएका थिए । शान्ति प्रक्रियाका बेला तीन महिना अमेरिका बसेको, इजरायल र अमेरिकी सरकारको तालिममा सहभागी भएको, परराष्ट्रमन्त्री भएका बेला अमेरिकालाई सहयोग पुग्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेकोलगायत विषय उठाई प्रदीप ज्ञवाली अमेरिका नजिक रहेको ओलीले ठहर गरे ।
भूराजनीतिक रुपमा भूमिका खेल्न नसक्ने, चीनतिर ढल्किएका कारण पृथ्वीसुब्बा गुरुङलाई पनि दिन नसकिने ओलीको निश्कर्ष रह्यो । अरूभन्दा तुलनात्मक रुपमा चीन र भारत दुवैलाई ब्यालेन्स गर्न सक्ने, जेनजी आन्दोलनपछि भारतसँग पटक पटक संवाद गरिरहेको कारण शंकर पोखरेललाई रोज्नु बाध्यता रहेको ओलीले सुनाएको हार्डकोर छलफलमा सामेल एक नेताले जनआस्थालाई बताए । उनका अनुसार युरोपियनहरूसँग सम्बन्ध बलियो बन्दै गएका कारण पनि शंकरको पक्षमा निर्णय लिन बाध्य भएको ओलीले सुनाए ।
‘प्रदीप ज्ञवालीलाई दिएको वचन कार्यान्वयन नगरेका कारण चित्त दुखाउनुभएको रहेछ ।’ ओलीलाई एक नेताले सोधेका थिए, ‘सल्लाघारीबाट गुण्डु आउने बेलासम्म त्यस्तो के भएछ र मेरो नाम काटियो ? भन्नुहुन्छ प्रदीप कमरेड । जटिल परिस्थितिका बेला शक्ति राष्ट्र मिलाउन सकिएन भने कसरी पार्टी चल्छ ?’ यसरी सोधिँदा ओलीले उल्टै प्रतिप्रश्न गरे, ‘एउटा देशले मात्र पत्याएर हुन्छ ? प्रदीप भएन भने शंकर हुन्छ भन्ने सन्देश मैले त्यहीँबाट पाएको छु, त्यसैले यसमा अब धेरै गलफत्ती गरेर फाइदा छैन ।’
उद्घाटन सकेर गुण्डु पुगेका ओली टिम व्यवस्थापनको छलफलमा थिए । त्यही बेला फोन आयो । तर खासै रिसिभ गरिरहेका थिएनन् । बीचमा एउटा कल उठाउँदै ओली भित्र पसे र १० मीनेट जति पछि बाहिर आए । ओलीसँग छलफलमा रहेका एक पदाधिकारीले बताएको प्रसंग सुनाउँदै एक पदाधिकारी भन्छन्, ‘त्यही फोन हो जसले प्रदीप ज्ञवालीको नाम काटेर शंकरलाई कन्फर्म गरायो ।’ त्यही बीचमा विष्णु रिमालले खेलेको भूमिका पनि निर्णायक रह्यो जसको कारण शंकर ढुक्क भए ।
‘ओलीलाई पूर्वबाट सदाबहार साथ दिँदै आएका गुरु बराल उपाध्यक्षमा पराजित हुँदा नबोलेका शंकरले उपमहासचिवमा विष्णु रिमाल हार्दा पार्टी सदस्यलाई प्रशिक्षण नपुगेको भन्दै फेसबुकमा स्टाटस नै लेखे ।’ तिनै नेता भन्छन्, ‘त्यो स्टाटस त्यसै लेखिएको हैन, शंकर पोखरेल लण्डन जाँदा नेपालबाटै समन्वय गरेर विष्णु रिमालले पश्चिमाहरूसँग भेटाएको, शंकरको भ्रमण व्यवस्थापन गरेका भक्त गुरुङ महाधिवेशन प्रतिनिधि नै नभई नेपाल आएर अन्तिममा मनोनीतमा परेकोजस्ता धेरै घटना छन् र भन्न सकिन्छ, यो पटक एमाले महासचिव शक्ति राष्ट्रले छानेको हो ।’
(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू