विनोद चौधरी सामु कोशीको सरकार पनि लम्पसार

विनोद चौधरी सामु कोशीको सरकार पनि लम्पसार

काँग्रेस माननीयको हैसियतमा रहेका विनोद चौधरीको सिजी उद्योगले वातावरण प्रदुषित तुल्याउँदा पनि स्थानीय र प्रदेश सरकारले मौनता साँधेका छन् । सुनसरीको गढी गाउँपालिकास्थित सिजी फुड्स उद्योगले वर्षौँदेखि प्रदूषण फैलाउँदै आएको स्थानीयवासीको आरोप छ । 

धुवाँ,धुलो र ध्वनी प्रदूषणका कारण जनजीवन प्रभावित भएको जनाउँदै स्थानीय पीडितले पटक–पटक कोशी प्रदेश सरकारसँग गुहार मागेका छन् । तर दुई वर्ष बितिसक्दा पनि सरकारको कुनै ठोस पहल नगरेपछि उनीहरु निराश बनेको बताउँछन् ।

तीन वर्षअघि प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयमा उद्योगविरुद्ध औपचारिक उजुरी परेको थियो । उजुरीबारे अध्ययन र छानबिन गर्न प्रदेश मन्त्री तथा सचिवहरूले अहिलेसम्म वातावरण निरीक्षकलाई अनुगमन दिएका छैनन् । चौधरी ग्रुपको पहुँचका अगाडि निरीह देखिएको मन्त्रालयले  वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत नगराएको स्थानीयको भनाई छ ।

गढी गाउँपालिका–१ को करिब २२ विघा धानखेतीयोग्य जमिनमा आठ वर्षअघि स्थापित चौधरीको ‘सिजी इन्डस्ट्रियल पार्क’ मा वाइवाई चाउचाउ उत्पादन गरिन्छ । प्रदेशको वन तथा वातावरण मन्त्रालयमा छाला, प्लास्टिक,चाउचाउजस्ता उद्योगले वातावरण प्रदूषण गरेको उजुरी परिरहेको छ । तर जनशक्ति अभावको कारण देखाउँदै मन्त्रालयले ठूला र पहुँचवालाको उद्योगमा अनुगमन नगर्ने परिपाटी बनाएको स्थानीयको आरोप छ । पछिल्लो समय मन्त्रालयमा हप्ताको कम्तीमा एउटा उजुरी पर्ने गरेको छ तर अधिकांश मुद्दा फाइलमै थन्काइएको पाइन्छ ।

टिप्पणीहरू