महिला च्याम्पियन्स लिग छनोट खेल्न नेपाल एपीएफ क्लब आज उज्वेकिस्तान जाँदै

महिला च्याम्पियन्स लिग छनोट खेल्न नेपाल एपीएफ क्लब आज उज्वेकिस्तान जाँदै

एएफसी महिला च्याम्पियन्स लिग २०२५-२६ को प्रारम्भिक छनोट खेल्न विभागीय टोली नेपाल एपीएफ क्लबको महिला टिम आज उज्वेकिस्तान प्रस्थान गर्दैछ ।

शनिबारदेखि हुने छनोटमा सहभागिता जनाउन एपीएफ टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

एपीएफले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उज्वेकिस्तान जाने खेलाडी, प्रशिक्षक र अफिसियललाई बिदाई गरेको थियो । बिदाई कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायतको उपस्थिति रहेको थियो ।

छनोटमा १९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ । चार समूहमा समान ४/४ टोली रहेका छन् भने एक समूहमा तीन टोली रहेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने छनोटको समूह विजेता मात्र च्याम्पियन्स लिगमा छनोट हुनेछन् । 

छनोटमा नेपाल समूह 'बी'मा रहेको छ । नेपालको समूहमा उज्वेकिस्तानको पीएफसी नासफ, थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्स र साउदी अरेबियाको अल नासर क्लब रहेका छन् । एपीएफले पहिलो खेल २५ अगस्टमा पीएफसी नासफ, दोस्रो खेल २८ अगस्टमा कलेज अफ एसियन स्कोलर्स र तेस्रो खेल ३१ अगस्टमा अल नासरसँग खेल्नेछ ।

टिप्पणीहरू