काँग्रेसले रामहरिलाई राजीनामा दिलाउनुको अन्तर्य
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राजीनामा दिएपछि काँग्रेसको आगामी रोडम्यापबारे चर्चा गरिएको छ ।
संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको छेडखानी अनुसन्धान गर्न गठित विशेष छानबिन समितिले सभापति खतिवडालाई नैतिक जिम्मेवार ठहर्याउँदै प्रतिवेदन तयार पारेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले समेत राजीनामा दिन निर्देशन दिएपछि उनी तयार भएको बताइन्छ ।
खतिवडाले राजीनामा दिएको केही मीनेटपछि काँग्रेसले उक्त काण्डमा मुख्यसचिवलाई समेत तान्न खोजेको देखिन्छ । समितिको प्रतिवेदनमा अर्याललाई ‘मुख्यसचिवको पदीय हैसियत अनुसार गर्न नहुने अनुचित कार्य गरेको’ भनेकाले रामहरि खतिवडालेझैँ उनले पनि मार्ग प्रशस्त गर्नुपर्ने आवाज अब उठाइने काँग्रेसीहरुको भनाइ छ ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले खतिवडाले मार्ग प्रशस्त गरेपछि मुख्यसचिव अर्याललाई तान्न सजिलो हुने बताएपछि सभापति देउवाले राजीनामाको निर्देशन दिएको उनीहरुको दाबी छ । तर, प्रतिवेदनमा मुख्य सचिव र संसदका महासचिवको उक्त काण्डमा कुनै भूमिका नरहेको उल्लेख गरेकाले उनीहरु उक्त कार्यमा खतिवडाझैँ नैतिक जिम्मेवारीको डोरीमा नतानिने एमाले नेताहरुको निश्कर्ष छ । भन्छन्, ‘आफूहरु विधेयक अध्ययन नगर्ने, संशोधनबारे चासो नराख्ने अनि अरुलाई आरोप लगाएर हुन्छ ? रामहरिसँगै उक्त समितिका सबै सांसद त्यो काण्डमा उत्तिकै जिम्मेवार छन् । कर्मचारीलाई दोष लगाउन पाइँदैन किनभने उनीहरुले त्यसपछि संसदमा पेश गर्नुअघि विधेयकको संशोधनबारे किन हेक्का राखेनन् ?’
टिप्पणीहरू