लिभरपुललाई हराउँदै क्रिस्चल प्यालेसले जित्यो कम्युनिटी शिल्डको उपाधि

लिभरपुललाई हराउँदै क्रिस्चल प्यालेसले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी । क्रिस्चल प्यालेसले कम्युनिटी शिल्डको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै प्यालेसले इतिहासमै पहिलोपटक कम्युनिटी शिल्डको उपाधि चुमेको हो ।

वेम्बली स्टेडियममा भएको खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा प्यालेस भाग्यमानी रह्यो । प्यालेसको लागि जिन-फिलिपे माटेटा, इस्माइला सार र जस्टिन डेभेन्नीले गोल गर्दा इबेरेची इजे र बोर्ना सोसा चुके । यता लिभरपुलको लागि कोडी गाक्पो र डोमिनिक स्जोबोस्ज्लाईले मात्र गोल गर्न सके । लिभरपुलका एलेक्सिस म्याक अलिस्टर र हार्भे इलियोटको प्रहार प्यालेसका गोलरक्षक डीन हेन्डरसनले रोक्दा मोहम्मद सलाहको प्रहार क्रसबारमा लाग्न पुग्यो ।

यसअघि लिभरपुलको लागि चार नयाँ खेलाडीले डेब्यु गरेको खेलको चौथो मिनेटमा विर्ट्जको पासमा हुगो एकिटिकेले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा जिन-फिलिपे माटेटाले गोल गर्दै प्यालेसलाई १-१ गोलको बराबरीमा ल्याए । 

चार मिनेट बित्न नपाउँदै जेरेमी फ्रिम्पोंगले स्जोबोस्ज्लाईको पासमा गोल गर्दै लिभरपुललाई  फेरी २-१ गोलको अग्रता दिलाएका थिए । ७७ औँ मिनेटमा व्हार्टनको पासमा सारले गोल गर्दै प्यालेसलाई २-२ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

 बार्सिलोनालाई जोन गाम्फर ट्रफी

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले प्रि-सिजनमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । आइतबार राति भएको खेलमा इटालियन क्लब कोमोलाई ५-० गोलले हराउँदै बार्सिलोनाले जोन गाम्फर ट्रफी जितेको हो ।

इस्टाडी जोहान कर्फमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामाल र फेर्मिन लोपेजले दुई/दुई गोल गर्दा राफिन्हाले एक गोल थपे । बार्सिलोनाले पहिलो हाफमै चार गोल गरेको हो । खेलको २१ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । 

३५ औँ मिनेटमा फ्रेन्की डी योङको पासमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा रासफोर्डको पासमा राफिन्हाले गोल गर्दै घरेलु टोलीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । 

४२ औँ मिनेटमा राफिन्हाको पासमा यामालले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाए । ४९ औँ मिनेटमा टोरेसको पासमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-० गोलले अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना विजयी भएको छ ।

यससँगै सन् २०२४ मा मोनाकोसँग पराजित हुँदै जोन गाम्फर ट्रफी गुमाएको बार्सिलोनाले यसपटक भने आफ्नो कब्जामा राखेको छ । अब बार्सिलोनाले १६ अगस्टमा माल्लोर्कासँग खेल्दै ला लिगाको नयाँ सिजनको शुरुवात गर्नेछ ।

टिप्पणीहरू