टप एन्ड टी-२० सिरिजमा नेपालको लगातर दोस्रो हार
अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार दिउँसो भएको खेलमा नेपाल बंगलादेश 'ए'सँग ३२ रनले पराजित भएको हो ।
जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रनमात्र बनाउन सक्यो । नेपालको लागि कुशल मल्लले सर्वाधिक ५९ रन बनाए । उनले ४७ बलमा ६ चौका र एक छक्का हिर्काए । यस्तै आसिफ शेखले २८ रन बनाउँदा अन्य कुनैपनि ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।
बंगलादेशको लागि राकिबुल हसनले तीन, हसन महमुदले दुई तथा रिपोन मोन्डोल र टोफेल अहमदले समान एक/एक विकेट लिए ।यसअघि मरारा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । बंगलादेशको लागि जिशन अलामले अर्धसतकसहित सर्वाधिक ७३ रन बनाए । उनले ४६ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । यस्तै अफिफ होसाइनले ४८ रन बनाउँदा मोहम्मद नेमले २५ र सैफ हसनले ११ रनको योगदान गरे ।
नेपालको लागि रिजन ढकालले २ ओभरमा १८ रन दिएर २ विकेट लिँदा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।
अब नेपालले तेस्रो खेल सोमबार मेलबर्न स्टार्ससँग खेल्नेछ ।
टिप्पणीहरू